गहनाको आविष्कार ढुंगेयुगबाटै भएको समाजशास्त्रीहरूको भनाइ छ । उनीहरूका अनुसार, ढुंगेयुगबाट धातु प्रयोगमा आउन थालेपछि गहनाको अवधारणा विकास भएको हो । त्यही युगबाट आदिम किरात राई समुदायले गहना प्रयोगमा ल्याउन थालेका हुन् भनेर जिकिर गर्न सकिन्छ । यस समुदायले आफ्नावरिपरि पाइने विभिन्न वस्तुलाई मौलिक गहनाका रूपमा प्रयोग गरे पनि धातुको आविष्कारपछि अन्य गरगहना लगाउन थालेको पाइन्छ । गोर्खा भर्तीसँगै यस समुदायमा गहनाले नयाँ रूप लिएको अड्कलबाजी गर्न सकिन्छ ।
किरात राई समुदायका महिलाले कानमा लगाउने रस्कुली अन्ती, नाकमा लगाउने ढुङ्ग्री, मुन्द्री, टाउकामा लगाउने तोलमा वा शिरफूल तथा शिरबन्दी, गलामा लगाउने प्वाँलो माला, जन्तर तथा कम्पनी, हारी । नाडीमा काँडेचुरा र खुट्टामा कल्ली लगाउने गर्छन् ।
यसैगरी, चौबन्दी चोलाको तनामा चर्चुङ र बिनायोसँगै झुन्ड्याइने चम्पा (एककिसिमको फूल, जुन फूल पारुहाङ र सुम्निमाबीच पहिलोपटक भेट हुँदा साटासाट गरेको विश्वास गरिन्छ) महिला र पुरुष दुवैको साझा गहना हो । प्रायः महिलाले कम्मरमा भिर्ने खुरुम्बी (हँसिया) र पुरुषले भिर्ने खुकुरीलाई पनि गहनाकै रूपमा लिने गरिन्छ ।
इतिहासभन्दा पुरानो छ, गहनाको इतिहास भनेर काठमाडौंबाट प्रकाशित एक दैनिकमा २०६७ भदौमा एक आलेख छापिएको थियो । सो आलेखमा लेखिएको थियो, ‘मानव जातिको विकाससँगै गहनाको आविष्कार भएको हो । ढुंगेयुगमा जनावरका हाड, दाँत तथा विभिन्नप्रकारका ढुंगाबाट निर्मित गहना लगाइन्थ्यो । प्राचीन अफ्रिकनहरू काठ, जनावरका हड्डी तथा रौं प्रयोग गरी विभिन्नकिसिमका गहना बनाएर लगाउँथे ।
महिलाले लगाउने प्रत्येक गहना पुरुषले शोषण गर्न आविष्कार गरेका हुन् भनेर ‘आइमाईका हक’ नामक किताबमा तसलिमा नसरिनले उल्लेख गरेकी छन् । नसरिनको दाबी छ, ‘घरभित्र महिला कहाँ, कोसँग, के गरिरहेका छन् भनेर निगरानी राख्न प्रत्येक पाइलामा आवाज आउने पाउजुको आविष्कार गरिएको हो ।’
बाइबलमा समेत गहनाबारे उल्लेख छ । ४,७०० बीसीमा राजा जेरले ब्रास्लेट लगाएको इतिहास पढ्न पाइन्छ । ब्रास्लेट सुनबाट बनेको थियो । त्यसपछि संसारका धेरैजसो राजारानीले सुनबाट निर्मित गहना लगाउन थालेका थिए । सन् ८०० तिर बौद्ध धर्मावलम्बीले हाड, मोती, काठ र ढुंगाबाट निर्मित गहना बनाउन थालेका हुन् ।
हिन्दु धर्मावलम्बलीले रुद्राक्षलाई पहिलो गहनाका रूपमा लिएका छन् । आठौं शताब्दीमा इटालीमा विभिन्नकिसिमका गहना बनाउन थालिएको थियो । सुरुताका क्रिश्चियन धर्मावलम्बीले धर्मका लागि गहना प्रयोग गर्थे ।
गहना गन्थनमा समेटिएका सबै तस्बिर किरात राई समुदायको उद्गम थलो तुवाचुङमा वैशाखे पूर्णिमा (उँभौली) २०७६ जेठ २५ गते कैद गरिएको हो ।
सबै तस्बिर : सयन्द्र राई