मगरको परम्परागत शासन तथा सञ्चार प्रणाली



आदिवासी जनजातिमध्ये धेरै जनसंख्या मगर समुदायको छ । यो समुदायभित्र विविधता छ । ठूलो भूगोल ओगटेको समुदायमा भाषिक, सांस्कृतिक, भौगोलिक, प्रथालगायत हरेक दृष्टिले विविधता पाइन्छ । मगर जातिको उद्गम थलो रुकुमको मैकोटमा रहेको योमाखार तथा पेल्माखार ओढार भएको मानिन्छ ।

गण्डकी नदीकिनारस्थित रिडीदेखि पश्चिम १८ र पूर्व १२ वटा प्राचीन मगर राज्य थिए । ती राज्यमा बस्ने मगरलाई १८ मगरात र १२ राज्यमा बसोबास गर्नेलाई १२ मगरात भन्न थालियो । १२ मगरात क्षेत्रका मगर बढी सम्पर्कमा आउनाले आदिवासी जनजातिले १२ मगरात क्षेत्रलाई बढी बुझ्छन् । १२ मगरातमा प्रथाजन्य प्रणाली एकदमै कम छ । उनीहरूमा स्थायी प्रथाजनित संस्था छैन ।

१२ मगरातको ‘भेजा’ भन्ने संस्था होइन । यो प्रक्रिया वा काममात्र हो । यो सभा, बैठक वा भेला अथवा विविध गतिविधि गर्ने प्रक्रिया हो । १८ मगरातमा यस्स्तो भेला, सभा, बैठकलाई पञ्चकचहरी भनिन्छ । मानिस भेला हुने, छलफल गर्ने, कचहरी गर्ने ठाउँलाई खलाङ्गा (तोकिएको वा निश्चित गरिएको ठाउँ) भनिन्छ । सोही शब्द हिजोआज खलङ्गा भनेर प्रचलनमा छ । हालसम्म पनि पश्चिम क्षेत्रका केही जिल्लामा खलङ्गा बजार तथा ठाउँ रहेका छन् । उक्त नामको इतिहास यही मगरको परम्परागत रूपमा भेला हुने ठाउँबाट राखिएको हो ।

पञ्च अर्थात् पाँचजनाको कचहरी

विभिन्न कालखण्डमा मगर राज्यमाथि दमन गरिएको इतिहास सर्वविदितै छ । मगरको पञ्चकचहरीप्रथालाई (२०१७ देखि २०४७) को ३० वर्षे पञ्चायतीकालमा अपनाएको र त्यसबेलाको पञ्चको मुखियालाई पञ्चायती व्यवस्थामा प्रधानपञ्चका रूपमा स्थापित गरियो ।

१८ मगरातका मगरको परम्परागत शासनलाई पञ्चतालुक/पञ्चअमाल वा तालुक/अमाल भनिन्छ । जसलाई ‘पञ्च’ भनिन्थ्यो । पञ्च भनेको पाँचजनाको शासन समूह हो । यो प्रणालीमा मुखिया, जिमुवाल (जिम्मावाल), गौरा, तहबिल र घाबुधा पाँचजनाको पदीय जिम्मेवारी बोकेका व्यक्ति र यसका अलावा पञ्चले गरेको निर्णय कार्यान्वयन गर्न र गराउन थप पद, बहिदार र कोइवाले (कटुवाल) को समेत व्यवस्था गरिएका हुन्छन् ।

मुखिया भनेको मौजा अर्थात् क्षेत्र वा समूहप्रमुख हो । मुखियाले कुनै विषय वा मुद्दामा छलफल चलाउँदा अन्तिम निर्णय गर्छ । जिमुवाल (अर्थमन्त्री)ले सेरमा (जग्गाको कर) र खेतको कुत उठाउने काम गर्छ । गौरा (कोषाध्यक्ष)ले कोषको व्यवस्थापन गर्छ । तहबिलले जनसम्पर्कको काम र रैतीबीच वादविवाद परेमा ओसारा (एकान्तमा लगेर कुरा खोल्ने अनि चारबारे कचहरीमा जोराना (आमने–सामने) गराएर विवाद टुंगो लगाउने जिम्मा लिन्छन् । यसरी घाबुधा पञ्चसमूहको सल्लाहकार हो । जसले तालुक/अमालमा विशेष काम पर्दा सल्लाह दिन्छ ।

पञ्चकचहरीमा पाँचजनामात्र बस्दैनन् । कचहरीमा छलफल हुने विषयवस्तु वा मुद्दामा सरोकार राख्ने अन्य सबै सदस्य जम्मा हुन्छन् र छलफल गर्छन् । अनि छलफलपछि वैदारले गजपत्र (अहिलेको तमसुकजस्तो)मा मिलापत्र लेख्छ । यो लेख्य परम्परा आएपछिको कुरा हो । गौराज्य (मौजाभित्र)को बैठकमा मान्छे धेरै आउँछन् । सबैको ल्याप्चे कागजपत्रमा नअट्ने भए आवश्यकताअनुसार भात पकाएर, भातले गाँस्दै लामो कागजमा लेखी बेरेर राख्छन् । हाम्रो बा, बाजेहरू हाम्रो मौजाको मुखिया भएकाले हाम्रो घरमा त्यस्ता गजपत्र अझै छँदै छन् ।

पञ्चकचहरीले गइरो अर्थात् गौराज्यका जनताले दिएको समादेशअनुसार, न्याय–निसाफदेखि गाउँका लागि चाहिने सम्पूर्ण विकास, निर्माण, सुरक्षा आदिबारे निर्णय गर्ने र न्यायिक, सामाजिक सुधार, सुरक्षा, विकासलगगायत काम गर्छन् । गौराज्यका जनताबाट उठाएको करबाट पञ्चकचहरीको निर्णयअनुसार विभिन्न पदधारण गर्ने व्यक्तिले खर्च गर्छन् ।

मुखियाको पद उसको मृत्युपछि, जेठो छोरामा सर्ने चलन छ । मुखिया मर्दा छोरा नाबालक भए पद श्रीमतीमा सारिन्छ । त्यसैले मगरको शासन राजतन्त्रात्मक शासन थियो । र, छ । यदि छोरा नालायक छ भने र मुखियाको नैतिक पतन भयो भने पञ्चकचहरी बसेर उपयुक्त मान्छेलाई मुखियाको पद सारिदिन्छन् ।

हाम्रो परम्परामा कोइवाले (कटुवाल)ले बाकोई अर्थात् भाले बास्ने समयमा अग्लो ठाउँबाट दमाहा÷नङरा (दमाहा र नेगराजस्तो बाजा) र झ्याली र खुत्याने (दमाहाको ताल) अर्थात् दमाहा शुभो र अशुभो (शुभ र अशुभ) तालमा बजाएर, विभिन्न आवाजमा कराउँदै जनतालाई सूचना दिने गर्थे । मान्छे मरेको छ भने अशुभो तालमा, कसैको विवाह, श्रमदान आदि गर्न मान्छे भेला गर्नुपर्यो भने शुभो तालमा बाजा बजाएर सूचना जारी गरिन्थ्यो । दुई÷तीन दिन पहिलेदेखि दमाहा, नङरा बजाएर चारैतिरका मानिसलाई सूचना दिइन्थ्यो ।

‘बिहानै भाले बास्ने समयमा कटुवालले दमाहा बजाएर, आज यतिबेला छकाल, दिउँसो दोपल, गाई फुकाउने बेला, भात खाने बेला, फलना ठाउँमा भेला हुनुपर्यो । डोङ….. डोङ…..डोङ….. ।’ ‘आज, फलाना ठाउँको जंगलका लागि, कुलोका लागि कचहरी बस्ने भयो हो । आज यो ठाउँको वनवारी हो । यो ठाउँको भीर फुकियो । घाँस फुकियो हो । डोङ….. डोङ…..डोङ…..’ गरी दमाहा बज्यो भने मान्छे ढोका वा झ्यालनेर वा बाहिर निस्किएर कान थापेर दमाहा बजेको ताल सुन्छन् । र, तोकिएको ठाउँमा भनेको समयमा पुग्छन् । यसतो प्रथा मलाई सम्झना भएसम्म ०३५/३६ सालसम्म चलेको थियो ।

हाम्रो परम्परामा लडाइँको ठूलो महत्व छ । लडाइँसम्बन्धी खबर एकजनालाई सुटुक्क पठाइन्छ । त्यो गाउँको मुखियाले कसैलाई, ‘ल तिमी यो फलाना ठाउँमा जाऊ र त्यहाँबाट यतिजना तन्नेरीहरू घँगारुको लठ्ठी तेलमा भिजाएर एक÷एक रुपैयाँ हिरनसहित लिएर आउँनू’ भनेर आदेश दिइन्थ्यो । हिरन भनेको मरेको मान्छेको निधारमा राखिने पैसा हो । त्यो गाउँको मुखियाले भन्यो भने सबैले मान्नैपर्छ । तोकिएको ठाउँमा भेला भएर लडाइँ गर्ने चलन थियो । यो युद्धकला त माओवादीले समेत माओवादी जनयुद्ध (द्वन्द्व)मा धेरै प्रयोग गरे ।

कुनै मान्छेलाई समाचार पठाउनुलाई मगर समुदायमा शनेशा अर्थात् नेपालीमा सन्देश पठाउने भनिन्छ । सनेशा पठाउँदा सांकेतिक वाक्य प्रयोग गरिन्छ । त्यसमा ‘यो कुरा त्यहाँ पुर्याएर आ । त्यहाँ खाएर यहाँ हात धुन आ’ भनियो भने त्यो एकदमै महत्वपूर्ण रहेछ भन्ने बुझिन्छ । हिजोआज पनि यसैगरी मुखियाको आदेशअनुसार कोइवाले घर–घरमा गएर सन्देश छोड्ने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्