दुर्छिम (खोटाङ) । धन हुनेसँग मन हुँदैन । मन हुनेसँग धन हुँदैन । तर, मन र धन दुवै भएका मनकारी विरलै पाइन्छन् । धन र मन दुवै भएका मनकारीलाई भेट्न टाढा जानै पर्दैन ।
हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम पुगे धन र मन दुवै भएका मनकारीको दर्शन गर्न पाइन्छ । धन र मन भएकारू अरू कोही नभएर युवा नेता रूपेन्द्रकुमार राई हुन् । तरुण दल खोटाङ कोषाध्यक्ष राई राजनीतिभन्दा बढी समाजसेवामा रमाइरहेका छन् । नगरमा नेकपा होस् वा नेपाली काँग्रेससम्बद्ध जोकोहीलाई गच्छेअनुसार सहयोग गर्न कुनै आइतबार पर्खंदैनन् ।
नगरमा विभिन्न दलसम्बद्ध आयोजक रहेर जोकोहीले आयोजना गर्ने विविध प्रतियोगितामा उनी स्वविवेकले सहयोग गर्छन् । सहृदयी युवा नेता सबैका प्रिय बन्दै गएका छन् । सहयोग पाउनेले सहयोग गर्नेकै गुनगान गाउने हुन् । गुन लागेपछि जोकोहीले सहयोग गर्नेलाई बिर्संदैनन् । बिर्सनु पनि हुँदैन । मनमै राखिइरहन्छन् ।
‘बैगुनीलाई गुनले मार्नुपर्छ’ भन्ने नेपाली उखान त्यत्तिकै प्रचलित छ । समाजसेवीको फराकिलो परिचय बनाउँदै गएका युवा नेता रूपेन्द्रकुमार राईले उल्लिखित नेपाली उखान व्यवहारमा लागू गर्दै आएका छन् । उनी आफूलाई मतदान गर्ने मतदातालाई मात्रै छानीछानी सहयोग गर्न मन पराउँदैनन् । त्यसो गरेका पनि छैनन् ।
कतिपय अवस्थामा कसैैले नमागे पनि सहयोग गर्छन् । प्रसंग हो– दुर्छिम माध्यमिक विद्यालयले सहिदको अवसर पारेर गर्न लागेको अन्तरमाविस्तरीय भलिबल प्रतियोगिताको । राजनीतिककर्मी तथा समाजसेवी राईले भलिबल प्रतियोगिताका लागि प्रथम पुरस्कारको राशि प्रायोजन गरेका छन् । प्रथम पुरस्कार राशि २० हजार रहेको छ ।
‘म आफू पनि भलिबल खेलाडी हुँ । खेलाडी भएकाले मात्रै पहिलो पुरस्कार प्रायोजन गरेको होइन,’ युवा नेता राईले सुनाए, ‘खेलाडीका मनोबल उच्च होस् भनेर एउटा खेलाडीले अर्को खेलाडीलाई पुरस्कार प्रायोजन गरेर सहयोग गरेको हुँ । दुर्छिम मावि म पढेको विद्यालय पनि हो ।’
‘माघ १६ देखि हुन लागेको प्रतियोगिताका लागि मामाले २० हजार रुपैयाँ प्रायोजन गरिदिनुभएकोमा अत्यन्तै खुसी लागेको छ,’ हलेसी तुवाचुङ नगरपालिका नगर खेलकुद विकास समिति संयोजक किस्मत राईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘खेलकुदलाई माया गरेर सहयोग गर्नुहुने आदरणीय मामा नेपाली काँग्रेसका युवा नेता रूपेन्द्रकुमार राईलाई मुरीमुरी धन्यवाद । जय खेलकुद ।’
पूर्वपत्रकार तथा साझा पार्टीका नेता रवीन्द्र मिश्रको भनाइ पैंचो माग्दै तुवाचुङ डटकम पनि भन्छ, ‘युवा नेता तथा समाजसेवी रूपेन्द्रकुमार राई यसरी नै सधैं दिन पुगोस् । खान पुगोस् ।’