फक्ताङलुङ गाउँपालिका–५ तापेथोककी धनमाया माबो घरनजिकैको सुँगुरखोरमा झार उखेल्दै थिइन् । दिउँसोको समय टन्टलापुर घाम लागेको थियो । माबोलाई भने सुँगुरखोरवरपर सफा गरिसक्ने हतारो थियो । सोहीक्रममा झारमा लुकेर बसेको सर्पले उनको हातमा डस्यो ।
छिमेकी राम लिम्बूका अनुसार उनलाई गत असार २८ गते दिउँसो सर्पले डसेको हो । श्रीमान् बुद्धपाल लिम्बूले दुई घन्टा पैदल दूरीमा रहेको धामी (फेदाङ्वा) बोलाएर झारफुक गर्न लगाए । असार २९ गते बिहान ४ बजे धामीकै अगाडि धनमायाको निधन भयो । ‘हामीले बेलुका मात्रै थाहा पायौं,’ छिमेकी लिम्बूले भने, ‘झारफुक गर्दागर्दै उनको ज्यान गयो ।’ उक्त गाउँबाट नजिकैको लेलेप स्वास्थ्यचौकी तीन घन्टा पैदल दूरीमा छ ।
मिक्वाखोला गाउँपालिका–४ थलङनिवासी अमरसिं थलङ रोजगारीको सिलसिलामा फक्ताङलुङ गाउँपालिका–६ लेलेप सडकको ग्याबिन बुन्न पुगे । राति छिमेकीको घरमा मोबाइल चार्ज गर्न जानेक्रममा रूखमा रहेको सर्पले गत भदौ २० गते रातको १२ बजे गालामा डस्यो ।गालामा डसेपछि शरीरमा विष फैलन नदिन डोरीले बाँध्न पनि समस्या भएपछि झारफुक गरे । तर, सिकिस्त अवस्था पुगेपछि थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङमा पुर्याइयो । जिल्ला अस्पताल ताप्लेजुङमा एक रात राखेपछि अवस्था गम्भीर भएपछि थप उपचारका लागि गत भदौ २२ गते झापाको चारआली सर्पदंश अस्पताल पुर्याइयो ।
फक्ताङलुङ गाउँपालिका–५ तापेथोकका १३ वर्र्षीय फाल्गुनन्द तुम्बाहाम्फेलाई २०७६ वैशाख २६ गते घरमै सर्पले डस्यो । तुम्बाहाम्फेलाई सुतिरहेको समयमा हातमा सर्पले डसेको थियो । परिवारले धामी बोलाए । धामीले घाउनजिकै डोरीले बाँधे र झारपात पिसेर लगाइदिए ।
यसरी धामीले १५ दिनसम्म विष झार्न प्रयास गरिरहे । निको हुनुको साटो हात सुनिदै गयो । केही नलागेपछि छिमेकीको आग्रहमा तापेथोक स्वास्थ्यचौकी लगियो । स्वास्थ्यचौकीले यहाँ उपचार सम्भव नहुने भन्दै सुविधासम्पन्न अस्पतालमा लैजान सिफारिस गर्यो । उपचारका लागि झापा लैजानेक्रममा इलामको फिक्कल पुग्दा उनको निधन भयो । स्थानीय दीपक लिम्बूका अनुसार बालकलाई निको बनाउन इसाई धर्मको विधिअनुसार पटक–पटक बाइबल पढाइएको थियो ।
सर्पले डसेर घाइते बनेकी फक्ताङलुङ–४ इखाबुकी नैनरानी लिम्बूलाई पनि परिवारले झारफुक गर्न लगाए । धामीले निको पार्छु भनेपछि दुई दिनसम्म बाटो हेरे । बिरामीको अवस्था नाजुक बन्दै गयो । धामीले पार लगाउन नसकेपछि जिल्ला अस्पताल पुर्याइयो । अस्पतालले झापाको चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा लैजान भन्यो । त्यहाँ पनि उपचार सम्भव नभएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजानेक्रममा विर्तामोडमा गत साउन १३ गते लिम्बूको निधन भयो । घरबाट आधा घन्टा पैदल दूरीमा रहेको अलैंची बगानमा घाँस काट्न जाँदा उनी सर्पको सिकार बनेकी थिइन् ।
फक्ताङलुङ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईका अनुसार उक्त गाउँपालिकामा मात्रै पछिल्लो तीन वर्षमा १५ जनाको सर्पले डसेर मृत्यु भएको छ । आर्थिक वर्ष २०७६/७७ मा सात, २०७५/७६ मा चार र २०७४/७५ मा चारजनाको सर्पको टोकाइपछि मृत्यु भएको भट्टराईले बताए । यो अवधिमा सर्पले डसेर घाइते हुने २० भन्दा बढी छन् ।
अन्य पालिकामा पनि सर्पको बिगबिगी उस्तै छ । गत जेठ २१ गते फुङ्लिङ नगरपालिका–२ लहरेगाउँका ६८ वर्षीय प्रातलाल बम्जनलाई सुतेकै ठाउँमा सर्पले डस्यो । राति धामी बोलाएर विष झार्न लगाइयो । एक घन्टा दूरीमा रहेको जिल्ला अस्पताल लैजाने कसैले चासो दिएनन् । बम्जनको बिहान पाँच बजे निधन भयो ।
फक्ताङलुङ गाउँपालिका–४ का पूर्वप्रधानपञ्च मणिप्रसाद लाबुङका अनुसार त्यो भेगमा पाइने सर्प गुर्भे र हरियो (सतुवा) हुन् । ती सर्पले अलैंची बगानमा काम गर्दा र घाँस दाउरा गर्दा मानिसलाई डस्ने गर्छन् । सर्पले डसेपछि झारफुक गर्ने, डोरीले कस्ने, झारपात माडेर लगाउने, बुटी बाँध्नेजस्ता परम्परागत उपचार पद्धति व्याप्त छ ।
निकै ढिलो भएपछि मात्रै स्वास्थ्य संस्थामा लैजाने चलन रहेको लाबुङले बताए । गाउँघरमा विष निक्लियोस् भनेर डसेको ठाउँमा चिरेर रगत बगाउने र मुखले चुसेर रगत झिक्ने चलन छ । यस्तो गर्दा विष बाहिर निस्किँदैन तर अझ छिटो शरीरमा फैलिनुका साथै विभिन्नप्रकारको संक्रमण जोखिममा समेत वृद्घि हुने चिकित्सक बताउँछन् ।
ती सर्प विषालु नभए पनि डसेको ठाउँमा अन्य संक्रमण भएर बिरामीको ज्यान जाने गरेको जिल्ला अस्पताल ताप्लेजुङका प्रमुख डा. सोनिङ लामा बताउँछन् । ‘सर्पले डसेपछि उहाँहरू घरेलु उपचारमा लाग्नुहुन्छ । कतिको घरमै मृत्यु हुन्छ । कोही अन्तिम अवस्थामा मात्रै हामीकहाँ आइपुग्नुहुन्छ,’ लामाले भने, ‘गलत उपचारले रगतमा इन्फेक्सन हुनुका साथै अन्य संक्रमणले ज्यान जान्छ ।’
सर्पले डसेमा परम्परागत विधि प्रयोग नगर्न उनले सुझाए । जतिसक्दो छिटो स्वास्थ्य संस्थामा पुर्याउनु नै उत्तम उपाय भएको उनले बताए । ‘सर्पले टोकेको अंगलाई चलाउनुहुँदैन । स्थिर गरी बिरामीलाई अस्पतालसम्म पुर्याउनुपर्छ,’ उनले थपे ।
गाउँघरमा सर्पदंशका कारण मानिस पीडित भए पनि सरकारले भने यसमा ध्यान दिएको छैन । तीनै तहका सरकारले यो समस्या समाधानमा योजना बनाएका छैनन् । यो समस्याबाट न्यून आय भएका व्यक्ति बढी प्रभावित भइरहेका छन् । सर्पदंश समस्यालाई उच्च प्राथमिकता दिई जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने पूर्वप्रधानपञ्च लाबुङको सुझाव छ ।
आफ्नो पालिकामा अन्यभन्दा सर्पदंशको समस्या जटिल रहेको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष सरोज लिम्बूले बताए । ‘हाम्रो क्षेत्रका जनतालाई सर्पले धेरै दुःख दिइसक्यो,’ लिम्बूले भने, ‘यो वर्षदखि टोलटोलमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्छौं ।’