श्रमिकको रगत चुसेर सुनको कोपरा



बिहान उठेर हिजोको बाँकी दैनिकी लेख्दै थिएँ, समय गुज्रेको पत्तै भएन । नुहाइ–धुवाइ गर्दा थप समय गयो । आज बिहानको खाजा नखाईकन हिँड्नुपर्ने भएकाले नेपालबाटै ल्याएको सातु र पानी घोलेर खाएँ ‘चेक आउट’ को समय भइसकेको थियो । यतिबेला लबीमा पुगिसकेको हुनुपथ्र्यो । तारन्तार फोन आइरहेको थियो । लबीमा पुग्दा किशोर सर र फिनिक्स दिक्क मान्दै पर्खिरहेका रहेछन् । निर्धारित समयमा नपुगेर सबैलाई दिक्क पारेकोमा आफूलाई नै दिक्क लाग्यो । अरू केही कतै बरालिएका रहेछन् । रेल छुट्ने त्रास सबैमा थियो । हुस्सुले आकाश छोपेर धुम्म परेको थियो ।

दक्षिण बेइजिङ रेलमार्ग बिसौनीबाट निर्धारित समयमै उत्तर सुचाउतिर हाम्रो रेल दौडिँदै थियो । बाहिरबाट हेर्दा आकारप्रकार वायुयानजस्तो लाग्थ्यो । जसको नामै ‘तीव्र–गति रेल जी १०१’ थियो । प्रतिघन्टा २९० देखि ३०५ किमिको दरले रेल दौडिरहेको थियो । नेपालको आन्तरिक उडानको वायुयान त्यसभन्दा त्यति बढी गतिमा उड्दैन । सायद तीव्र गतिका कारण हावाको अवरोध कम गर्न त्यसको मुख–पुच्छर जहाजको आकारमा निर्माण गरिएको रहेछ । बेइजिङ–सुचाउबीचको दूरी १,५०० किमि भनेको नेपालको काँकडभिट्टादेखि महेन्द्रनगरको दूरी हो । अहिले सहिदद्वारदेखि थानकोट पुग्न लाग्ने समयमा यस्तै रेलको व्यवस्था हुने हो भने भैरहवा पुग्न सकिने थियो । यस्तो व्यवस्था गर्न सक्ने हो भने वीरगन्ज, बुटवल, पोखराबाट श्रमिक दैनिक काममा आउजाउ गर्न सक्थे ।

रेल बिसौनीमा नाङ्ले व्यापारी, माग्ने, हिजडा, पकेटमार कसैले दुःख दिएनन् । पालो मिचामिच पनि भएन । रेलयात्रा भनेपछि भारत सम्झेर दिक्क लागेको थियो । तर, वायुयानभन्दा रेलयात्रा सुविधाजनक लाग्यो । रेल बिसौनीका मानिसको रहनसहन हेर्दा सामान्यतयाः समान लाग्थ्यो । स्वचालित यन्त्रझैं मानिस आ–आफ्नै नियममा बाँधिएझैं लाग्थ्यो । रातो पोसाक लगाएकी अधबैंसे चिनियाँ भाषामा फोहोर छ ? भन्दै निरन्तर घुमिरहेकी थिई । उसले बेलाबेलामा बाटो पुछेको देखिन्थ्यो । चिया, कफी, तयारी खानेकुरा बोकेर रेलका कर्मचारी घुमिरहन्थे । बिसौनी–बिसौनीमा नाङ्ले व्यापारी चढ्ने–ओर्लने गरेको पनि देखिएन ।

निर्मला शर्मा, तीर्थ कोइराला र म एउटै लहरमा थियौं । हाम्रो पछाडि चन्द्रकिशोर थिए । हामी तेत्तीसकोटी देवता भएका समाजका बासिन्दा थियौं । जहाँ घरभन्दा मन्दिर र ध्वजापताका धेरै हुन्छन् । हामी एक घन्टाको दूरी पार गर्दा पनि कतै धार्मिक निशाना थिएन । तीर्थ कोइरालाले ‘मन्दिर–वन्दिर, झन्ढी–बन्डी कुछ नही रे चन्दरवा,’ चन्द्रकिशोरलाई जिस्क्याए । त्यसपछि १,५०० किमि दूरी पार गरेर सुचाउ पुग्दासमेत त्यत्रो मानव बस्तीमा कतै मन्दिर, मस्जिद, चर्च, गुम्बा देखिएन । भनिन्छ– हान जातिमा धार्मिक कट्टरता छैन । चीनमा नयाँ जनवादी क्रान्तिका लागि भएको लामो गृहयुद्धले भौतिकवादको जग बसाल्यो ।

सन् १९६६–१९७६ को एक दशक लामो सांस्कृतिक क्रान्तिले अध्यात्मवादविरूद्ध अक्र्रो प्रहार गर्यो। तिब्बत र पछिल्लो समय सिन्ज्याङमा धर्म र जातिको नाममा भएको चीनविरोधी गतिविधिले चिनियाँ जनतामा अध्यात्मवादप्रति अविश्वास नै थपेको देखिन्छ । उत्पादक शक्तिको विकासले पनि त्यसलाई आधार दिएको ठानिन्छ ।

अनिल शर्मा विरही

बाटोमा कतै पनि बाँझो जमिन पल्टिरहेको थिएन । वन र खेती गरेको जमिन कुन धेरै होलाजस्तो लाग्थ्यो । टाढाबाट हेर्दा गाउँ, बस्ती र खेतीका फाँट वनले छोपिएका हुन्थे । सुचाउको नजिक पुग्दा नेपालको जस्तै पछौटे उत्पादन प्रणाली देखिन्थ्यो । विद्युत् भएका घरमा समेत सोलार देखिन्थे । यो क्षेत्र चीनको विकसित क्षेत्र हो । यहाँ त पछौटे उत्पादन प्रणाली कायम छ भने पश्चिम चीनमा कस्तो होला भन्ने लाग्यो ।

हामी विद्यालय पढ्दा नेपाली कांग्रेसका स्थानीय नेताहरूले चीन सचित्रमा छापिएका फोटा अमेरिका र जापानबाट ल्याएर चीनको भनी प्रचार गरिएका हुन् । साम्यवादी व्यवस्थाले चीनलाई कंगालबाहेक अरू केही गरेको छैन भन्थे । चीन सचित्रले हामीमा कम्युनिस्टप्रति आकर्षण गथ्र्यो । अहिले पनि समाजवादी व्यवस्थाविरूद्धमा प्रतिधु्रवीय कोणबाट त्यही प्रवृत्तिका प्रचार गरिन्छन् । चीनको विगत र वर्तमान कुनै पक्षले नछुने एकथरी मानिस अहिले अमेरिकी राष्ट्रपति र तिनका रखौटीको गीत लेखेर चाकरी बजाउनमै श्रेयकर ठान्छन् । ‘यो रेल प्रायोजित क्षेत्र हुँदै साइकलझैं पक्कै पनि हिँडेको होइन होला त ?,’ झ्यालबाट बाहिर ग्रामीण बस्ती नियाल्दै महेन्द्र विष्ट भन्दै थिए । हाम्रो देश कहिले यस्तो होला ? मैले चन्द्रकिशोरतिर फर्कंदै भनेको थिएँ । ‘कहिले, कहिले ! यत्रो विकास गर्न भारतलाई नै मुस्किल छ, धेरै गाह्रो छ भारतलाई पनि,’ चन्द्रकिशोर भन्दै थिए ।

रेल हुइँकिरहेको थियो । तर, वायुयानको जति घच्याकघुचुक पनि थिएन । भारतमा धूवाँ फाल्दै, छेरुवा गोरुझैं पटरीमा बिस्ट्याउँदै छक्छक् आवाजसहित घस्रिने रेलमा चढिन्थ्यो । अंग्रेजले बनाएको भारतीय रेलसेवा विहारका जेलका भुँडे सिपाहीजस्ता हुन्थे । चीनमा पनि पुराना रेल होलान् र भारतमा पनि विद्युतीय रेलसेवा छ । तर, समग्रमा यो रेलसेवा अद्वितीय लाग्यो । बाटोमा स–साना पहाडका थुम्का देखिन्थे । रेल घरीघरी सर्पझैं सुरुङमा पस्दै निस्कँदै गरिरहेको थियो । QUFU East बिसौनीमा वाहन रोकिएको बेला फिनिक्सले पश्चिम दिशातिर देखाउँदै ‘पूर्वीय दर्शनका महान् चिन्तक कन्फ्युसियसको जन्मस्थान उ त्यता पर्छ,’ भनेकी थिइन् । डिब्बाको पर्दाबाहिरको अधिकतम तापक्रम २५ डिग्री सेल्सियस देखिँदै थियो ।

चिनियाँ साथीहरूले तयारी खाना बाँडे । मलाई साथीहरूले दारुका लागि करकर गरिरहेका थिए । आफू जसरी खुसी भइन्छ, त्यसरी नै सबै खुसी हुन्छन् भनेर सोच्नु पनि वस्तुवादी नहुँदोरहेछ । अझ आफ्नो खुसीका लागि अरूलाई अनावश्यक हुलमुल गरिरहनु त परपीडक मनोवृत्तिजस्तै लाग्थ्यो । शुभेच्छा संग्रौलाले ‘सरले खानुहुन्न हिजो त हाम्रा लागि सहभागी हुनुभएको पो त, करकर नगरौं न,’ भन्दै थिइन् । त्यसपछि साथीहरू चुप लागे । टोलीमा सबैभन्दा कम उमेरकी संग्रौलामा उच्चचेतना र अरूको मनोविज्ञान बुझेर व्यवहार गर्ने विशिष्ट गुण अनुभूत गरेको थिएँ । सायद ‘हुने बिरुवाको चिल्लो पात’ भनेको यसैलाई होला । म भने अर्काको देशमा स्वास्थ्य बिग्रेर दुःख पाइएला भनेर सतर्कतापूर्वक खानपान गरिरहेको थिएँ ।

बिहान ११ बजे दक्षिण नानजिङ पुगेका थियौं । नानजिङ आउनु अगाडिका बस्ती नेपालजस्तै लाग्थे । झरी परिरहेको थियो । किसान जलमग्न खेत खन्दै, धान रोप्दै, बीउ काट्दै गरिरहेका थिए । ठाउँ–ठाउँमा ट्याक्टर देखिन्थे । चीन सरकारले अमेरिकालाई ऋण दिएर ब्याज खाने सुदखोर पेसातिर मन डुलाउनुभन्दा ग्रामीण क्षेत्रको सबलीकरणमा ध्यान केन्द्रित गरे हुन्थ्यो भन्ने लाग्यो । त्यसो भन्ने अलिकति अधिकार हामीलाई छ किनकि नेपाली अध्यक्ष माओको रातो चीन कमजोर भएको देख्न चाहन्न । रसिया कमजोर भएको क्षण पचाउनसमेत हामीलाई गाह्रो भएको थियो । त्यसो त चीनले ग्रामीण क्षेत्रमा ध्यान केन्द्रित गरेको, प्रतिव्यक्ति आय बढाउने, चुनौती रहेको र धनी–गरिबबीचको बढ्दो खाडल चिन्ताको विषय भएको चिनियाँ अधिकारीहरू नै बताउँछन् । लाखौं भिखारी सडकमा असरल्ल छाडेर, लाखौं नागरिकलाई अरबको मरुभूमिमा धकेलेर, जमिन मागिरहेका आदिवासीलाई नरसंहार गरेर भारतीय शासकवर्गले झैं सुदखोरीको धनले चन्द्रमाको यात्रा गर्नु भनेको मेक्सिम गोर्कीले भनेझैं ‘श्रमिकको रगत चुसेर रखौटीका लागि सुनको कोपरा किन्नु’ जस्तै अनैतिक हुन्छ ।

वाहनभित्रको टेलिभिजन पर्दामा उत्तर सुचाउ नजिकिएको संकेत आइसकेको थियो । फिनिक्सले ‘हामी सुचाउ सहरको नजिकै आइपुगेका छौं । मात्र ५ मिनेटमा यो रेलले २५ किमि दूरी पार गथ्र्यो । १२ः५ मा हामी उत्तर सुचाउ बिसौनीमा पुगेका थियौं ।

रेलको बाहिरी आँगनमा रातो झन्डा फहराउँदै हाम्रा नयाँ पथप्रदर्शक सोङ उभिएका रहेछन् । फिनिक्स र सोङको पहिले नै सम्पर्क भएको बुझिन्थ्यो । सोङले हामीलाई पर्यटक वाहनमा चढाए । त्यसपछि चिनियाँ भाषामा ‘अहिले हामी सुचाउको उत्तरपट्टि भेगमा छौं । पहिला खाना खान जान्छौं । त्यसपछि The Hujmmble Administrotows Garden हेर्न जानेछौं,’ जानकारी दिए । पथप्रदर्शक सोङ पर्यटक लिएर नेपाल पनि गएका रहेछन् । चीनको सुचाउलाई ‘पूर्वको भेनिस’ भनिन्छ । सेक्सपियरको ‘भेनिसको व्यापारी’ कथाका विषयमा कुराकानी भयो । त्यतिबेलासम्म हामी सहरको मुख्य भागमा प्रवेश गरिसकेका थियौं ।

सडक सञ्जाल माकुराको जालोझैं देखिन्थ्यो । रेलको लिक त्यत्तिकै थिए । सडकको दायाँ–बायाँ हरियाली र रंगीचंगी फूल ढकमक्क फूलेका देखिन्थे । शरीरको नशाझैं यत्रतत्र नदी नै नदी, ताल, सिमसार साँच्चै अद्भुत लाग्यो सुचाउ सहर । यो सहरलाई ‘चीनको स्वर्ग’ पनि भन्दा रहेछन् । हिन्दु पौराणिक ग्रन्थमा उल्लेख भएको इन्द्रको स्वर्ग यही हो कि जस्तो लाग्थ्यो । सुचाउ होटलमा खाना खाएपछि रेनमिन विश्वविद्यालयअन्तर्गत सुचाउ कलेज होटलको आ–आफ्नो कोठामा झोला बिसाएर अपराह्न २ बजेतिर Humble Park हेर्न निस्क्यौं । निकुञ्जमा अठारौं शताब्दीका ढुंगाका घर थिए । ती प्राचीन जीर्ण घरलाई धकेल्दै नदीहरू बगिरहेका थिए । तीन सय वर्ष अगाडिदेखि नदी र बस्ती कुम जोरेर बस्दै आएका रहेछन् । पर्यटक जलविहार गरिरहेका देखिन्थे । प्राचीनताका दृष्टिले महत्वपूर्ण होला तर कला सौन्दर्यका दृष्टिले त्यति धेरै महत्वपूर्ण महसुस भएन । थाहा छैन मैले नबुझेको पनि हुन सक्छ । तलाउ र कमल फूल सुन्दर लाग्थे । सम्राटको प्राचीन दरबार आधुनिकतासँगै महत्वपूर्ण लाग्दै गएको थियो । बेलुकाको खाना खाएर होटलमा आयौं । आज शाकाहारी र मांशाहारीका लागि अलग–अलग टेबल थिए । शाकाहारी तीनजना मात्र रहेछन् । साथीहरू भन्दै थिए, ‘एकजना त हाइब्रिड शाकाहारी हुन् । म, माधव र स्वेच्छा शाकाहारी समूहमा थपियौं । खाना खाइसकेपछि क. ताङले ‘चोबा–चोबा’ भनेपछि हामी बस चढ्यौं । यसपटक भने सबै टोली एउटै तलामा थियो । क. ची पिङले सुचाउमा पनि रेनमिन विश्विद्यालयको सानो शाखा छ । त्यही बासको व्यवस्था हुन्छ भनेका रहेछन् । यहाँ पुगेर यसको विशालता, वैभवता र कला पक्ष हेर्दा बेइजिङ शाखा हो कि सुचाउ हो ? छुट्याउन गाह्रो थियो ।

अबेर कोठामा पुगियो । सहरको यत्रतत्र पोखरी र नदी बग्दा पनि यो सहर भासिएको, बगेको छैन भनिन्छ । प्राचीन सामन्ती युगका कला, कौशल र आधुनिक भौतिक संरचना निर्माणभन्दा सहरभरि माकुराको जालोझैं सडक, नदी, धाप, सिमसार, तलाउ र मानव बस्ती कसरी मिलेर बसेका होलान् । यो पक्ष अद्भुत लाग्यो । साँझपख रोकिएको झरी फेरि सुरु भएको छ । आज केही लेख्ने जाँगर पनि चलेन ।

Xian Jiao long- Livepool Indezention al Conference Center

उत्तर सुचाउ, रेनमिन रोड, चीन

२०७१ असार २/२०१४ जुन १६

 

 

प्रतिक्रिया दिनुहोस्