गाउँ खान छाड्यो, गाउँखाने कथाले



एकताका गाउँखाने कथालाई मनोरञ्जनको गतिलो साधन मानिन्थ्यो । मनोरञ्जनका विविध साधन भित्रिएपछि गाउँखाने कथा भनिन, सुनिन कम हुँदै गयोे ।

भनिन, सुनिन कम हुँदै गए पनि सामाजिक, सांस्कृतिक र भाषिक दृष्टिकोणले गाउँखाने कथाको महत्व रहेको छ । नेपाली उखान र गाउँखाने कथाबारे गहिरो अध्ययन गरेका साहित्यकार कृष्णप्रसाद पराजुलीले जीवित हुँदा पंक्तिकारसँग भनेका थिए, ‘गाउँखाने कथामा सामाजिक, सांस्कृतिक, नैतिक, आर्थिक र धार्मिक जीवनको पर्याप्त निर्देश पाइन्छ ।’

लोकजीवनमा गाउँखाने कथाको महत्व रहे पनि यसको विकास र विस्तार भएको पाइँदैन । अहिले गाउँखाने कथा विद्यार्थीमा टिकेको साहित्यकार पराजुलीले सुनाएका थिए । ‘लोकसाहित्यकै एउटा विधा भएकाले गाउँखाने कथा निमिट्यान्न हुँदैन,’ उनको दाबी थियो, ‘यसले आफ्नो ठाउँ बनाएकै हुन्छ ।’

विद्वान्हरूले वेदमा समेत गाउँखाने कथाको सत्ता थियो भनेका छन् । भारतीय विद्वान् डा. सत्येन्द्रले गाउँखाने कथालाई अश्वमेघ यज्ञको एक अनुष्ठानका रूपमा स्वीकारेका छन् ।

नेपाली गाउँखाने कथाबारे किताबसमेत लेखेका साहित्यकार पराजुलीले गाउँखाने कथालाई नेपाली लोकजीवनका अभिव्यक्तिको अभिन्न अंग मानेका थिए । गाउँखाने कथा लोकजीवनको सुख–दुःखको साधन भएको उनको जिकिर थियो ।

गाउँखाने कथा, कथा नै भए पनि यो प्रश्नोत्तर कथा हो । सोधेको प्रश्नको उत्तर दिन नसक्नेले प्रश्नकर्ताले मागेको गाउँ दिएपछि मात्रै उसले उत्तर दिने गर्छन् । पाटन संयुक्त क्याम्पस सहप्राध्यापक धनप्रसाद सुवेदी ‘श्रमिक’ले एकताका गाउँखाने कथा बुद्धिविलाशको साधन मानिएको बताए । सहप्राध्यापक सुवेदीका अनुसार अहिले बुद्धिविलाशका साधन ह्वात्तै बढेकाले गाउँखाने कथाको लोकप्रियता घट्दै गएको हो ।

रेडियो र टेलिभिजन (सबै होइनन्)ले बाल कार्यक्रममा दुई/चारवटा गाउँखाने कथा प्रसारण गर्दै आएका छन् । बालपत्रिकामा समेत गाउँखाने कथा समावेश गरिएका हुन्छन् । विद्यालय र क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगतिमा पनि यदाकदा गाउँखाने कथा सोध्ने गरिन्छ ।

कर्णालीतिर गाउँखाने कथालाई ‘साइतर’ वा ‘सातर’ भनिन्छ भने पश्चिम नेपालको कतिपय ठाउँमा ‘सास्तर’ र जुम्लातिर भने ‘कठ्यौरा हाल्नु’ भनिन्छ । हिन्दीमा ‘पहेली’ भनिने गाउँखाने कथालाई जापानमा ‘नाजो–नाजो’ भन्ने गरिन्छ । अवधीमा भने गाउँखाने कथालाई ‘बुझौल’ भनिन्छ ।

बालकृष्ण पोखरेल, रत्नाकर देवकोटा, स्व. शारदा अधिकारी, स्व. जनकप्रसाद हुमागाईं, नैनसिंह योञ्जन, वासुदेव मुनाल, भाइचन्द प्रधान र वासुदेव भाइसाहेबले नेपाली गाउँखाने कथा संकलन तथा उपयोगमा चासो लिएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्