झापा र मोरङमा बसोवास गर्दै आएका आदिवासी समुदायमध्ये एक धिमाल हुन् । धिमाल समुदाय आफ्नै भाषा, मौलिक पहिचान, जीवनशैली, भेषभूषा, लोकधर्म र संस्कृतिले सुसज्जित छ । अल्पसंख्यक जातिका रूपमा रहेको उनीहरूको जनसंख्या ३० हजारको हाराहारीमा रहेको छ ।
आदिमकालबाट प्रकृतिमा निर्भर रहेको धिमालले प्रकृति पूजामा विश्वास राख्दै आएको धिमाल जाति विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष गणेशमान धिमालले बताए । आफ्नै सामाजिक संस्कार भएको उसको जन्म, विवाह र मृत्यु संस्कार पनि छुट्टै रहेको छ । धिमालका अनुसार जात्रीमेला, सिरजात, पार्वा, भेन्द्र, नावाङ्गी, गावा पूजा, जात्रा पूजा, टाकाबान्धा, रासपूजा, बान्धापूजा, धुलापूजा, हाइजापूजा, लक्ष्मी काइका पूजा आदि उनीहरूले मान्ने मौलिक चाडबाड हुन् ।
केन्द्रका वरिष्ठ उपाध्यक्ष धिमालले आफ्नै जातीय वेषभूषाले सुसज्जित हुने यस समुदायले युवा पुस्तालाई आफ्नो संस्कार र संस्कृति जानकारी गराउन नसक्दो आफ्नो मौलिक संस्कार र संस्कृति भुल्दै गएकोमा चिन्ता व्यक्त गरे । उनी भन्छन्, ‘धिमाल समुदायका महिलाले लगाउने दाबोना, इतङ्गी, पातोलोइ, सामुठी, नोसोइ, तेपाना र पुरुषले लगाउने आसकोट, गान्जी, टेपाना, पाटुका, चेउका धारी, तुप्रीका विषयमा युवापुस्तालाई बताउन नसक्दा हाम्रो मौलिक रीतिरिवाज ओझेलमा पर्दै गएको छ ।’
‘उर्नी, ढोल, सेरेन्जा, तुन्जाइ, दोतारा, घोगोमोगो, बाँसुरी हाम्रा आफ्नै परम्परागत बाजा हुन्,’ उपाध्यक्ष धिमाल भन्छन्, ‘अहिले यी बाजा बजाउने युवा छैनन् । चाडबाड, पूजाआजामा यसखाले बाजा बजाउनुपर्ने भए पनि युवापुस्ताले संस्कार संस्कृति संरक्षणमा ध्यान नदिँदा हाम्रो मौलिक संस्कार संस्कृति लोप हुँदै गएको छ ।’
धिमाल समुदायका मौलिक गरगहना र जातीय पोसाक संरक्षण गर्न विर्तामोड नगरपालिकाले धिमाल महिलालाई जातीय पहिचान झल्काउने पहिरन ‘दाबोना’ अर्थात् पेटानी बनाउन प्रोत्साहन गरिरहेको छ । जातीय पहिरन संरक्षण हुने र महिलाले त्यसलाई व्यावसायिकता प्रदान गरे आत्मनिर्भर बन्ने नगरपालिकाका सूचना अधिकारीसमेत रहेका विर्तामोड नगरपालिका–१ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी गराए ।
‘धिमाल समुदाय आफैंमा पछाडि परेको छ । त्यसमाथि संस्कार संस्कृतिले सुसज्जित भए पनि आफ्नै भेषभूषाको संरक्षण गर्न नसक्दा उनीहरूलाई सीप पनि सिकाउनुपर्नेछ,’ उनले भने, ‘संस्कार संस्कृतिको संरक्षण गर्दै आत्मनिर्भर बनाउन नारी संकल्प नामक संस्थासँग सहकार्य गर्दै धिमाल महिलालाई पेटानी बनाउने तालिम प्रदान गरिरहेका छौं ।’
धिमाल समुदायका १८ महिलाले तालिम लिइरहेको नारी संकल्प संस्थाका अध्यक्ष तुलसा खरेलले जानकारी दिइन् । ‘दाबोना’ अर्थात् पेटानी धिमाल समुदायका महिलाले लगाउने गर्छन् । तर, आधुनिकताका कारण उनीहरूले पेटानी लगाउन छाड्दै गएका छन् । अझ युवा पुस्तामा आफ्नै जातीय पहिरनप्रति आकर्षण छैन । पेटानी बनाउन सिकाउँदै आएकी मोरङ पथरीकी सीता धिमालले भनिन्, ‘पेटानी बनाउनेमात्रै सीप सिक्ने हो भने धिमाल समुदायका महिला कोही पनि बेरोजगार हुनुपर्दैन ।’
पेटानी गुन्युजस्तै हो । तर, पेटानी पाँच÷छ हातमात्रको हुन्छ । पेटानी लगाउँदा महिला केवल छातीमात्रै ढाक्छन् । पेटानी लगाउने महिलाले चोलो लगाउँदैनन् । पेटानी लगाउने महिलाले छातीमात्रै छोप्छन् । पेटानी घुँडा मुन्तिरसम्म मात्र लगाउँछन् । पेटानी प्रायः कालो रङको हुन्छ । ‘यो महिलाले घरमै धागो कातेर तानमा बनाउने गर्छन् । पेटानी बनाउने हाम्रो पुख्र्यौली पेसा हो,’ उनले भनिन्, ‘हाम्रो समुदायमा विवाह व्रतबन्धजस्ता शुभकार्यमा पेटानी लगाउन अनिवार्य छ । तर, अहिलेका युवापुस्ताले पेटानी लगाउँदैनन् ।’
सीप सिकाउन थालेपछि नगरका धिमाल महिलासीप सिक्न उत्साहित देखिएका छन् । ‘हामी लजाएर रहेछ । एउटामात्रै पेटानी बनाएर बिक्री गर्दा दुई हजार ५०० देखि तीन हजारसम्ममा बिक्री हुँदोरहेछ,’ पेटानी बनाउने सीप सिक्दै आएकी बिर्तामोड–१ निवासी कोपिला धिमाल भन्छिन्, ‘दुई दिनमै तयार गर्न सकिने पेटानी महिनामा १२ देखि १५ वटा मात्रै बनाएर बिक्री गर्ने हो भने ३० हजारभन्दा बढी आम्दानी गर्न सकिने रहेछ ।’
तालिममा सहभागी घिना धिमाल उमेरले ५० को हाराहारीमा छन् । उनलाई सीप सिक्ने इच्छा छ । उनी भन्छिन्, ‘बेलैमा सीप सिकेर यो व्यवसाय सुरु गरेको भए अहिलेसम्ममा मनग्य आम्दानी गरिसक्ने थिएँ ।’
विर्तामोड नगरपालिकाले धिमाल समुदायका महिलाको जीवनस्तर सुधार्दै स्वावलम्बी बनाउन पेटानी बनाउने सीप सिकाए पनि दमक नगरपालिकाले पनि धिमाल समुदायलाई परापूर्वककालदेखि बसोवास गर्दै आएको नागरिकका रूपमा ‘प्रथम नागरिक’ घोषणा गर्दै धिमाल समुदायलाई सम्मान गरेको छ ।
दमक नगरपालिकामा धिमाल समुदायको जनसंख्या १५ हजारको हाराहारीमा रहेको बताइन्छ । जातीय बसोवास सूची बनाउने काम गर्न लागिएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले जानकारी दिए ।