सर्प सम्झँदा जोकोही डराउँछन् । अधिकांश सर्प विषालु हुन्छन् । देख्नेबित्तिकै मार्न मानिस अग्रसर हुन्छन् । तर, भरतपुर चितवनका सापकोटा परिवार सर्पसँग रमाउँछन् । खेल्छन् । उद्धार गर्छन् । उनीहरू सर्प संरक्षणमा क्रियाशील छन् ।
भरतपुर महानगरपालिका–१५ जयनगरका अनिरुद्र सापकोटाको परिवार सर्प देख्दा निकै खुसी हुन्छन् । भेटिएका सर्प समातेर जंगलमा छाडिदिन्छन् । सापकोटा परिवार सर्पलाई सन्तानसरह माया गर्छन् ।
गाउँघरमा सर्प देखिँदा उनीहरूलाई बोलाइन्छ । उनीहरू उद्धारमा जुटिहाल्छन् । स्थानीयका घरभित्र, आँगनवरपर देखिएका सर्प समात्न जान्छन् । ‘घरमा सर्प पस्यो भन्दै फोन आउँछ,’ उनले भने, ‘सर्पलाई समाउने औजार र बोरा बोकेर जान्छु । १० मिनेटमा उद्धार सकिन्छ । सर्प उद्धार गरेबापत रकम लिन्न ।’
‘सर्प बचाउनुपर्छ । सर्प उद्धार गर्र्दा सन्तुष्टि मिलेको छ,’ उनले थपे, ‘सर्प जोगाउन सकिएन भने मानव अस्तित्व सकिन्छ ।’ सर्प लोप भएमा भावी सन्ततिले कथाका रूपमा कल्पना गर्नुपर्ने दिन आउने उनको भनाइ छ ।
जिल्लामा मात्रै होइन, उनले छिमेकी जिल्ला नवलपुरसम्म पुगेर सर्प उद्धार गर्छन् । संवत् २०६३ मा सेवाबाट अवकाश अनिरुद्र सापकोटा नेपाली सेनामा रहँदा सर्पको उद्धार गर्दैनथे । छोरा सुनील सापकोटाबाट प्रभावित भएपछि उनी सर्प संरक्षणमा लागेका हुन् ।
‘छोराले सर्प बचाउनुपर्छ भन्यो । जियोग्राफी, एनिमल प्लानेटजस्ता टेलिभिजन च्यानल हेर्दा विदेशीले संरक्षण गरेको देखें,’ उनले सुनाए, ‘विदेशीले सर्पलाई चिडियाखानामा पालेको थाहा पाएँ । वातावरण जोगाउन सर्प बचाउनैपर्ने थाहा पाएपछि यतातिर लागें ।’
सर्प मार्न नहुने उनको सुझाव छ । ‘मार्दा एकछिन सुरक्षित भएको अनुभव होला तर यसले वातावरण जोगाउन घाटा हुन्छ । मानव अस्तित्वलाई नै संकट पुर्याउँछ,’ उनले जानकारी गराए, ‘सर्पको विष औषधिका रूपमा समेत प्रयोग हुन्छ । ‘एन्टी स्नेक भेनम’ बन्छ । अन्य रोगविरुद्धको औषधि पनि बन्दोरहेछ ।’
सर्पलाई सम्पत्तिका रूपमा चित्रण गर्ने उनले पछिल्लो समय घरभित्र पसेका करेत, अजिङ्गर, धामिनको उद्धार गरेको जानकारी दिए । अहिलेसम्म ४०० भन्दा बढी सर्पलाई उद्धार गरी जंगलमा छाडेको उनले बताए ।
सर्प राख्नकै लागि उनले काठको कोठा भएको दराज बनाएका छन् । कम विषालु सर्पलाई दराजमा राखे पनि विषालु सर्पलाई प्लास्टिकको भाँडामा जम्मा गर्दै आएका छन् । उद्धार गरेर जम्मा सर्प देवनगरको जंगलमा छाडिदिन्छन् । ‘जंगलको वातावरण राम्रो हुन्छ । हुर्किन पाउँछन् । स्वतन्त्र भएर डुल्छन्,’ उनको बझाइ छ, ‘बस्तीमा आउँदा सबैले खेद्छन् । जोगाउन जंगल नै उपयुक्त हुन्छ ।’
सर्पको महत्व बुझाउने अभियान चलाएका उनी भन्छन्, ‘घातक रोगको औषधि बन्छ । करेतमा धेरै विष हुन्छ । जसलाई प्रशोधन गरेर धेरै मात्रामा औषधि बनाउन सकिन्छ । धामिनले धानका मुसा खान्छ । फाइदा त किसानलाई नै हुन्छ ।’
खाना खोजीमा सर्प घर पस्ने गरेको उनले सुनाए । घरमा पस्यो भन्दैमा मारिहाल्न नहुने उनको तर्क छ । उनले अहिलेसम्म सर्प उद्धारसम्बन्धी औपचारिक तालिम लिएका छैनन् । उनी भन्छन्, ‘टीभी हेरेरै सिकेको हुँ । हेरेर सिकेको ज्ञानका आधारमा सर्प समात्ने गरेको छु ।’
पछिल्लो समय उनलाई कतिपयले सर्प संरक्षण गरेकाले यसको संख्या वृद्धि भएको आरोप लगाउँछन् । उनले उद्वार गरेका सर्पबारे तथ्यांक राख्न थालेका छन् । उनी भन्छन्, ‘विषालु मानिएको राज गोमन (किङ कोब्रा) र करेत समातेपछि मलाई थप हौसला बढ्यो ।’ तीन वर्षअगाडि गैँडाकोट प्रहरी चौकीको भ्यानको इन्जिनबाट नौ फिट छ इन्चको राज गोभन (किङ कोब्रा) उद्धार गरेको उनले बिर्सेका छैनन् ।
सर्पसँग जति नजिक भइन्छ, डर भाग्दै जाने उनको भनाइ छ । ‘सर्पलाई जिस्क्याएमा मात्रै प्रतिकारमा उत्रन्छ । उनले सर्प संरक्षणका लागि सरकारले छुट्टै बजेट छुट्याउन माग गरे । अनिरुद्र सापकोटा हिजोआज गोही संरक्षणमा समेत जुट्न थालेका छन् । उनीमात्र होइन, घरका सबै सदस्य अहिले सर्प संरक्षणमा लागेका छन् । घरपरिवार सबै सर्प संरक्षणमा सकारात्मक देखिएपछि उनलाई यो काम गर्न निकै सजिलो भएको छ । उनकी श्रीमती जानकी भन्छिन्, ‘कम विषालु सर्प मैले पनि उद्धार गरेकी छु ।’
सर्पले वातावरणमा रहेका हानिकारक विषादी खाने भएकाले यसको संरक्षण नगरे मानिसलाई प्रत्यक्ष असर पुग्ने उनको ठम्याइ छ । सुत्ने पलङभित्र परेका कैयौं सर्प उद्धार गरेको उनी सम्झन्छन् ।
सापकोटाका छोरा सुनील सर्पको विषबारे अध्ययन अनुसन्धान गर्न भुटानमा छन् । सुनीलले भुटानमा अध्ययनसँगै त्यहाँका सर्पको प्रकार र संख्या गणना गर्ने काम गरिरहेको आमा जानकी सापकोटा बताउँछिन् ।
सापकोटा परिवारले सर्पबारे जनचेतना फैलाउन श्रव्य–दृश्य निर्माण गरी सामाजिक सञ्जालमा समेत हालेर सर्पको बहुउपयोग गुणबारे सबैलाई बुझाउने प्रयासरत छन् । सर्पबारे भिडियो निर्माण गर्न उनका तीन वर्षका नातिदेखि छोरी, बुहारी र श्रीमतीले सहयोग गर्दै आइरहेका छन् ।
नेपालमा २०० भन्दा बढी प्रजातिका सर्प पाइन्छन् ।