लेक फुल्यो लै लागीगुराँस बेंसी फुल्यो टाँकी त
सामन्तको चल्दै छ शासन, लड्न अझै बाँकी छ ।
आँगनछेउ मुढामा बसेर प्रस्तुत गीत गुन्गुनाइरहँदा मदन राई अर्थात् कमरेड विवेक जनयुद्घका सहिद कमरेड दावा खम्बूको स्मृतिमा चुर्लुम्मै डुबेका छन् । राईका आँखामा टिलपिल भएको आँसुले त्यसै भन्दै थियो । नजिकै बसेर कमरेड विश्वास र पंक्तिकारले उनको विस्मृत स्मृतिलाई खोतल्दै छौं । उनले भर्खरै गुन्गुनाएको गीत सहिद खम्बूलाई असाध्यै मन पथ्र्यो । त्यसबेला गाउँमा हुने सांस्कृतिक कार्यक्रममा दावा यो गीतमा खुबै नाच्थे । मदन जुरुक्क उठेर दलिनको निदाल सुम्सुम्याउँछन् । खोजेको वस्तु यथास्थानमा नभेटेपछि अर्धांगिनीलाई सोध्छन्, ‘यहाँको चुप्पी कता गएछ ?’
ऊबेला दावाले नाच्दा प्रदर्शन गर्न बनाएको काठको नक्कली चुप्पी केही बेरको खोजीपछि घरभित्र निदालको चेपबाट निकालिन्छ । झट्ट हेर्दा सक्कलीझैं देखिने चुप्पी विश्वास हातमा लिन्छन् । फोटो खिच्न आफ्नो पंक्तिकारलाई मोबाइल थमाउँछन् । पंक्तिकार मदनलाई खोतल्छन् । विश्वास सामाजिक सञ्जालमा फोटो हाल्न व्यस्त हुन्छन् ।
खोटाङको सुदूरपूर्वमा रहेको लिकुवापोखरीको तेन्छोङ गाउँको सिरानमा मदनको घर छ । संवत् २०१८ मा जन्मेका उनी ०३६ मा भएको जनमतसंग्रहमा बहुदलको पक्षमा उभिन्छन् । ०४६ पछाडि नेकपा माले बन्छन् । तात्कालिक नेकपा माले र नेकपा माक्र्सवादीबीच एकतापछि बनेको नेकपा एमालेमा सक्रिय उनलाई ०४९ को स्थानीय निर्वाचनमा पार्टीले वडाध्यक्षको उम्मेदवार बनाउँछ । दुई मतको अन्तरले कांग्रेसका उम्मेदवारबाट पराजित भएपछि पनि पार्टी काममा निरन्तर लागिरहन्छन् । ०५७ मा विद्रोही बनेर बन्दुक बोक्न तयार नहुँदासम्म उनले एमालेको इलाका सदस्यसम्मको जिम्मेवारी लिएर काम गरे । तात्कालिक विद्रोही पक्षसँग उनको सम्पर्क ०५४ बाटै भएको हो । माओवादीले ०५१ फागुन १ गतेदेखि सुरु गरेको जनयुद्घबाट प्रभावित भएर पूर्वका केही जागरुक किरातीले खम्बुवान राष्ट्रिय मोर्चा गठन गरी युद्घमा होमिएपछि लिकुवापोखरीको तेन्छोङ गाउँ महत्वपूर्ण सेल्टर बन्न पुग्यो । तेन्छोङमा वर्तमान नेकपा (माओवादी केन्द्र)का नेताहरू सुरेशकुमार राई ‘हिमाल’, रामकुमार राई ‘पासाङ’, देवान किराती ‘पृथ्वी’, शंकर राई ‘आङ्गामी’ पटक–पटक पुगे । बिस्तारै उनलाई मात्र होइन, सिंगै तेन्छोङ गाउँ खम्बुवानको प्रभावमा पर्यो ।
६ दिदीबहिनी र तीन दाजुभाइ गरी नौजनाको ठूलो परिवारमा जन्मिएका उनको औपचारिक अध्ययन धेरै छैन । तर, उनीभित्र धेरै अनुभव र उच्च राजनीतिक चेतना भेटिन्छ । समाजमा हुने शोषण र अत्याचारलाई उनी पटक्कै रुचाउँदैनन् । उनको सानैदेखिको हो । पाँच/छ वर्षको उमेरमा आमासँग मावली जानेक्रममा एउटा अस्वाभाविक संवादले उनलाई बेस्मारी चित्त दुखाएछ । मावली हजुरबाले बोल्नुभएको त्यो वाक्य उनी लक्षित त थिएन तर त्यो शब्दले एक समुदायप्रति अत्याचारको भाव व्यक्त गथ्र्याे । छिमेकी विश्वकर्मा थरको एक व्यक्तिले खेताला नसघाएको घटनालाई लिएर मावली हजुरबाले ‘मेरोमा खेताला नआएर त्यसले आफ्नै खेत जोत्ने ?’ यही शब्दले हो, उनलाई बेस्मारी दुखाएको । के उसले आफ्नो काम गर्न नपाउने ? त्यो भनाइ सरासर अन्यायपूर्ण थियो । उनको बालमनलाई त्यो शब्दले दुख्नु दुखाएपछि आमालाई मावलीघरमा नबसौं भनेर जिद्दी गरे । अन्ततः साँझ परेको बेला आमा–छोरा छिमेकीकहाँ बास बस्न पुगे । त्यही दिनबाट आफूमा विद्रोही चेत भरिएको उनले थाहा पाए ।
मदन राईको बाल्यकाल सुखद थिएन । आठ वर्षको उमेरमै आमालाई सधैंका लागि गुमाएका राईले चाहेर पनि पढ्न पाएनन् । घाँसदाउरा र मेलापात गर्दै बालवय गुजारेका उनीमा सामाजिक भावना तीव्र थियो । गाउँघरमा दुःख पाएकाका लागि सहयोग गर्नु, गाउँमा हुने सामूहिक कार्यको अगुवाइ गर्न उनलाई कसैले भन्नै पर्दैनथ्यो । युद्घकालमा वडा जनसरकार प्रमुख भएर काम गर्दा होस् वा अन्य समयमा उनले कसैलाई अन्याय गरेनन् । अन्याय सहेनन् पनि । गाउँमा खोलिएको सहकारीको अध्यक्ष, विद्यालय व्यवस्थापन समिति सदस्य, सामुदायिक वन महासंघ र स्थानीय हाइड्रोपावर सञ्चालन समितिका सदस्य भएर उनले काम गरेका छन् ।
तीन छोरा र तीन छोरीकी पिता उनका छोरीमात्रै जीवित छन् । छोराहरूमध्ये जेठा छोरा सहिद बालकृष्ण राई अर्थात् दावा खम्बू हुन् । दावाको जन्म ०४३ मा भएको हो । ०५९ मा एसएलसी दिएर बसेको समयमा पार्टीको पूर्णकालीन कार्यकर्ता बनेका उनी जनजागरण एफएमका प्राविधिकसमेत थिए । बाल्यकालदेखि नै परिवर्तनको पक्षमा उभिने दावा संगठनप्रति उच्च आस्था राख्थे । उनी गाउँमा स्थापित प्रगतिशील युवा क्लबको संस्थापक उपाध्यक्ष हुन् । सोही क्लबमार्फत परिवर्तनका लागि जनचेतना जगाउने कामको अग्रसरताले पार्टीको पूर्णकालीन कार्यकर्ता बन्न उत्प्रेरित गरेको हुनुपर्छ । पार्टीको पूर्णकालीन कार्यकर्ता बनेको १५ दिनमै जिल्ला सदस्य बन्नु चानचुने कुरो होइन । तर, सहिद दावा खम्बूको हकमा सम्भव भयो ।
बुवा मदन राईको नजरमा दावा खम्बू परिवर्तन चाहने एक इमानदार व्यक्ति हुन् । आफ्ना लागि आफैं गर्नुपर्छ, अरूलाई सकेको सहयोग गर्नुपर्छ भन्ने चिन्तन खम्बूमा पनि थियो । युद्घकालमा घर आउँदा एम्बुस थाप्ने तार बोकेर आएको र उक्त तार घरको सोलारमा थोरै प्रयोग गर्दा समेत पार्टीलाई हिसाब बुझाउनुपर्छ भन्दै उनले पैसा लिएर गएको मदन सम्झन्छन् । धेरै तामझाम नगर्न र अनावश्यक ठाउँमा खर्च नगर्न दावाले सधैं सुझाइरहने मदनको भनाइ छ । परिवर्तनकारी सोंच, उच्च नैतिकता र संगठनप्रति सधैं इमानदार बालकृष्ण राई अर्थात् दावा खम्बूले ०६२ असोज १० गते रामेछापको लाप्छानेमा भएको दोहोरो भीडन्तमा घाइते भई उपचारक्रममा शहादत प्राप्त गरे ।
महान् जनयुद्घमा आफ्नो होनाहार छोरो गुमाएर पनि किञ्चित नगलेका मदन राई, अझै क्रान्ति र परिवर्तन भन्नासाथ जुरुक्क उठ्छन् । आफ्नो योगदान र छोरोको बलिदानसँग पदीय लाभ साट्न पटक्कै नचाहने उनी पार्टीले दिएको जिम्मेवारी भने अझै पूरा गर्न दत्तिचित्त छन् । तपाईंको यत्रो योगदान छ, पार्टीले उचित कदर नगरेको पो हो कि ? भन्ने प्रश्नमा मुसुक्क हाँस्दै भन्छन्, ‘उमेर, योग्यता र चिन्तनले मभन्दा अब्बल कमरेडहरू हुनुहुन्छ । उहाँहरूलाई पो अगाडि बढाउनुपर्छ त । अनि मात्रै भनेकोजस्तो काम गर्न सकिन्छ ।’ साँच्चै ०७४ को स्थानीय तह निर्वाचनमा वडासदस्यमा उठेर हार्न राजी उनी ०७९ को स्थानीय निर्वाचनमा कुनै पद मागेनन् । चुनावमा पार्टीलाई भरपूर सहयोग गरे र जसको प्रतिफल वडामा नेकपा माओवादी केन्द्रले एक्लै शानदार जित हासिल गर्यो ।
विद्यालयको औपचारिक शिक्षा धेरै नपढे पनि माक्र्स, एंगेल्स, लेनिन र माओका विचारोत्तेजक लेख र किताब थुप्रै पढेका छन् । युद्घकालमा प्रचण्ड, किरण, बाबुरामलगायत नेताको लेख पढेका र विचार सुनेका छन् । युद्घरत माओवादी र सरकारबीच बाह्रबुँदे सहमति हुँदै गर्दा कतै गलत त भइरहेको छैन भन्ने लागेको थियो रे । तर शान्तिपूर्ण निर्वाचनकै बाटोबाट राजतन्त्र अन्त्य हुनु, संघीय गणतन्त्रात्मक शासन व्यवस्था, समानुपातिक समावेशी निर्वाचन पद्घति र धर्मनिरपेक्ष राज्य घोषणा हुनुले बाह्रबुँदे शान्ति सम्झौता सही भएको प्रमाणित भएको मदनको बुझाइ छ । यति हो, युद्घकालमा जातीय स्वशासन र आत्मनिर्णयको अधिकारसहितको संघीयताको वकालत गर्ने माओवादी अहिले चुप लागेको देख्दा अलिकति शंका उत्पन्न भएको छ । सबै जाति, भाषा, धर्म, संस्कृति जगेर्ना गर्दै पिछडिएका जाति, क्षेत्र र समुदायलाई विशेष अधिकार दिएर राज्यसत्तामा स्थापित गर्न लाग्नुपर्नेमा त्यतातर्फ राज्यको ध्यान नगएको हुँदा भोलि यही मुद्दालाई लिएर फेरि कसैले हतियार उठाउनुपर्ने पो हो कि ? ‘त्यो दिन आउन नदिन विशेषतः नेकपा माओवादी केन्द्रले महत्वपूर्ण भूमिका खेल्नुपर्छ । नेकपा माओवादी केन्द्र श्रमजीवी, सर्वहारा, पिछडिएका जाति, क्षेत्र र सीमान्तकृत समुदायले उठाएको पार्टी हो,’ मदन राई भन्छन्, ‘त्यसैले आफू सत्तामा गएको बेला त्यही समुदायको हितमा काम गर्न सके दावाजस्तै हजारौं सहिदको बलिदानी सार्थक हुनेछ ।’