‘बाख्रा पाल्छु, राम्रै छ बजार
दुईटा बोका बेच्यो कि ३० हजार
चिन्ता छैन केही
मलाई कोरिया नि यहीं, मलाई हङकङ पनि यहीं, मलाई अस्ट्रेलिया नि यहीं ।’
गायक पशुपति शर्माको उल्लिखित गीतले भनेझैं निस्दी गाउँपालिका–५ बहपुर बस्ने खुमीसरा रानाले एउटै खसी ३७ हजारमा बिक्री गरिन् । रानाले पालेको खसी यति धेरै मूल्यमा बिक्री गर्न पाउँदा उनी दंग छिन् ।
दुई चार पैसाका लागि सधैं श्रीमान्को भर पर्न बाध्य उनी हिजोआज आफैंले पालनपोषण गरेको एउटै खसीबाट ३० हजार नगद हात पारेपछि उनको खुसीका आँसु झरेका छन् । उनको घरमा अहिले ६ वटा माउसहित २१ बाख्रा छन् । अघिल्ला वर्षमा बाख्रा बिक्री गरेर दुई लाखभन्दा बढी आम्दानी गरेकी उनले दुई माउ बाख्राबाट व्यवसाय थालेकी हुन् ।
‘बाख्रा पाल्न थालेपछि हातमा पैसा छैन खाली । एउटै खसीलाई ३० हजारभन्दा बढी पर्छ,’ उनले भनिन्, ‘यो व्यवसायबाट म र मेरो परिवार सन्तुष्ट छौं । पाँचजनाको परिवारको लालनपालन राम्रोसँग चलेको छ ।’ खोर व्यवस्थापन र घाँसपातको सुविधा राम्रो भएपछि उनलाई व्यवसायमा थप ऊर्जा मिलेको छ ।
यसैगरी, उर्मिला सुनारीले गत साउनदेखि हालसम्म १८ वटा खसी–बाख्रामात्रै बिक्री गरिसकेकी छन् । खसी–बाख्रा बेचेर तीन लाख आम्दानी गर्दा उनलाई व्यवसायमा थप उत्साह मिलेको छ । सुनारीले घरमा पालेको खसी बढीमा ४५ किलोसम्म बिक्री गर्न सफल भएको छ । उनको घरमा सात माउ बाख्रासहित २५ खरी जातका बाख्रा छन् । गत आर्थिक वर्षमा साढे दुई लाखबराबरको खसी बिक्री गरेकी उनले यस वर्ष गत वर्षको तुलनामा दोब्बर कमाइ गर्ने लक्ष्यसाथ व्यवसायमा लागेकी छन् । सुन्तला खेतीमा संलग्न उनको परिवार अहिले बाख्रापालनमा मात्रै आश्रित बनेको छ । भन्छिन्, ‘बाख्रामा खासै लगानी गरिएको छैन । तर, आम्दानी भने नसोचेको भएको छ । पहिला खाली जग्गामा सुन्तला खेती गरेका थियौं । त्यसबाट पनि आम्दानी राम्रै थियो । सुन्तलाको तुलनामा बाख्राबाट अझ बढी आम्दानी हुन थालेपछि अहिले बाख्रापालनलाई मुख्य आयस्रोत बनाएर श्रीमान्–श्रीमती नै यस व्यवसायमा आबद्ध छौं ।’
संवत् २०७१ मा हेफर इन्टरनेसनल नेपालले गाउँका महिलालाई बाख्रापालनमा लगानी गरिदिएपछि महिला बाख्रापालनमा लागेका हुन् । व्यवसायउन्मुख हुँदै गरेका महिलालाई थप प्रोत्साहन गर्न ०७३ मा गल्धा सामाजिक महिला सहकारी गठन भएपछि गाउँभरि बाख्रापालन गर्ने महिलाको लहर छायो ।
सहकारीले ग्रामीण भेगका महिलालाई समेट्दै २८ उपसमूह बनाएर व्यवसायमा सहयोग गरिरहेको छ । संस्थाले वार्षिक दुई करोड ५१ लाखबराबरको कारोबार गर्दै आइरहेको छ । बाख्रापालनमा महिलालाई उत्साहित बनाउँदै गाउँ–गाउँमै पुगेर खसी–बोका खरिद गरी बजार पठाउने गरेपछि उनीहरू बख्रापालनमा आकर्षित हुँदै गएका हुन् । सहकारीमा पाँच सय १८ सेयर सदस्यमध्ये चार सय ६९ सदस्य बाख्रापालनमा आश्रित छन् ।
एकै व्यक्तिले २५ माउ बाख्रासम्म पाल्ने गरेको पाइएको छ । बाख्रापालनबाट एक सदस्यले कम्तीमा एक लाखदेखि सात लाखसम्म वार्षिक कमाइ गर्न सफल भएका छन् । सदस्यलाई दृष्टिगत गर्दै गाउँबाटै सहकारीले एउटा निश्चित दरभाउ कायम गरी जिउँदो खसी–बोका तौलेर दस सहकारीमा राखेर बजार पठाउने कामले बजारीकरणको समस्या झेल्नुपरेको छैन । तौलका आधारमा मूल्य भने फरक–फरक कायम गरिएको छ ।
बीस किलोसम्मको खसीलाई प्रतिकिलो तीन सय ६०, २० किलोदेखि ३० किलो सम्म चार सय २०, ३० देखि ३६ किलोसम्म चार सय ५० रुपैयाँमा बिक्री गर्ने गरिएको छ । त्यस्तै ३६ किलोदेखि ४० किलोसम्म चार सय ८०, ४० किलो देखि ५० किलोसम्म पाँच सय, ५० किलोदेखि माथिको तौल भएका खसी बोकालाई पाँच सय ४० प्रतिकिलो मूल्य कायम खरी खरिद गर्ने गरेको सहकारीका व्यवस्थापक दिलमाया राना बताउँछिन् ।
त्यस्तै बीउ पाठी प्रतिकिलो तीन सय ४०, ब्याडे बोका पाँच सयमा खरिद गर्ने गरिन्छ । सहकारीले खरिद गरेको सो मूल्यमा प्रतिकिलो केही रकम लिएर बजारमा बिक्री गर्ने गरेको व्यवस्थापक रानाले जानकारी दिइन् । उनका अनुसार सहकारीमा गत आर्थिक वर्षमा नौ सय ९८ वटा खसी–बोका खरिद बिक्रीबाट दुई लाख ५८ हजार आम्दानी भएको छ । यस आर्थिक वर्षको चैत मसान्तसम्ममा एक हजार २१ वटा खसी–बोका खरिद बिक्रीबाट दुई लाखभन्दा बढी आम्दानी भइसकेको छ ।
गत वर्ष एक हजार दुई सय बाख्रा खरिद बिक्री गर्ने लक्ष्य राखेको सहकारीले यस आर्थिक वर्षको असार मसान्तभित्रमा एक हजार चार सय खसी–बोका खरिद बिक्री गर्ने योजना बनाएको छ । सहकारीले गाउँका पाँच स्थानमा खसी–बोका खरिद बिक्री संकलन केन्द्रमार्फत नवलपुरको कावासोती, पोखरा, पाल्पाको रामपुर बजारमा खपत गर्दै आएको छ । निस्दी गाउँपालिका–५ गल्धालाई मात्र कार्यक्षेत्र बनाएर काम गरिरहेको सहकारीले अब वडा नम्बर ३ झिरुवास र वडा नम्बर ६ अर्चलेसम्ममा क्षेत्र बिस्तार गर्ने योजना बनाएको छ ।
महिलालाई बाख्रापालनमा गाउँपालिकाको सहयोग यहाँका महिलाले बाख्रापालनमा राम्रै कमाइ गर्न थालेपछि निस्दी गाउँपालिकाले बाख्रा सहयोग कार्यक्रम ल्याएको छ । खसी–बोका उत्पादन गरी गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाउन र ग्रामीण भेगका महिलाको आयस्तर उकास्न महिला लक्षित बाख्रा प्रवद्र्धन कार्यक्रम पालिकाले सुरु गरेको छ ।
गाउँपालिकाले स्थानीय गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थासँग साझेदारी गरी बाख्रा प्रवद्र्धन कार्यक्रम सुरु गरेको हो । गाउँपालिकाको आर्थिक सहयोगमा सहकारीमा आबद्ध एक सय महिलालाई एक–एक माउ बाख्रा निःशुल्क सहयोग गरिएपछि बाख्रापालनमा उनीहरू थप आकर्षित बनेका छन् । सहकारीमातहतमा रहेका दसवटा समूहलाई एक–एकवटा उन्नत जातको बोकासमेत उपलब्ध गराइएको छ ।
गाउँपालिकाको पशु सेवा शाखाले सङ्घीय बजेटअन्तर्गत ससर्त कार्यक्रममार्फत नौ लाख ९० हजार, गाउँपालिकाको लागत साझेदारी कार्यक्रमबाट नौ लाख ९० हजार र सहकारीको तीन लाख २३ हजार गरी करिब २३ लाखमा बाख्रा वितरण गरिएको हो । सहकारीले पशु सेवा शाखाको उद्देश्य पूरा गरेको र खसी–बोका राम्रो उत्पादन गरी बजारमा बिक्री गर्न सफल भएकाले बाख्रापालनमा गाउँपालिकाले सहयोग गरेको निस्दी गाउँपालिका पशु सेवा शाखा संयोजक ओमबहादुर मश्राङ्गीले बताए ।
गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारूले निर्वाहमुखी बाख्रापालन गर्ने पुरानो संस्कार छाडेर आधुनिक प्रबिधिबाट व्यावसायिक बाख्रापालन गरेर आत्मनिर्भर बनाउन बाख्रा प्रवद्र्धन कार्यक्रम ल्याएको जानकारी गराए ।
भूगोलको हिसाबले कृषि र पशु क्षेत्रका कार्यक्रम गर्न निस्दी गाउँपालिका उपयुक्त रहेको हुँदा गाउँपालिकाले आम्दानी बढाउने उद्देश्यले महिलालाई प्रोत्साहन गर्दै बाख्रा अनुदानमा सहयोग गरिएको अध्यक्ष सारूको भनाइ छ ।
बाख्रापालन आर्थिक उपार्जनको स्रोत भएकाले महिलालाई व्यवसायी बन्ने अवसर दिएको सहकारीका अध्यक्ष तिरणकुमारी श्रेष्ठले बताइन् । निस्दीमा हेफर इन्टरनेसनल नेपालले आधारशिला तालिम दिएपछि महिलाले व्यवसायिकतालाई जोड दिँदै बाख्रापालन गर्दै आएका छन् । गाउँपालिकाको सहयोगमा बाख्रा पाएपछि आयआर्जन वृद्धि गर्न थप टेवा पुग्ने सीता अर्याल बताउँछिन् ।
‘गाउँमा प्रायः सबैका घरमा बाख्रा पालिएका छन् । केहीले ठूलो संख्यामा पालेका छन् भने केहीले दुई/चारवटा भए पनि बाख्रा पालेकै छन् । महिलालाई प्रोत्साहनका लागि गाउँपालिकाले थप माउ बाख्रा सहयोग गरेपछि व्यवसायमा जोश जाँगर बढेको छ,’ उनले भनिन्, ‘यस सहकारीले विशेषगरी बाख्रापालनमा जोड दिँदै आएको छ । ग्रामीण भेगमा घाँसपात र चरनको प्रशस्त सुबिधा, बजारमा खसी–बोकाको माग बढ्दै जानु र बाख्रा पालेर राम्रै कमाउन सक्ने सम्भावना देखेपछि सहकारीका महिला बाख्रापालनमा आकर्षित भएका हुन् ।’
बजारमा मासुको मूल्य वृद्धि हुँदै गएको अवस्थामा आर्थिक क्षेत्रमा परनिर्भर रहने यहाँका महिला अहिले घर–घरमा बाख्रा पालेर आत्मनिर्भर बन्दै छन् ।