ओई ‘गहते’ !


‘सरी’ भविन्द्र दाइ । समयमा आलेख उपलब्ध गराउन सकिनँ । यो हरफ सुरु गर्न केहीपटक ढाँटेको छु । मैले यो किन भनिरहेको छु भने ‘दिएको जिम्मेवारी तोकिएको समयमा पूरा नगर्नु’ एक किसिमको रोग हो । व्यक्ति–व्यक्तिमा रहेको यही रोग सामाजिक परिवर्तनमा बाधक सावित हुन पुग्छन् । आज गर्नुपर्ने काम भोलि, हप्ता दिनमा गर्नुपर्ने काम दुई हप्तामा, वर्ष दिनमा गर्नुपर्ने काम दुई वर्षमा सर्नु निश्चय पनि सुखद होइन । यही प्रवृत्ति हाम्रो नेतृत्व तहमा लागू हुन पुगे वा हाल कार्यान्वयनमा आएको स्थानीय सरकार प्रमुखमा देखिए कति निराशाजनक अवस्था सिर्जना हुन पुग्छ, सहज अनुमान गर्न सक्छौं ।

म ‘टपिक’ मा बाँधिएको छु । कुनै न कुनै हिसाबले च्यास्मिटारलाई केन्द्रमा राखेर कनीकुथी ‘आर्टिकल’ को स्वरूप कोर्नु छ । हलेसी तुवाचुङ नगरपालिका खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकापछिको दोस्रो ठूलो स्थानीय तह हो । यही हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारसँग सम्बन्धित रहेर लेख तयार गर्नु छ । यद्यपि, यो ‘आर्टिकल’ ‘एकेडेमिक’ होइन र ‘एकेडेमिक फम्र्याट’ मा पनि छैन । मध्यपहाडी लोकमार्गले नछुँदो हो त च्यास्मिटार जिल्लाको कर्णाली नै हो । नजिकै त्रि–धार्मिकस्थल हलेसी हुनु र मध्यपहाडी लोकमार्गसँगको निकटता हुनुले च्यास्मिटार भौतिक हिसाबले केही हदमा अगाडि छ । विकासको परिभाषालाई आत्मसात् गर्ने हो भने त च्यास्मिटारले कुनै पनि मापदण्ड पूरा गर्न सकेको छैन । अनेकन समस्याबीचमा अगाडि बढिरहेको छ– च्यास्मिटार । यावत समस्या, चुनौती र सम्भावनामध्ये कुन विषयलाई प्रधान बनाउने भन्ने अन्योलबीचमा आफ्नो जन्मथलोप्रतिको दायित्वलाई यस लेखमा चर्चा गर्ने जमर्को गरेको छु ।

नगरको उपमेयर बिमला राई च्यास्मिटारबाटै निर्वाचित हुनुभएको हो । नेकपाको नगर कमिटी अध्यक्षमा सुरेन्द्र राई, संगीन राई, काँग्रेसबाट देवेन्द्रकुमार राई, खम्बुवानबाट तुलसी तिलुङलगायतका नेतालाई नेतृत्वका रूपमा पाउनु पनि च्यास्मिटारका लागि एउटा अवसर हो । यत्ति हो, उहाँहरूले आफ्नो गाउँठाउँलाई पार्टीभन्दा माथि सम्झन सक्नुपर्छ ।

एकताका खोटाङका सात/आठजना निजामती कर्मचारी सचिव भएका थिए । उनीहरूले एकैपटकमा सात÷आठवटा मन्त्रालयको सचिवको जिम्मेवारी पाएका थिए । तर, देशको महत्वपूर्ण अंगको नेतृत्व पाए पनि आफ्नो जिल्लाका लागि केही नगरेको ती पूर्वसचिवमाथि आरोप छ । ‘चाहेको भए उनीहरूले आफ्नो जिल्लाका लागि कुनै न कुनै हिसाबले योगदान दिन सक्थे तर जिल्लाका लागि सिन्को भाँचेनन्’ भन्दै आलोचना गरेको अहिले पनि सुनिन्छ । मैले जोड्न खोजेको विषय के हो भने अक्सर हामी पनि आफ्नो गाउँठाउँको परिवर्तनका सवालमा चुकिरहेका छौं । भलै मन्त्रालय हाँक्ने सचिव र हाम्रो ‘स्टाटस’ फरक कुरा हो । म अरूलाई दोष लगाउने पक्षमा छैन, लगाउनु उचित पनि होइन । तर, मेरो सन्दर्भमा कुरा गर्ने हो भने म एक किसिमले च्यास्मिटारप्रति दायित्वच्यूत छु । च्यास्मिटारप्रति गर्नुपर्ने अनेकन दायित्व छन् । ती दायित्वको लेस पनि मैले छोएको छैन । कहिलेकहीं त आफैंलाई धिक्कार पनि लाग्छ ।

दिक्तेल, हलेसी, ओखलढुंगालगायतका सहरमा निर्माण भइरहेका घर, सडक, पर्खाललगायतका भौतिक संरचना निर्माणमा अधिकांश हाम्रै ठाउँका श्रमशक्तिको उपयोग भइरहेको छ । सुता मिलाउँदै पर्खाल हालिरहेका मजदुरलाई सोध्नुस्, उनको घर हुन्छ च्यास्मिटार ! गिटी कुटिरहेका भीडमा सोध्नुस् कोही न कोही च्यास्मिटारकै हुन्छन् । उच्च शिक्षाका लागि एककिसिमले अस्थायी बसाइँ सर्नुपर्ने अवस्था छ । च्यास्मिटारमा माविमा कक्षा १२ उत्तीर्ण गरेपछि धेरैको पढाइ टुंगिन्छ । पिउने पानी अभाव हुँदा धारामा नुहाउनसम्म बन्देज लगाइनुपर्ने अवस्था मानव जीवनका लागि दुःखद पक्ष हो । विद्युत्ले छुन सकेको छैन । उद्योगका नाममा स–साना पसलबाहेक केही सुरु हुन सकेको छैन । पढ्दा–पढ्दै वा लेखपढ गर्नुपर्ने उमेरमा विवाह गरेर घरजम बसाउनेको संख्या उल्लेख्य छ । कहिलेकाहीं १५/१६ वर्षकै उमेरमा आमा बनेका चेलीबेटीका दर्दनाक पीडा सुन्ने गरिन्छ । ठूलो चोटपटक लागे वा गम्भीर प्रकृतिका बिरामी भए उपचारका लागि अहिले पनि काठमाडौंमै निर्भर रहनुपर्ने अवस्था छ । कृषि आधुनिकीकरणको गति कछुवाको जस्तो छ । छोटकरीमा भन्ने हो भने च्यास्मिटारको समस्या यावत छन् ।

साबिकको च्यास्मिटारको ४ नम्बर वडा दाल्फु, जहाँ म जन्मे । हुर्कें । च्यास्मिटारकै पिछडिएको टोल हो– दाल्फु । दाल्फुमा सबैभन्दा ठूलो समस्या आर्थिकको हो । सडकको पहुँच विस्तारअघिसम्म कटारी–सोलुखुम्बुको भारी बोकेर ६ महिनापछि मात्र घर फर्कने प्रचलन थियो । सडक बनेपछि यो पेसा गर्ने स्थानीय सिलोङ जाने वा मजदुरी कामका लागि विभिन्न बजार पुग्ने गरेका छन् । कहिलेकाहीं गाउँ पुगेको बेला गाउँका दाजुभाइ र आफन्तसँग गफगाफ हुन्छ । यो भएन, त्यो भएन भन्छु । बाटो खन्न किन ढिलाइ भो ? भवन बनाउन किन ढिलाइ भो भन्छु । भन्छु, ‘गाउँमै केही गर्नूस् । यही ठाउँमा श्रम र पसिना बगाउनूस् । हामीले आफ्नै गाउँ बनाउने हो ।’

तर, त्यतिबेला मेरो विचार फगत आदर्शमात्र हुन पुग्छ । जतिबेला दाजुभाइले भन्छन्, ‘तिमी पनि गाउँमा बस । गाउँमै केही गरेर देखाऊ । मुखले होइन व्यवहारमा देखाऊ ।’ त्यो बेला म नाजवाफ हुन्छु । उहाँहरूका कुरालाई मनन गर्ने हो भने म पर बसेर गाउँमा बस्नेलाई एककिसिमले दोषमात्र देखाइरहेको हुन्छु । मैले गाउँका लागि के गरें, गाउँले के उपलब्धि पायो ? खै त उपलब्धि ? यसको जवाफ छैन । मैले त जम्माजम्मी अरूलाई दोष देखाउनमात्र जानेको रहेछु । त्यतिबेला आफूलाई नालायक सम्झन्छु । समग्र च्यास्मिटारप्रतिको मेरो भूमिका पनि योभन्दा फरक छैन । यो मानेमा च्यास्मिटारप्रति वा आफ्नो जन्मथलोप्रति गर्नु धेरै छ ।

परिचयक्रममा च्यास्मिटारका मान्छेलाई होच्याउन ‘गहते’ वा ‘उन्यु पनि नहुने ठाउँको मान्छे’ भनेर भन्ने गरिन्छ । स्वयम् मैले पनि यसको सामना गरेको छु ।

भौगोलिक रूपमा अप्ठ्यारोबीचमा पनि च्यास्मिटार क्रमशः परिवर्तनको बाटोमा लम्किरहेको छ । अप्ठ्यारो भए पनि प्रशस्त सम्भावना छन् । आँप, लिचीको बगान बनाएर ट्रकमार्फत निकासी गर्न सकिने उर्वर भूमि छ । हलेसी आउने पर्यटकलाई भुम्जुडाँडासम्म निकाल्न सकिने सम्भावना छ । दूधकोसीको पानी गाउँमा निकाल्ने प्रयास भइरहेको छ । बोझेओढारको ढाँड कुनै न कुनै बेला सिमेन्ट उद्योगका रूपमा स्थापित हुने सम्भावनाको खोजी भइरहेको छ । जार काटेको ऐतिहासिक थलो महत्वपूर्ण भ्रमणथलोका रूपमा विकास गर्न सकिने सम्भावना ओझेलमा छ । भविष्यमा दूधकोसी र सुनकोसीमा र्याफ्टिङ व्यवसाय विकास हुनेछ । जसको प्रतिफल च्यास्मिटारवासीले पनि लिनेछन् ।

यी सपना पूरा गर्नका लागि नीति निर्माता र नेतृत्व तहमा हाम्रो प्रतिनिधित्वको आवश्यकता पर्छ । नगरको उपमेयर बिमला राई च्यास्मिटारबाटै निर्वाचित हुनुभएको हो । नेकपाको नगर कमिटी अध्यक्षमा सुरेन्द्र राई, संगीन राई, काँग्रेसबाट देवेन्द्रकुमार राई, खम्बुवानबाट तुलसी तिलुङलगायतका नेतालाई नेतृत्वका रूपमा पाउनु पनि च्यास्मिटारका लागि एउटा अवसर हो । यत्ति हो, उहाँहरूले आफ्नो गाउँठाउँलाई पार्टीभन्दा माथि सम्झन सक्नुपर्छ । यो उपदेश दिन खोजिएको होइन । उच्च शिक्षा हासिल गरेका भविन्द्रकुमार राई, हिमालसेर राई, दीर्घ राई, शैलेशकिरण चाम्लिङ, नरेन्द्र राईजस्ता जनशक्ति पनि च्यास्मिटारका लागि महत्वपूर्ण ‘व्याकअप’ हो । यत्तिका जनशक्ति एक ठाउँमा बसेर लाग्ने हो भने च्यास्मिटारको मुहारमा केही चमक ल्याउन सम्भव छ ।

परिचयक्रममा च्यास्मिटारका मान्छेलाई होच्याउन ‘गहते’ वा ‘उन्यु पनि नहुने ठाउँको मान्छे’ भनेर भन्ने गरिन्छ । स्वयम् मैले पनि यसको सामना गरेको छु । तर, अन्यत्र नफल्ने गहत हाम्रो ठाउँमा मात्र उत्पादन हुन्छ, जसको बजार मूल्यबारे पोषणसम्बन्धी जानकारलाई थाहै हुनुपर्छ । यस अर्थमा कुनै बेला ‘गहते’ भन्दा रिस उठे पनि अहिले गर्व लाग्छ । अब उन्यू नउम्रने हाम्रो ठाउँमा बिस्तारै नदीको पानी गाउँमा निकालेर उन्यू उमार्नु छ । यसका लागि च्यास्मिटारका जनप्रतिनिधि, नेता, शिक्षित वर्ग, बुद्धिजीवीलगायतले आ–आफ्नो दायित्वबोध गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्