सगरमाथा ओहोर–दोहोर गर्नु पानी–पधेरोझैं


काठमाडौं । अनकन्टर हिमपहिरो ओहोर–दोहोर गर्नु आरोही कामीरिताका लागि पानीको पधेरोझैं लाग्छ । साहसिक आरोहण गरेर चुनौतीको पहाड छिचोल्नु कम जोखिमयुक्त काम होइन । तर, हिम्मत र साहस भएका शेर्पा आरोहीलाई त्यस्ता कुनै अप्ठ्याराको प्रवाह हुँदैन, तब न पुग्छन्, विश्वको अग्लो चुचुरो अनि कीर्तिमान थप्दै जान्छन् । तिनै साहसी आरोही हुन् कामीरिता शेर्पा, जसले सर्वोच्च शिखर सगरमाथाको २४ पटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभयो ।

आरोहणमै जीवन बिताउने यी आरोहीको अझै जोश, जाँगर घटेको छैन । उमेरले ५० टेकेका उनलाई २४ पटक सगरमाथाको चुुचुरोमा पुग्दा पनि एउटै चीजको अभाव खड्किरहेको छ, त्यो हो शिक्षा । समयमा राम्रोसँग शिक्षादीक्षा नपाउँदा विश्व कीर्तिमानको उपाधिले पनि उनको जीवनमा खुसी छर्न सकेको छैन । उनले भने, ‘‘मेरो ४९ वर्षे यात्रामा २४ पटक सगरमाथाको चुचुरोमा पुगेर विश्व कीतिर्मान बनाएँ तर जीवनमा एउटै खड्केको विषय भनेको पढाइ हो । पढाइ लेखाइ नभएपछि अलि गाह्रो हुँदोरहेछ । जोखिमयुक्त हिमालमा मात्र काम पाइने ।”

विश्व कीर्तिमान पाउँदा पनि पढाइ लेखाइलाई नै जीवनको कमजोरी ठान्ने कामीरितालाई यसमा पछुतो भने छैन । ‘‘सायद पढेलेखेको भए म २४ पटक सगरमाथा आरोहण गर्दिनथें होला,” उनले भने। सगरमाथाको विश्व कीर्तिमान कायम गरी नेपाललाई विश्वसामु चिनाउन पाउनु उनका लागि सबैभन्दा ठूलो खुसीको विषय हो ।

हिमाल आरोहणलाई पनि खेलका रूपमा राज्यले लिइदिए यसको विकास र आरोहीको संरक्षण हुने उनको बुझाइ छ । त्यसैले आरोहणलाई अन्तर्राष्ट्रिय खेलका रूपमै स्थापित गरिनुपर्नेमा कामीरिताको जोड छ । “सगराथा आरोहण विश्वको साहसिक मुख्य खेलको एक नम्बरमा पर्छ । हैन भने सन् २००८ मा चीन सरकारले विश्वकप आयोजना गर्दा किन सगरमाथाको चुचुरोबाट बत्ती बाल्यो त ? त्यसैले आरोहणलाई अन्तर्राष्ट्रिय खेलका रूपमा लिनुपर्छ, सरकारले पनि आरोहीलाई राष्ट्रिय खेलाडीका रूपमा व्यवहार गरिदिए राम्रो हुन्थ्यो ।”

आरोहीको भविष्यलाई दृष्टिगत गर्दै सरकारले विशेष व्यवस्था गरेको खण्डमा नेपालको आरोहणको भविष्य सुनौलो रहेको उनको भनाइ छ । शेर्पाले भने, “सरकारले आरोहणलाई बलियो बनाएर आरोहीको हेरचाह गर्नुपर्ने अवस्था छ । किनकि नेपालमा पर्यटन भित्र्याउने मुख्य भूमिका शेर्पा र हिमाल हो, यिनलाई सुरक्षित गर्नैपर्छ । कामको विशेषज्ञताले विश्वले आरोहणमा शेर्पालाई विश्वास गर्छन्, त्यसैले शेर्पा सम्पत्ति हुन् भनेर राज्यले संरक्षण गर्नुपर्छ ।”

उनीबाहेक सगरमाथा आरोहणको रेकर्डमा २२ पटक आरोहण गरेको एकजना र २१ पटक आरोहण गरेका तीन आरोही छन् । आरोही कामीरिताले २४ पटकको सगरमाथा यात्रामा कहिल्यै विनाअक्सिजन जानुभएन । किनकि रेकर्डमात्रै राख्न विनाअक्सिजन आरोहण गर्नु जीवनको सबैभन्दा जोखिमपूर्ण काममात्रै होइन, देशका लागि पनि नराम्रो सन्देश दिनु हो । करोडौं खर्च गरेर आउने विदेशीलाई सगरमाथाको चुचुरोमा पुर्याएर सकुशल ल्याउन सके उनीहरूले बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने शेर्पाको भनाइ छ । त्यसैले सकारात्मक सन्देशका लागि पनि सुरक्षित आरोहणलाई ध्यान दिनुपर्ने उनको भनाइ छ ।

पछिल्लो पुस्ताका आरोही हिमालका लागि अनुभवी र योग्य गाइड छन् । मौसमले साथ दिएमा आरोहणलाई सफल तुल्याउन उनीहरूको महत्वपूर्ण भूमिका हुनेछ । कामीरिताको अनुभवमा आरोहीलाई नेपालमा त्यति सम्मान छैन, विदेशमा धेरै इज्जत गर्छन् । “हामी काम गर्नेले के कमाउँछ, त्यही गिनिजबुकको रेकर्ड कमायो त्यहीँ हो । विदेशमा धेरै सम्मान छ । विमानस्थलदेखि नै सेक्युरिटी कार्ड दिन्छन् विदेशीले,” चीन, भारत, दुबई, रसिया, अमेरिकालगायत धेरै मुलुकको भ्रमण गरिसकेका कामीरिताले सुनाए ।

सोलुखुम्बुको थामेगाउँमा जन्मेका ४९ वर्षीय कामीरिता शेर्पाले यसअघिको आफ्नै २३औं पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाए । बाबुआमाको अभिभावकत्वमा काठमाडौंको पारिवारिक जीवन गुजारिरहेका कामीरिताको श्रीमतीसहित एक छोरा र एक छोरी छन् । सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका थिए । उनले चारपटकसम्म एकै याममा दुई–दुईपटक सगरमाथा चढेको रेकर्ड छ । कामीरितापछि हालसम्म आप्पा शेपा, ङिमनुरु शेर्पा र फुर्वाटासी शेर्पाले समान २१ पटक तथा आङदोर्जी शेर्पा, छेवाङङिमा शेर्पा १९ र मिङ्माछिरी शेर्पाले समान १९ पटक सगरमाथा आरोहणको कीर्तिमान छ । त्यस्तै लाक्पारिता शेर्पाले १७ र निमा गोम्बु शेर्पाले १६ पटक सगरमाथा आरोहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्