मुन्धुम अध्येता भोगीराज चाम्लिङ मतदान गर्न एभेन्जर मोटरसाइकलमै घर (हलेसी–तुवाचुङ नगरपालिका–५ खोटाङ) पुगे ।
मुन्धुम अध्येता चाम्लिङले मतदानमात्रै गरेनन्, घरमा रहँदा समाजसेवा गरे । उनले घरायसी कामसमेत गर्न भ्याए । घरबाट मोटरसाइकलमै घाँस राखेर बेंसी झारे । भैंसीलाई घाँस बोकेर बेंसी झरेका उनले बेंसीबाट बदाम, विकासी मेवा बोकेर घर ल्याए ।
कविचन्द्र राईले खिचेको तस्बिर चाम्लिङले सामाजिक सञ्जाल फेसबुकमा ‘पोस्ट’ गरेपछि धेरैले धेरैखालका प्रतिक्रिया दिएका छन् । तस्बिर हेरेर विश्वमणि पोखरेलले प्रतिक्रिया लेखेका छन्, ‘कम्बाइन अफ मोडर्न टेक्नोलोजी एन्ड ट्रेडिसनल वर्क ।’
सामाजिक सञ्जाल फेसबुकमा गोपाल राई भन्छन्, ‘लु है साह्रै दुःख पाउनुभएछ ।’
नारायण मरासिनीको भनाइ छ, ‘घाँस बोक्नुभन्दा भैंसी नै बोकेर घाँस भएको ठाउँमा लगेको भए त घाँस काट्न र बोक्न पर्दैनथ्यो नि भोगीराजजी ।’
जनक सर्मिला चाम्लिङ खुसी व्यक्त गर्छन्, ‘प्रगति धेरै गर्नुभएछ हजुर ।’
‘हे–हे । यो मोटरसाइकलको बेइज्जत नगरुङ न हौ भाइ,’ चण्डिका प्रवासी दुःख व्यक्त गर्छन्, ‘दुःख लाग्छ ।’
क्षितिज बान्तवा राई सोध्छन्, ‘समाजवाद आइसक्यो ?’
‘तेत्रो सकस हुँदा पनि गाला उस्तै भुँडी उस्तै,’ वीरेन्द्र राई व्यंग्य गर्छन्, ‘के खाँदा चाउरो पेट, दाउरो अनुहार हुन्न हजुर ? हाम्लाई परो चासो । भन्दिन परो ।’
दुर्छिम उच्च माध्यमिक विद्यालय दुर्छिममा अध्यापनरत शिक्षक बगम राई सुझाउँछन्, ‘घाँस त डोकोमा पो बोकिन्छ हौ दाइ ।’
अमित चाम्लिङले मोटरसाइकलमा घाँस बोकेको देखेपछि सवारीसाधनवाहकलाई बधाइ छ भनेका छन् ।
‘लु है राम्रो काम गर्नुभएछ,’ गायक तथा संगीतकार राजु एन राईले भने, ‘सूचना पाइयो । अरू त के सहयोग गर्नु, बदाम खानचाहिँ सघाउँला है सर ।’