‘आफन्त भेटघाटका लागि उदयपुरको गाईघाट झरेको थिएँ । त्यहाँ पत्रकार महेश्वर चाम्लिङसँग भेट भयो,’ खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय प्रदेश नम्बर १ विराटनगरका माननीय मन्त्री रामकुमार राई ‘पासाङ’का निजी सचिव गणेश कार्कीले अतीत सम्झे, ‘पढाइसँगै कलम पनि चलाउनुपर्छ । कलम चलाइयो भने चौतर्फी विकास हुन्छ । व्यक्तिगत क्षमता अभिवृद्धि हुन्छ । आर्थिक लाभ धेरै नभए पनि पहिचान र जीविकोपार्जनका लागि भरथेग गर्न सक्छ । पत्रकार चाम्लिङले त्यसै भन्नुभएको थियो ।’
कार्की सहमत भए । लगत्तै माझखर्क साप्ताहिकमा जोडिए । त्यतिबेला स्नातक तहमा अध्ययन गर्थे । गाईघाटबाट फर्केपछि समाचार लेख्न थाले । हलेसीमा लागेको मेलासम्बन्धी आफूले पहिलोपटक समाचार लेखेको धमिलो सम्झना छ । ‘सूचना संकलन गरेर समाचार लेखेपछि सम्प्रेषण गर्न त्यति सजिलो थिएन,’ खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय प्रदेश नम्बर १ विराटनगरका माननीय मन्त्री रामकुमार राई ‘पासाङ’का निजी सचिव कार्कीले सुनाए, ‘समाचार तयार पारेपछि प्रकाशचन्द्र गिरीले सञ्चालन गर्नुभएको टेलिफोन गर्न हलेसी पुग्थें । टेलिफोनबाटै समाचार टिपाउँथें ।’

केही समयपछि मोबाइल प्रयोग गर्न थाले । मोबाइल प्रयोग गर्न थालेपछि समाचार सम्प्रेषण गर्न सहज भयो । कहिलेकाहीं फ्याक्सबाटै समाचार सम्प्रेषण गर्थे । ‘सूचना संकलन गर्न जति दुःख हुन्थ्यो,’ उनले विगत कोट्याए, ‘समाचार तयार पारेपछि सम्प्रेषण गर्न त्योभन्दा दोब्बर दुःख थियो ।’
एउटा समाचार टिपाउन कम्तीमा पाँच मिनेट लाग्थ्यो । त्यो पनि छोटो समाचार । ‘मैले टेलिफोनमार्फत सुनाएको समाचार उताकाले टिप्थे,’ उनले सम्झे, ‘त्यतिबेला टेलिफोन गर्दा प्रतिमिनेट ७ रुपियाँसम्म लाग्थ्यो । एउटा समाचार टिपाउँदा ३५ रुपियाँसम्म खर्च हुन्थ्यो ।’

आफूले टिपाएको समाचार प्रकाशित भएको पत्रिका हुलाकमार्फत आउँथ्यो । आफ्नो ‘बाइलाइन’मा प्रकाशित समाचार पढ्दा कम्ती आनन्द लाग्दैनथ्यो,’ उनले खुसी व्यक्त गरे, ‘शब्दअनुसार समाचारको पारिश्रमिक पाइन्थ्यो । त्यतिबेला समाचार खासै पाइँदैनथ्यो । पत्रकारिता गरेर जीविकोपार्जन नभए पनि व्यक्तिगत क्षमता अभिवृद्धि भयो । मेरो जीवनको चौतर्फी विकासका लागि पत्रकारिताको योगदान छ ।’
पत्रकारितालाई निरन्तरता दिएको भए जीविकोपर्जन गर्न सक्थें भन्ने उनलाई लागिसकेको थियो । पत्रकारितामा तीन वर्षसम्म रमाएका उनले खोटाङकै पहिलो रेडियो रूपाकोटलाई पनि समाचार पठाउँथे । आधिकारिक संलग्नता नभए पनि उनले स्थापनाकालतिर गाउँठाउँमै खुलेको रेडियो रूपाकोटलाई समाचार पठाएका हुन् ।
पत्रकारितामा रमाइरहेको अवस्थामा उनी बुलापन्थे माध्यमिक विद्यालय धितुङमा जोडिए । पत्रकारिताले निरन्तरता पाइरहँदा शिक्षण पेसामा लागे । यो ०६२ अन्तिमतिरको कुरा हो । बुलापन्थे माविबाट ०६४ मा विजखर्क पुगे । उनी गणितको शिक्षक । गणितको शिक्षक भएकाले व्यस्तता बढ्यो । विद्यालयमा गणित पढाउनु छँदै थियो । ट्युसन पनि पढाउनुपथ्र्यो ।

शिक्षणमा व्यस्त भएपछि समाचार संकलनका लागि समय पुगेन । उनले सम्पादक महेश्वर चाम्लिङलाई आफू शिक्षण पेसामा अति व्यस्त भएको इमानदारीपूर्वक जानकारी गराए । तीन वर्ष पत्रकारिता गरेका उनी शिक्षण पेसामै ‘होलटाइमर’ बने ।
संवत् ०६७ मा लोकसेवा आयोगले पाठ्यक्रम परिवर्तन गर्यो । खरिदार तहको परीक्षामा गणित र विज्ञान विषय समेटियो । गणित र विज्ञान विषयका शिक्षकले लोकसेवामा सजिलै नाम निकाल्न सक्छन् भन्ने हल्ला व्यापक चल्यो ।
निजामती कर्मचारीतिर रुचि पटक्कै थिएन । ‘तर, व्यक्तिगत छवि जोगाउन लोकसेवा तयारीतिर लागें,’ उनले नढाँटी जानकारी गराए, ‘दुई वर्षको तयारीपछि खरिदारमा नाम निकालें । दोस्रोपटकमा नाम निकालेर खरिदारको भूमिका निर्वाह गरेको ०७८ माघ १७ गते ९ वर्ष पूरा भयो । बढुवाको प्रक्रियामा छु ।’
संवत् ०६२ देखि ०६५ सम्म पत्रकारको भूमिका रहेका उनी छिट्टै नायव सुब्बामा बढुवा हुँदै छन् । पहिले पत्रकार, अहिले खरिदार गणेश कार्की हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ खोटाङवासी हुन् ।