त्यसपछि राष्ट्रपति रुज्बेल्ट परमाणु बम बनाउन सहमत



एनरिको फर्मीलाई नाभिकीय क्रियाको खोजकर्ता तथा जन्मदाता भन्ने गरिन्छ । वास्तवमा उनी परमाणु ऊर्जाको जन्मदाता हुन् किनभने उनले नै सबैभन्दा पहिले नाभिकीय शृंखला प्रक्रियाको आविष्कार गरेका थिए ।  यी महान् वैज्ञानिकको जन्म रोममा भएको थियो । उनी सानैदेखि प्रतिभाशाली थिए । उनले २१ वर्षको उमेरमा पिसा विश्वविद्यालयबाट भौतिकविज्ञानमा एक्स किरणको क्षेत्रमा डक्टरेट उपाधि प्राप्त गरेका थिए । सन् १८२७ मा उनी रोम विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापकका रूपमा नियुक्त भए । उनी कति योग्य व्यक्ति थिए भने सन् १९२९ मा उनलाई इटली एकेडेमीको सदस्य चुनियो । यो इटलीको महान् सम्मान हो ।

दस वर्षको अथक परिश्रमबाट उनले सन् १९३४ मा एउटा मूलभूत खोज गरे । उनले जब तत्वमा सरल गतिको न्युट्रोनलाई समावेश गरिन्छ, त्यसबेला पदार्थ रेडियोधर्मी हुन जान्छ, यसबाट विकीरण हुन्छ भन्ने तथ्य पत्ता लगाए । यस प्रक्रियामा एउटा तत्व अर्को तत्वमा परिवर्तन हुने गर्छ । सन् १९३३ मा उनले न्युट्रोन नामक मूल पदार्थको परिकल्पना गरेका थिए । न्युट्रोनद्वारा समायोजन गरेर फर्मीले ८० वटा नाभिक निर्माण गरे ।

त्यसबेला इटलीको परिस्थिति एकदमै खराब थियो । देशको शासक तानाशाह मुसोलिन थिए । यसको फर्मीमा सोझो असर पर्न गयो, जसकारण उनकी पत्नी यहुदी हुनु नै थियो । फर्मीका निम्ति शौभाग्यको कुरा के भयो भने ती दिनमा उनलाई अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा अतिथिका निम्ति आमन्त्रण गरिएको थियो । फर्मी आफ्नो परिवारसाथ अमेरिका गए र उनी इटली कहिल्यै फर्किएनन् ।
सन् १९३८ मा उनले भौतिकशास्त्रमा नोबेल पुरस्कार प्राप्त गरे । सन् १९३९ मा उनी कोलम्बियामा प्रोफेसर बने । सन् १९४४ मा उनले अमेरिकाको नागरिकता प्राप्त गरे ।

फर्मीको जीवनमा एउटा घटना धेरै महत्वपूर्ण रह्यो । एकपटकको कुरा हो, फर्मी आफ्नो प्रयोगशालाको एक कोठाबाट अर्को कोठामा कुनै यन्त्र लगेर प्रयोग गर्न लागिरहेका थिए । त्यसबेला नै कुनै अपरिचित व्यक्ति उनलाई भेट्न आयो । यद्यपि, उसले प्रोफेसर फर्मीलाई चिनेको थिएन । उसले सोध्यो, ‘म प्रोफेसर फर्मीसँग भेट गर्न चाहन्छु । के तपाईं भन्न सक्नुहुन्छ, उनी कहाँ छन् ?’

प्रोफेसर फर्मीको मस्तिष्क आफ्नो प्रयोगतर्फ लागिरहेको थियो । उनले त्यस व्यक्तिलाई भने, ‘तपाईं केही समय मेरो कोठामा बस्नुहोस् । म तपाईंलाई प्रोफेसर फर्मीसँग भेट गराउँछु ।’ यति भनेर उनी अर्को कोठामा प्रयोगका निम्ति गए । आफ्नो प्रयोग सुरु गरेपछि उनी फेरि पहिलेको कोठामा आए । उनलाई भने, ‘म नै फर्मी हुँ ।’  ती व्यक्ति विज्ञानमा उनको एकाग्रता देखेर आश्चर्यचकित हुन पुगे । यस घटनाले देखाउँछ– आफ्नो प्रयोगात्मक कार्यमा फर्मी सम्पूर्ण मन, वचन र हृदयदेखि नै निरन्तर लागिरहन्थे ।

कोेलम्बिया विश्वविद्यालयमा उनले नियन्त्रित नाभिकीय शृंखला प्रक्रियामा, न्युट्रोनद्वारा युरोनियमको नाभिक शृंखला प्रक्रियाको खोज सुरु गरे । उनी न्युट्रोनद्वारा युरोनियमको नाभिक तोड्न सफल भए । कैयौँ वर्षको महान् परिश्रमपछि सन् १९४२ मा उनको निर्देशनमा सिकागोमा पहिलो भट्टी बनाइयो । यस भट्टीमा परमाणु विखण्डनद्वारा ऊर्जा उत्पन्न गरियो । यसले विश्वमा तहल्का मच्चायो । मानिसले भने, ‘इटलीको यो नाभिक आफ्नो आविष्कारद्वारा नयाँ संसारमा पुगिसकेको छ ।’

त्यो समयमा ओटोहान तथा फ्रिज स्ट्रास मैनले यो तथ्यलाई प्रमाणित गरे, फर्मी युरोनियमका नाभिकलाई न्युट्रोनको प्रयोगद्वारा स–साना परमाणु तोड्ने प्रयास गरिरहेका छन् । फर्मीको समूहमा काम गर्ने वैज्ञानिकले आइस्टाइनले पनि यस कुरामा जोड दिए । उनले भने, ‘राष्ट्रपति रुजबेल्टलाई पत्र लेख्नुपर्छ र के भन्नुपर्छ भने नाभिकीय विखण्डनद्वारा एक शक्तिशाली बम निर्माण हुन्छ । साथै यो पनि भन्नुपर्छ कि जर्मनीका वैज्ञानिकहरू यसप्रकारको बम विकासका लागि लागिरहेका छन् ।

राष्ट्रपति रुज्बेल्ट पनि परमाणु बम बनाउने कुरामा सहमत भए । उनले यस कार्यका निम्ति आर्थिक व्यवस्थापन गरे । गुप्त रूपमा फर्मी र उनका सहयोगीले परमाणु बम विकसित गर्ने कार्य गर्न थाले । यस कार्यनिम्ति मेनहेरन प्रोजेक्ट पूरा गरियो । यसपछि फर्मी परमाणु बम निर्माण गर्नका निम्ति लासअलाभोस गएका थिए ।

१६ जुलाई १९४५ मा परमाणु बमको सफल परीक्षण सम्पन्न भयो । दोस्रो विश्वयुद्धमा यी बमहरू जापानको हिरोसिमा र नागासाकीमा खसालियो । जापानका दुई सहरमा लाखौँको धनजनको क्षति भयो । लाखौँ मानिसको मृत्यु भयो, कैयौँ अन्धा, अपांग भए । विज्ञानको दुरुपयोग भयो भने यसले विनाश पनि गर्छ भन्ने भयानक उदाहरण यी दुई परमाणु बम विस्फोटले विश्वलाई सिकाएका छन् ।

दोस्रो विश्वयुद्धपछि फर्मी सिकागो विश्वविद्यालय आए । उनी नाभिकीय भौतिकशास्त्रको अध्ययन गर्न थाले । फर्मीको नामसँग जोडिएको भौतिकशास्त्र अध्ययनका निम्ति एक संस्था स्थापना गरियो, जो आज पनि अनेकौँ क्षेत्रमा अनुसन्धान कार्यमा संलग्न छ । फर्मी आफ्नो समयका एक परिचित अध्यापक एवम् अन्वेषक थिए । उनले भौतिकशास्त्रका कैयौँ पुस्तकसमेत लेखेका छन् ।

फर्मीको वैज्ञानिक उपलब्धि यति धेरै थियो कि उनले १९ मार्च १९४६ मा ‘मेडल अफ मेरिट अफ द कंग्रेस अफ युनाइटेड स्टेट्स’ प्राप्त गरेका थिए । उनी चर्चाको उच्चतम शिखरमा पुगेका बेला उनको निधन भयो । मृत्युपछि उनको सम्मानमा एक तत्वको नाम फर्मियस राखिएको थियो । साथै, उनकै सम्मानमा फर्मी पुरस्कार पनि स्थापना गरिएको थियो, जसले सालिन्दा विज्ञानको क्षेत्रमा असाधारण कार्यका निम्ति अमेरिकी वैज्ञानिकलाई पुरस्कार दिने गर्छन् ।

आज विश्वका अनेकौँ देशमा नाभिकीय भट्टी छन्, जुन समस्थानिक बनाउने र विद्युत् उत्पादनका निम्ति प्रयोग गरिन्छ । यी सबै नाभिकीय भट्टीका रूपमा केही परिवर्तन भएको छ । तर, मूल सिद्धान्त अहिले पनि फर्मीकै सिद्धान्तमा आधारित छ ।

प्रतिक्रिया दिनुहोस्