सधैं त्यही काम ।
पुर्ख्यौली कामले हैरान ।
आरानको काम कति गर्नु भनेर विकल्प खोज्न थाले ।
अन्ततः कोइलाखाद जाने योजना बन्यो ।
साबिक दुर्छिम गाउँ विकास समिति–७, राबुका परशुराम राईसँग भारतको कोइलाखाद हिँडे ।
जेठो छोरो हुर्के पनि अन्य छोराछोरी स–साना थिए । उनी घरसल्लाहविना परदेश लागे । चार वर्ष कोइलाखाद रहँदा एकपटक घर फर्केनन् । न टेलिफोन गरे, न त चिट्ठीपत्र लेखे । गाउँमा टेलिफोन सुविधा नभए पनि चिट्ठीपत्र लेख्न सक्थे । आफैंले लेख्न नजाने जानेकासँग गुहार माग्न सक्थे । त्यसो पनि गरेनन् । आफू कोइलाखादमा रहेको घरपरिवारलाई जानकारीसम्म गराए ।
चार वर्ष कोइलाखाद रहँदा उनी अर्थात् रखबहादुर विश्वकर्माले कोइला काटे । गैंती, छिना र मार्तलको सहारामा कोइला काट्नुपर्थ्यो । कोइला काट्न त्यति सजिलो थिएन । ‘घरको धुरी शैलीमा कोइला काट्दै लैजानुपथ्र्यो,’ विश्वकर्माले अतीत सम्झे, ‘नत्र भत्केर आफैंलाई किच्थ्यो ।’
दैनिक बिहान ३ बजे कोइलाखानी छिरिसक्थे । ११ बजे खाना खान निस्कन्थे । कतिपयले खाना खाएपछि मादक पदार्थ खान्थे । मादक पदार्थ खाने काममा जाँदैनथे । कहिलेकाहीं उनी पनि त्यसै गर्थे । मादक पदार्थको मात लागेपछि सारा दुःख बिर्सनुको मज्जा उनैलाई थाहा छ ।
दुई दिनमा तीन बाकससम्म कोइला काटेका उनले दैनिक कम्तीमा एक बाकस कोइला काट्थे ।
एक बाकसमा कति कोइला हुन्छ ?
उनले भने, ‘एक बाकस कोइलाले नौ गाडी भरिन्थ्यो ।’
त्यतिबेला एक बाकस कोइलाको मूल्य पाँच सय भारतीय रुपैयाँ तोकिएको थियो ।
‘माथि ढुंगा,’ उनले थपे, ‘बीचमा कोइला र तल पनि ढुंगा हुन्थ्यो ।’ माथि र तलका ढुंगा पन्छाएर कोइला संकलन गर्दाको दुःख खनिखोस्री साध्य छैन । प्रायः सुतेर कोइला काट्नुपर्छ । कोइला काट्दा निस्केको ढुंगा पन्छाउँदै एकापट्टि राख्नुपथ्र्यो । उनले कोइलाखादको विभिन्न ठाउँमा कोइला काटेका थिए । बर्खामा कोइला काट्न गाह्रो हुन्छ । कोइला काटिरहेको ठाउँमा बर्खाको छड्के पानी पस्दा काम गर्न अप्ठ्यारो हुन्थ्यो । कोइला काटिरहेको ठाउँमा पानी पसे पानी तान्ने मेसिनले तानेर फाल्नुपर्थ्यो । बस्ने ठाउँ चित्राले बारेको थियो । छड्के पानी पर्दा बस्ने ठाउँसमेत पानी–पानी हुन्थ्यो ।
‘खनजोत गर्नुभन्दा कोइला काट्न गाह्रो काम हो । खनजोत गर्दा घाम देख्न पाइन्छ । हावा खान पाइन्छ,’ उनको बुझाइ छ, ‘कोइला काट्दा घाम देख्न पाइँदैन । ग्यास छ भने सास फेर्न गाह्रो हुन्छ । ग्यास छ कि छैन भनेर पहिल्यै पहिचान गर्नुपर्छ । कोइला काट्दा १५ मिटर जमिनमुनि झरेर एक किलोमिटर दूरीसम्म ओहोरदोहोर गर्नुपर्थ्यो ।’
आरानको कामभन्दा कोइला काट्न दुःख हुन्थ्यो । ‘दुःखले सुख,’ उनले नेपाली उखान सुनाए, ‘सुखले काल ।’ हुन पनि हो, कतिपयले कोइला काट्दाकाट्दै कोइलाखानीभित्रै ज्यान गुमाएका थिए । कोइला काट्न सँगै पसेका साथी फर्कने हो कि होइन, निश्चित हुँदैनथ्यो ।
नातिनातिनीको मुख देखिसकेका विश्वकर्माले कोइलाखादमा कोइलामात्रै काटेनन् । सुँगुर पाले । चामल र रक्सी बेच्थे । आफैंले जाँड पकाउँथे । दुःख गरेर कमाए पनि बचत गर्न सकेनन् । जानेनन् । उनी हाँसे, ‘चार वर्ष बितेको पत्तै भएन ।’
चार–चार वर्ष परदेश लागेका श्रीमान्ले घरपरिवारको वास्ता नगरेपछि श्रीमतीले चिट्ठी पठाइन् । चिट्ठी हात लाग्यो । चिट्ठी पढेपछि झस्किए । वास्तविक घरसंसार सम्झे । घर फर्कन त्यति सजिलो थिएन । तर पनि फर्कने निधो गरे । घर फर्कने महिना १४ हजार भारु परिश्रमिक थापे । घर फर्कंदै गर्दा सँगै सुतेका साथीले सात हजार रुपैयाँ चोरे । उनी मातेको मौका पारेर साथीले सात हजार हत्याए । सँगै सुतेका साथीलाई सोध्दा थाहा भएन भने । ‘बाँकी रहेको सात हजारमध्ये पाँच हजारको लुगाफाटो र चार थान कम्बर किनें,’ उनको भनाइ थियो, ‘त्यही पैसाले बाटो खर्च पुर्याएँ । केटाकेटीलाई चक्लेट किनिदिएँ ।’
उदयपुरको कटारी आइपुग्दा उनलाई स्वर्ग पुगेजस्तो लाग्यो । त्यतिबेला कटारीबाट पैदले हिँडेरै घर पुग्नुपथ्र्यो । उनलाई घर पुगेर सुख–दुःख बाँड्ने हतारो छँदै थियो । बुवाको श्राद्ध गर्न भ्याउनेगरी फर्केका उनी भनेको समय घर आइपुगेनन् । श्राद्ध गर्न नभ्याए पनि चार वर्षमा घर फर्के । यो १८ वर्षअघिको कुरा हो ।
रखे कामी घर फर्के भनेर गाउँभरि हल्लाखल्ला भयो । चार वर्षपछि घर फर्कंका उनलाई हेर्न टोलभरिका जम्मा भए । जीवितै रहेछन् भनेर गाउँलेले खुसी व्यक्त गरे । एकछिनपछि सबै आ–आफ्नो बाटो लागे । ‘घर आइपुग्दा भारु १० बाँकी रहेछ,’ उनले वास्तविकता बताए, ‘पैसा नभए पनि रक्सीको तलतल लाग्यो । सापटी मागेर दुई बोतल किनेर रक्सी खाइदिएँ ।’
घरबाट भागेर हिँडेका उनी कोइलाखादबाट पनि भागेरै घर फर्के । घरमा छोरो हरि विश्वकर्माले बिहे गरिसकेका थिए । बुवा (रखबहादुर विश्वकर्मा) ले कोइलाखादमा अर्को बिहे गरे । ‘कोइलाखाद पुगेको डेढ वर्षपछि बिहे गरें,’ उनले नढाँटी भने, ‘घर फर्कंदा छोरी महिना दिनकी थिई । त्यसो भएपछि स्वास्नीले घर (नेपाल) फर्कन दिने कुरै भएन । भाग्नुको विकल्प थिएन । भागेर घर फर्कें ।’
भागेर घर फर्के पनि उताकी छोरीको सम्झनाले सताउँछ । सम्झना भन्ने घाउ कस्तो दुख्दोरहेछ । सहन सके पनि मलहमपट्टी गरेर निको पार्न नसकिँदोरहेछ । जुन बाँचुन्जेल दुखिरहनेछ । उनी सकारात्मक देखिए, ‘दुखे पनि एकखालको आनन्द लाग्दोरहेछ । दुखाइले अतीत त सम्झाउँछ ।’
(तुवाचुङ साप्ताहिक वर्ष–१, अंक–१०, २०७५ असोज १२ गते शुक्रबारबाट)