‘काँग्रेस, कम्युनिस्टका मेयरको उम्मेदवारका भोट काट्न उम्मेदवारी दिएको होइन’



गणेशटार (दुर्छिम) । समाजवादी विद्यार्थी युनियन १ नम्बर प्रदेश समिति अध्यक्ष अन्जिलहाङ राईले काँग्रेस र कम्युनिस्टको मेयरका उम्मेदवारको भोट काटेर उनीहरूलाई कमजोर बनाउनमात्रै आफूले मेयरमा उम्मेदवारी नदिएको दाबी गरेका छन् ।

जनता समाजवादी पार्टी नेपालतर्फ हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका नेता राई जनताका जनादेशले आफू निर्वाचित भइसकेको जिकिर गरेका छन् । उनले भने, ‘मताधिकार भनेको त प्राविधिक कुरा न हो ।

‘चुनावी अभियानमा ठूला दलसम्बद्ध नेताले समृद्ध नगरपालिका बनाउँछौं भन्दै ढोलझ्याम्टा बजाए । आश्वासनका पोको बाँडे,’ उनले आरोप लगाए, ‘तर, स्थानीय सत्तामा पुगेपछि भनेजस्तो, बोलेजस्तो काम गरेनन् । बोलेको बिर्से । भनेको पनि बिर्से ।’

जसपा नेपाल सघीय, धर्मनिरपेक्ष, गणतन्त्रको हिमायती हो । ‘जसको नीति प्रस्ट छ, उसैले स्थानीय तहमा पनि नेतृत्व गर्यो भने साँचो अर्थमा नगरलाई समृद्ध बनाउन सकिन्छ,’ उनले थपे, ‘त्यसो भएमा समृद्ध नगर बनाउन सकिन्छ । त्यसका लागि मसँग योजनाबद्ध योजना छ ।’

विद्यार्थी राजनीतिमा क्रियाशील हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम गणेशटार खोटाङनिवासी नेता राईले पार्टीको मत जगेर्ना गर्नमात्रै उम्मेदवारी नदिएकोसमेत जिकिर गरेका छन् । ‘मेरो उम्मेदवारीले राजनीतिमा युवा पुस्ताको प्रतिनिधित्व आवश्यक रहेको बुझाउँछ,’ उनले प्रस्ट्याए, ‘मेरो उम्मेदवारीले नेपाली राजनीतिमा युवा पुस्ताको अपरिहार्यबारे बेलैमा सोच्नैपर्ने बनाएको छ ।’

खोटाङनिवासी उनले उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पसबाट राजनीतिक यात्रा थालेका हुन् । उच्चशिक्षा अध्ययनका लागि उदयपुर पुगेका उनले त्रियुगा जनता बहुमुखी क्याम्पस नेविसंघ इकाइ सभापतिको जिम्मेवारी पाए । यो संवत् २०६३ को कुरा हो ।

नेविसंघ उदयपुर जिल्ला कार्यसमिति पूर्वसदस्यसमेत रहेका उनले विद्यार्थी राजनीति थालेको ६ वर्षमै नेविसंघ छाडे । ०६९ मा संघीय समाजवादी पार्टी स्थापना भयो । एमाले पूर्वउपाध्यक्ष अशोक राईले स्थापना गरेको संघीय समाजवादी पार्टी प्रवेश गरेका उनले सोही पार्टीको अग्रगामी विद्यार्थी युनियन जिल्ला कमिटी उदयपुरको दुई कार्यकाल अध्यक्षको भूमिका निर्वाह गरे ।

किरात राई विद्यार्थी संघमा समेत उनले आफ्नो अर्थपूर्ण भूमिका देखाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्