आईसीयू र भेन्टिलेटर स्थापनामा पनि गुटको राजनीति



ओखलढुंगा । जिल्लामा कोभिड सङ्क्रमितलाई उपचार गर्न स्थापना गर्न लागिएको आईसीयू र भेन्टिलेटरमा पनि गुटको राजनीति सुरु भएको छ । स्वास्थ्य मन्त्रालयले पठाएको निर्णय र परिपत्र रातारात परिवर्तन गरी पहुँच देखाएर जस लिने होड चलेको हो ।

स्वास्थ्य मन्त्रालयले आइतबार सदरमुकाममा कोभिड १९ केयर युनिट सञ्चालन रहेको मिसन अस्पतालमा पाँच शय्याको आईसीयू र दुईवटा भेन्टिलेटर जडानका लागि स्रोत सुनिश्चित भएको पत्र पठाएको थियो । सो पत्रअनुसार उपकरण खरिदका लागि थप प्रक्रिया अगाडि बढाउन लाग्दा सोमबार निर्णय परिवर्तन भई अर्को परिपत्र गरेको छ ।

मन्त्रालयले अर्को परिपत्रमा आईसीयू र भेन्टिलेटर जिल्ला अस्पताल रुम्जाटारमा स्थापना गर्ने निर्णय गरेको उल्लेख छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले गत जेठ ३ गते सामुदायिक (अस्पताल मिसन)मा भेन्टिलेटर जडान गर्न स्वास्थ्य मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको थियो ।

मिसन अस्पतालले यसअघि कोभिड १९ केयर युनिट सञ्चालन गरेर २० बेडमा अक्सिजनसहित कोरोना संक्रमितको उपचार सुरु गरिसकेको छ । सोही कारणले भेन्टिलेटर आवश्यक भएको माग गरेको थियो । तर, त्यस बैठकको निर्णयमा विघटित प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारको उपस्थिति थियो ।

माधव, झलनाथ खनाल समूहका यज्ञराज सुनुवारको पहलमा आईसीयू र भेन्टिलेटर मिसन अस्पतालमा जडान हुने देखिएपछि ओली समूहका नेताहरूले रातारात निर्णय परिवर्तन गराएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ १४ गतेको चलानी नम्बर २३४९ को पत्रबाट अर्थ मन्त्रालयले स्रोत सुनिश्चितताको पत्र पठाएको थियो । पत्रमा पाँच आईसीयू बेडसहित दुई भेन्टिलेटर छिटो तरिकाबाट खरिद गरेर जडान गर्न र सिर्जित दायित्य प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालयमार्फत भुक्तानी माग गर्न भनिएको थियो । सो निर्णयपछि सदरमुकामवासीले खुसी व्यक्त गरेका थिए । तर, एकैरातमा निर्णय परिवर्तन गर्दै मिसन अस्पताल ओखलढुंगा सोब्रुको सट्टा ओखलढुंगा जिल्ला अस्पताल रुम्जाटारमा स्थापना गर्ने परिपत्र गरेको हो । जब कि रुम्जाटार अस्पतालले आईसीयू र भेन्टिलेटर माग गरेको थिएन ।

मन्त्रालयले रातारात निर्णय परिवर्तन गरी परिपत्र फेरिएको विषयमा मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आफू अनभिज्ञ भएको बताए । उनले विस्तृत कुरा डा. समीरलाई थाहा हुने भन्दै पन्छिए ।

मन्त्रालयकै कर्मचारीका अनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेलको दबाबमा परिपत्र फेरिएको हो । ओली समूहका प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बीरबाबु गुरुङको दबाबपछि उपप्रधानमन्त्री पोखरेलले निर्णय परिवर्तन गर्न लगाएको उनले बताए ।

जिल्ला अस्पताल रुम्जाटारले अक्सिजन प्लान्ट स्थापना गर्न आएको बजेट पनि यसअघि फिर्ता पठाएको थियो । अर्थ मन्त्रालयले यो वर्ष फेरि २५ लाख निकासा गरेको छ । सरकारी स्वामित्वका स्वास्थ्य उपकरण सरकारी अस्पतालमै राख्नुपर्ने माग आएकाले निर्णय सच्याएर परिपत्र पठाएको ओली समूहका नेताको दाबी छ ।

सर्वसाधारण र नागरिक समाजका प्रतिनिधिले विषम परिस्थितिमा जिल्लामा स्थापना हुन लागेको आईसीयू र भेन्टिलेटरमा समेत फोहोरी राजनीति नरोकिएको बताएका छन् ।

जिल्लाबाट निर्णय गरी पठाएको पत्र । स्वास्थ्य मन्त्रालयले एक दिनको अन्तरमा पठाएको दुईवटा पत्र

प्रतिक्रिया दिनुहोस्