काठमाडौं । पशुपति मन्दिरमा भट्ट नियुक्त हुँदा ११ शिवलिंगको दर्शन गरेरमात्रै मन्दिर प्रवेश गर्नुपर्ने नियम छ । ती ११ शिवलिंगमध्ये चारवटा व्यक्तिगत घरभित्र परेकाले अरू दशनार्थीमात्रै होइन, स्वयम् भट्टले दर्शन गर्न पाइरहेका छैनन् ।
प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गत विश्व सम्पदा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन तथा अनुगमन उपसमितिको २०७७ चैत २ बसेको बैठकमा पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य–सचिव चेतोनाथ गौतमले लिच्चछविकालमै यी शिवलिंग बनेकाले घरहरू पछि बनेका सहज अनुमान गर्न सकिने बताए । पशुपति क्षेत्रमा रहेका कतिपय स्मारकको संरक्षण हुन नसकेको गौतमले बताए । कोषको क्षेत्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै व्यक्तिगत घर, सडकलगायतका संरचनाका कारण संरक्षण गर्न कठिन भएको हो । कतिपय मन्दिर घरबीचमा घेरिएको, कतिपय भूकम्पका समयमा क्षति हुँदा पुनःनिर्माण हुन नसकेका र कतिपय सत्तल संरक्षण आवश्यक रहेको कोषले जनाएको छ ।
कोषले यस क्षेत्रको आगामी एक सय वर्षका लागि गुरुयोजना बनाउन लाग्दा यहाँ जग्गाको पुनः नापी गर्नुपर्ने र स्मारकको संरक्षण आवश्यक भएको जनाएको छ । कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले यस क्षेत्रमा पहिले धेरै किसिमका जात्रा, पर्व सञ्चालन भए पनि अहिले कतिपय हराउन थालेका बताए । मन्दिरसँगै आस्थाका हिसाबले जोडिएको बागमती नदी फोहोर भएकाले यसको सफाइ पनि आवश्यक भएको खतिवडाको भनाइ छ । विश्व सम्पदा क्षेत्रमा सूचीकृत यस क्षेत्रको विकासमा विभिन्न निकायबीच समन्वय आवश्यक भए पनि अभाव देखिएको छ । यस क्षेत्रमा जुनसुकै समस्या देखिँदा पहिले सबैले कोषलाई भन्ने गरे पनि धेरै कुरा कोषको अधिकार क्षेत्रमा पर्दैन ।
मन्दिरको जग्गा अहिलेसम्म कोषका नाममा नभएकाले त्यसलाई ल्याउन लागिएको छ । उनले भने, “यहाँका कतिपय मन्दिर, सत्तल, जात्रा पनि कतिपय गुठीको त कति पुरातत्वको स्वामित्वमा छ ।” कोषका पूर्वसदस्य–सचिव गौतमले यस क्षेत्रमा कतिमा मन्दिर भएका मूर्ति नभएको, कतिमा मूर्ति भएका मन्दिर नभएका र कतिपयमा दुवै भए पनि नियमित पूजाआजा नभएको बताए । यहाँ रहेका कतिपय निजी गुठीका मन्दिरमा नियमित पूजा नहुँदा कोषले त्यसको व्यवस्था गरिरहेको छ ।
चक्रपथको चाबहिल–गौशाला सडक विस्तारक्रममा यहाँका धेरै स्मारक नोक्सानी पुग्न सक्ने देखिएको उनले बताए । यहाँका सडकलाई हलुका सवारीसाधन चल्ने सडकका रूपमा विकास गरी वैकल्पिक सडक खोजी गरिनुपर्ने उनले बताए । सबैभन्दा ठूलो समस्याका रूपमा बहुस्वामित्व रहेको उनले औंल्याए । गौशालास्थित प्रहरी कार्यालयले यो क्षेत्रसँगै अरू हेर्नुपर्ने हुँदा पर्याप्त ध्यान दिन नसकिरहेको उनको भनाइ छ । उनले भने, “पशुपतिमा बिहान सबेरैदेखि साँझसम्म मन्दिर, घाट र जंगल क्षेत्रमा मानिस हुने भएकाले व्यवस्थापनका लागि प्रहरीको छुट्टै सेल खडा गर्नुपर्छ ।”
समितिकी सभापति पवित्रा निरौला खरेलले पशुपति क्षेत्रमा भएका गलत कुराको अन्त्य गर्ने जिम्मेवारी कोषको भएको बताइन् । शिवलिंग व्यक्तिगत घरभित्र रहेको विषयमा सो जमिन पशुपतिनाथको भए कोषले लिनुपर्ने र व्यक्तिको भए कसरी दर्शन गर्ने भनी बाटो खोल्नुपर्नेमा उनको जोड छ । कोषले सबै सम्पत्तिको खोजी गरी एकीकृत तथ्यांक राख्नुपर्नेमा उनले बताइन् । उनले भनिन्, “गुमेका जग्गा कहाँ–कहाँ कति छ भनी खोज्न जरुरी छ ।”
उपसमितिकी संयोजक सुजिता शाक्यले पशुपति क्षेत्रमा भट्ट र भण्डारीको सेवा–सुविधामा भिन्नता रहेको बताइन् । उपसमितिले विश्व सम्पदा क्षेत्रमा सूचीकृत भएका र नभएका विभिन्न सम्पदाबारे अध्ययन गरिरहेको छ । शाक्यले भनिन्, “अध्ययन सकिएपछि सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाउने योजना छ ।” गुठी सस्ंथानका प्रमुख पुरातत्व अधिकृत सुरेश श्रेष्ठले सम्पदा क्षेत्रमा विभिन्न निकायबीच समन्वय हुन नसकेकाले समन्वय गर्ने संयन्त्र आवश्यक भएको बताए । सम्पदा क्षेत्रमा योजना बनाउँदा सरोकार राख्ने सबै निकाय एकै ठाउँमा बसेर नदोहोरिनेगरी बनाउनुपर्नेमा उनको जोड छ । उनले भने, “सबै निकायको आ–आफ्नो कानुन भए पनि समन्वय गर्ने कानुन छैन ।”
समितिका सदस्य नारदमनि रानाले पशुपतिनाथले हामी सबैको रक्षा गरे पनि हामीले पशुपतिको रक्षा गर्न नसकिरहेको बताए । कोषले सम्पत्ति यति छ भनी एकीकृत तथ्यांक राख्नुपर्ने रानाको सुझाव छ । कोषले धर्मशालामा होटल चलाउन दिएको भनी समितिमा उजुरी परेको छ । मन्दिरमा चढाइएका भेटी, प्रसाद कति आयो र त्यो कहाँ गयो भनी पारदर्शी रूपमा राखिनुपर्नेमा उनको जोड छ । उनले भने, “पशुपतिनाथ हिन्दु धर्मावलम्बीको आस्थासँग जोडिएको ठाउँ भएकाले त्यसैै नाममा आएका कुरा पारदर्शी हुनुपर्छ ।”
समितिका सदस्य सरलाकुमारी यादवले शिवलिंग व्यक्तिगत घरमा हुँदा त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भनी योजना बनाउनुपर्नेमा जोड दिइन् ।