मान्यवर उपप्रमुखज्यू,
आराम छौं । ‘सेल्फ क्वारेनटाइन’बाट आरामको कामना गर्छौं । तपाईं हामीजस्तो ‘सेल्फ क्वारेनटाइन’मा बसिरहन नपाउने भएकाले आरामको कामना गरेका हौं । स्थानीय सरकारको जिम्मेवार भूमिकामा रहनुभएकाले नगरवासीको वास्तविकता बुझ्न वडा–वडामात्रै होइन, गाउँ–गाउँ पुगिरहनुभएको समाचार सञ्चारमाध्यममा जान्नेले पढ्छन् । हामी नजान्नेलाई सुनाउँछन् । त्यस्तो समाचार सुनेपछि तपाईंले पनि आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला है भनेर आग्रह नगरिरहन सकेनौं ।
विश्व महामारीका रूपमा फैलिएको कोरोनाबाट बच्न र बचाउन संघीय सरकारले ‘लकडाउन’ घोषणा गरेको सर्वविदितै छ । हामीले सरकारको निर्देशन पालना गरिरहेकै छौं । तर, तपाईं स्थानीय सरकारको जिम्मेवार भूमिकामा रहनुभएकाले हामीजस्तो आराम गर्न पाउनुहुन्न । नगरवासीलाई परेको आपतविपत सम्बोधन गर्न दौडिरहनुपर्छ । जुन भूमिका निर्वाह गरिरहनुभएकै छ । हामी असाध्यै खुसी छौं । तपाईंजस्तो उपप्रमुख पाउँदा त्यत्तिकै गौरवान्वित छौं ।
उपमेयरज्यू, कोरोना कहरमा तपाईंले लगाउनुभएको गुन हामीले यो जुनीमा तिर्न सक्दैनौं होला । तर, गुन भुल्ने छैनौं । अनिकालमा ज्यान जोगाउन सहयोग गर्नेले लगाएको गुन बिर्सन यो जीवन ढल्नैपर्छ । तर, तपाईंबाट पाएको सहयोग हाम्रा सन्तान–दरसन्तानलाई सुनाउन कन्जुस गर्दैनौं ।
हामीलाई राजनीतिबारे थाहा छैन । मेलापर्म, हाटबजारतिर राजनीति भनेको ‘फोहोरी खेल’ हो भनेर सुनेका हौं । त्यसलाई अथ्र्याउनसमेत सक्दैनौं । ‘राजनीति भनेको विशाल वरको रूख हो,’ लेखक केशव दाहालको भनाइ पैंचो माग्दै गाउँकै पढेलेखेकाले हामीलाई सुनाएका थिए, ‘जुन रूखले सुरक्षा, शीतल र न्यानो दिन्छ ।’ वरको रूखको उदाहरण दिँदै जसले हामीलाई राजनीतिको अर्थ बुझाउन खोजे पनि प्रस्टसँग बुझ्न सक्दैनौं । तर, तपाईंको सहयोग पाएपछि राजनीति भनेको वरकै रूख रहेछ भनेर बुझिटोपल्न खोजेका छौं । हामीजस्तो जीवनभरि भातेलडाइँमा लडिरहेका वर्गलाई राजनीति बुझ्न सक्ने ल्याकत कहाँ हुन्छ र ? त्यो त बुझिदिनुहुन्छ नि होइन ?
शब्दमा भन्नै नजाने पनि तपाईंको सहयोगको सधैं उच्च सम्मान गर्छौं । हाम्रो अनुरोध दृष्टिगत गर्दै सहयोग गरिदिनुभयो । हाम्रो परान जोगाउन सकारात्मक भइदिनुभयो । खाद्यसामग्री लिएपछि धन्यवाद है उपमेयरज्यू, गुन बिर्सने छैनौं भनेर बनिबनाउ शब्दमा व्यक्त गर्न जानेनौं होला तर हामीले व्यक्त गर्न नसकेको अभिव्यक्ति तपाईंले हाम्रो अनुहारमा पोतिएको खुसीको रेखा देखेर भेउ पाउनुभयो भन्नेमा विश्वस्त छौं ।
हिजो (२०७६ चैत १९ गते) तपाईंले उपलब्ध गराउनुभएको खाद्यसामग्री लिएर घर फर्केपछि तपाईंजस्ती मनकारी मानिस यही समाजमा रहेछन् भनेर सोच्न बाध्य बनायो । मानवता हराइसकेको रहनेछ भनेर विश्वास गर्न कर लाग्यो ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान खोटाङका विपन्न तथा दलित समुदाय (२५ घरधुरी)लाई तपाईंले व्यक्तिगत सहयोगस्वरूप ४ सय २० किलोग्राम चामल उपलब्ध गराउनुभयो । क्षणभरमा सञ्चारमाध्यममा छ्याप्छ्याप्ती भयो । उपप्रमुखको हैसियतले उपलब्ध गराउनुभएको खाद्यान्न बोकेर घर पुगेपछि हामीले राम–राममात्रै भन्न सक्यौं ।
उपप्रमुखज्यू, तपाईंलाई थाहा छ नि– हामीजस्ता भुँइमान्छेले बनाउबनाउ अभिव्यक्ति व्यक्त गर्न जान्दैनौं । सक्दैनौं । त्यही भएर त हामी जहिल्यै भुँइका भुँइमै छौं । हामीलाई भुँइमान्छे हुनुमा गर्व छ । अरूलाई पिरोलेर बाँच्ने इन्द्रेणी सपना कहिल्यै देखेनौं । देख्न नपरोस् पनि । पसिनाको गीत गाउँदै जीवन निर्वाह गर्नुको आनन्द हामीलाई थाहा छ । पसिनाको गन्ध र रंग पनि हामीलाई नै बढी थाहा होला । यसो भन्न हामीलाई पटक्कै लाज लाग्दैन ।
हाम्रो ठम्याइ गलत होइन भने खाद्यसामग्री वितरणको समयमा हामीभन्दा तपाईं बढी खुसी देखिनुभएको थियो । हामी कति भाग्यमानी । सहयोग पाउनेभन्दा सहयोग गर्ने खुसी देखेपछि बिहान बेलुका खाना खाँदासमेत हामी तपाईंलाई झल्झली सम्झिरहेका छौं । अहिलेसम्म हामीले जनप्रतिनिधिबाट पाएको सहयोग यो नै पहिलो हो । त्यसैले पहिलेको खास अर्थ रहन्छ । सम्झना गरिन्छ । तपाईंले उपलब्ध गराउनुभएको खाद्यसामग्री फारो गरेर उपभोग गर्दै छौं ।
हजुरलाई चिट्ठी लेखिरहँदा नायिका आँचल शर्मालाई सम्झिरहेका छौं । नायिका शर्माले २०७६ फागुन २९ गते डा. उदीप श्रेष्ठसँग बिहे गरेका थिए । शर्मा र श्रेष्ठको बिहेबारे हामीलाई के थाहा हुन्थ्यो र । तर पनि थाहा पायौं । बिहेमा नायिका शर्माले १६ लाख रुपैयाँबराबरको लेहेङ्गा र ६० लाखको हीराको गहना लगाएकी थिइन् रे । बिहेपछि गत चैत १ गते नवदम्पतीले ‘रिसेप्सन पार्टी’ दिएका थिए । शर्मा हेलिकोप्टर चढेर ‘रिसेप्सन पार्टी’मा पुगेको चर्चा सेलाउन पाएकै छैन । डा. श्रेष्ठले उनलाई जन्मदिनमा २ लाख रुपैयाँको व्याग उपहार दिएका रहेछन् ।
सामाजिक सञ्जाल फेसबुक चलाउने गाउँलेहरूले हामीलाई सुनाएका थिए । हामीले जीवनमा अहिलेसम्म ६० लाख रुपैयाँ देखेका छैनौं । ६० लाखको हीराको गहना देख्ने कुरै भएन । १६ लाखको लेहेङ्गा कस्तो होला भनेर कल्पना पनि गरेका छैनौं । काम पर्दा ‘पोलिथिन व्याग’मै गर्जो टारिरहेका हामीलाई २ लाख रुपैयाँको व्यागको के काम ?
हुनेखाने र हुँदाखानेबीचको भिन्नता यही त रहेछ । एकातिर बिहे गर्दा र जन्मोत्सव मनाउँदा करोड खर्चिने नायिका आँचल शर्माहरू छन् भने कोरोना कहरले ‘बिहान खाए बेलुका के खाऊँ, बेलुका खाए बिहान के खाऊँ’का हामीले तपाईंजस्ताको सहयोग पाउनु अहोभाग्य हो ।
हलेसी तुवाचुङ नगरपालिका नगर उपप्रमुख बिमला राई र नायिका आँचल शर्माबीच यति फरक छ । हजुरले पनि नायिका शर्माजस्तै सोखिन जिन्दगी बिताउन सक्नुहुन्छ । तपाईंले हिजो उपलब्ध गराउनुभएको खाद्यसामग्री खरिद गर्दाको रुपैयाँले कैयौं महिनाका लागि घरायसी गर्जो टार्न सक्नुहुन्थ्यो । तर, तपाईंले हामीजस्ता आपतविपतमा परेकालाई सहयोग गरेर सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गर्नुभयो । तपाईंले निर्वाह गरेको भूमिकाले हामीलाई ऋण लगाउनुभयो । ‘कोरोना कहरले हामीलाई उपप्रमुखले ऋण लगाउनुभए पनि हामीलाई दीन नलागोस्,’ हामी प्रार्थना गर्छौं, ‘हाम्रो उपप्रमुखलाई ऋण र दीन दुवै नलागोस् ।’
‘तमिलनाडुकी अम्मा’ भनेर चिनिने जयललिताबारे उपप्रमुखज्यू जानकार हुनुहुन्छ । हजुर त पढेलेखेको मानिस । हामीले पनि अरूबाटै सुनेका हौं । पटक–पटक भारत तमिलनाडु राज्यकी मुख्यमन्त्री बनेकी जयललितासँग १० हजार थान सारी थिए रे । ७ सय ५० जोडी त जुत्तामात्रै । एक सयभन्दा बढी चलचित्रमा अभिनय गरेकी जयललिता र नायिका आँचल शर्माबीच भिन्नता छ । विलासी जीवन बिताए पनि जयललिताले मुख्यमन्त्रीको भूमिका निर्वाह गर्दा तमिलनाडुको गरिबी निवारणका लागि खेलेको भूमिकाले उनलाई आदर गर्नेको कमी छैन । भ्रष्टाचार आरोपमा जेल चलान गर्दा पीडा सहन नसकेर उनका १६ जना समर्थकको ज्यान गएको थियो । ज्यान गुमाउनेमध्ये कतिपयले आत्महत्या गरेका थिए भने कतिपयको हृदयाघात भएको थियो ।
६ पटक मुख्यमन्त्रीको भूमिका निर्वाह गरेकी जयललिताले लिएको लोककल्याणकारी नीति कार्यक्रमले उनी प्रशंसित भएकी हुन् । चलचित्र र राजनीतिलाई घृणा गर्ने स्व. जयललिताले अन्ततः दुवै विधाबाट आफ्नो परिचय फराकिलो बनाइन् । दक्षिण एसियाकै प्रेरक महिला नेतृको पहिचान बनाउन सफल भएको कुरा हामीलाई गाउँकै पढेलेखेकाले सुनाएका थिए ।
त्यस्ता नेतृको प्रेरक प्रसंग बिर्संदै गएका थियौं । कसैले सुनाएको जयललिताको प्रेरक प्रसंग बिर्साउनेगरी तपाईंको सहृदयी सहयोग पाएका छौं । हामीले जे सहयोग पायौं, यसलाई कम सम्झेका छैनौं ।
हजुरले हामी (हलेसी बजार र माल्कुवासी)जस्तै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानअन्तर्गत ऐंसेलुर्खक, कात्तिके र गैरीगुठका १४ घरधुरीका विपन्नले यस्तो घडीमा सहयोग पाउँदा पुलकित भएको खबर सुनाएका थिए । तपाईंलाई सधैंभरि यसरी नै दिन पुगोस् । खान पुगोस् ।
अन्त्यमा भन्न मन लाग्यो । उपप्रमुखज्यू राजनीति झन्झन् महँगो बन्दै गएको छ । राजनीतिमा षड्यन्त्र मौलाउँदै गएको पनि सुनेका छौं । दुवैबाट बचेर राजनीतिक ‘करिअर’ मजबुत बनाउन हामी आशिर्वाद दिन्छौं । अनुरोध गर्छौं ।
(हलेसी तुवाचुङ नगरपालिका नगर उपप्रमुख बिमला राईले २०७६ चैत १९ गते हलेसीका विपन्न तथा दलित समुदायलाई व्यक्तिगत रूपमा खाद्यसामग्री वितरण गरेपछि लेखिएको पत्र–साहित्य ।)