भवन निर्माणको बजेट कर्लप्पै



डिकुवा (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको दाम्लीमा दाम्ली माध्यमिक विद्यालयको चारकोठे सिमेन्टेड भवन बन्यो । डिकुवावासी खुसीले पुलकित बने । यो संवत् २०७४ पहिलेको कुरा हो ।

साबिक जिल्ला शिक्षा कार्यालय खोटाङबाट बजेट प्राप्त भएको स्थानीय बताउँछन् । कागजात मिलाएर विद्यालय भवन सम्पन्न भएको भन्दै हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा पूर्ववडाध्यक्ष हरिकुमार खड्काले बजेट निकाले । ६ वर्ष बितिसक्दा पनि विद्यालय भवन लथालिंग छ ।

विद्यालयका पूर्वप्रधानाध्यापक गमराज राईलाई पटक–पटक विद्यालय भवनको ‘स्टिमेट’ र निकासा रकमबारे जानकारी माग्दा वास्तविकता बताउन आनाकानी गर्छन् । गरिरहेकै छन् ।

सार्वजनिक चासोको विषयबारे वास्तविकता लुकाउन मिल्छ ? सम्भवतः यो काम गर्ने÷गराउने एमाले, कांग्रेस र माओवादी केन्द्र खोटाङसम्बद्ध नेता तथा कार्यकर्ता दोषी छन् । उल्लिखित पार्टीसम्बद्ध नेताले समेत लथालिंग विद्यालय भवनबारे वास्ता नगर्नु भनेको ‘दालमा कुछ काला है’ भनेर अड्कलबाजी गर्न सजिलै सकिन्छ ।

संवत् २०७४ को निर्वाचनमा माओवादी केन्द्रसँगको गठबन्धनमा विशाल भट्टराईले खोटाङबाट एमाले सांसद बन्ने शौभाग्य पाए । त्यतिबेला हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका वडाध्यक्ष उनकै पार्टीका कार्यकर्ता खड्का थिए । त्यतिबेला पूर्ववडाध्यक्ष खड्काले दाम्ली मावि भवन सम्पन्न गर्न किन सकेनन् ? वडादेखि संघीय सांसदसमेत एमालेकै थियो । काम गर्न त्योभन्दा सुविधा कहिले पाइएला ? यस्तो सुविधा अब फेरि कहिले होला ? होला कि नहोला ? यसै भन्न सकिने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्