छोरा–बुहारीलाई घर–व्यवहार जिम्मा लगाएर किराती बूढाबूढी केही समयका लागि परदेश लाग्ने निधो गरे । ‘बेलुकीको खाना खाएपछि सुत्नुअघि सबै मालमाता सफा गरेर थन्काउनू,’ सासूले बुहारीलाई सुझाइन्, ‘गाग्रो र अम्खोरा कहिल्यै खाली नराख्नू ।’
बूढाबूढी परदेश लागे । सासूले भनेबमोजिम बुहारीले सप्पै–सप्पै काम गरिन् । दिन बित्यो । हप्ता बित्यो । र, महिना पनि बित्यो । किरात बूढाबूढी घर फर्केका थिएनन् । सासूले भनेबमोजिम गाग्रो र अम्खोराभरि पानी भरेरमात्रै बुहारी सुत्थी । बिहान उठेर धन्दा गर्ने बेला गाग्रो, अम्खोराका पानी आधा–आधामात्रै हुन्थ्यो ।
सुरु–सुरुमा त गाग्रो र अम्खोरा रसाएर पानी घट्यो होला भनेर बुहारीले उति वास्ता गरिनँ । तर, लगातार त्यस्तो हुन थालेपछि उनी तीनछक परिन् । एकरात गाग्रो र अम्खोरा खाली राखिन् । सदाझैं बेलुकीको खाना खाइसकेपछि कामधन्दा सकेर सुतिन् । मध्यराततिर गाग्रो र अम्खोरा कसैले चलाएको आवाज सुनियो । डराउँदै–डराउँदै बुहारीले उज्यालो बालेर गग्रेटोतिर हेरिन् । तर, केही देखिनँ । त्यसपछि आवाज आएन । बुहारी पुनः सुतिन् । बुहारीले यो घटना श्रीमान्लाई समेत सुनाइन् ।
परदेश गएका सासूससुरा घर आइपुगे । सासूससुरा घर आइपुगेको रात बुहारीले कामधन्दा सकिन् । त्यसपछि गाग्रो र अम्खोरामा पानी भरिन् । बिहान उठेर घरधन्दा गर्दा गाग्रो र अम्खोराको पानी बेलुका जति राखेको त्यत्ति नै पाइन् । बुहारीले गाग्रो र अम्खोराभरि पानी राखे पनि सधैं आधामात्रै बाँकी रहेको सासूलाई सुनाइन् । बुहारीको कुरा सुनेपछि सासूले भनिन्, ‘हेर बाबै ! हामी मान्छे घर छाडेर जहाँ पुगे पनि राति हाम्रो आत्मा घुम्दै–घुम्दै घरमै आइपुग्छ । परदेशमा रहँदा कस्तो–कस्तो ठाउँमा पुगिन्छ । त्यतिबेला परदेशीको तिर्खाएको आत्माले पानी खोज्ने भएकाले गाग्रो र अम्खोरा खाली नराख्नू भनेकी हुँ ।’
त्यही समयदेखि किराती समाजमा गाग्रो र अम्खोरा कहिल्यै खाली राख्न नहुने चलन चलेको हो । परदेश गएकाको आत्मा राति–राति आफ्नै घरमा आइपुगेको हुन्छ । परदेश पुगेका आत्माले पानी खान खोज्ने किराती बयोवृद्ध बताउँछन् ।