‘हलेसी सरोफेरो’ किताब १५ हजार बिक्री



हलेसी (खोटाङ) । सुविन्द्र गिरीद्वारा लिखित ‘हलेसी सरोफेरो’ नामक किताब १५ हजार बिक्री भइसकेको छ । कतिपय अवस्थामा वर्षमा तीनपटकसम्म ‘रिप्रिन्ट’ गरिएको सो किताब ६ वर्षमा १५ हजार बिक्री भइसकेको लेखक गिरीले जानकारी गराए ।

‘किताब किन्ने १५ हजारजनाले त पढिहाले,’ उनले गर्व गरे, ‘किताब किन्नेमार्फत अन्यले पनि त किताब पढे होलान् नि ?’
संवत् २०७२ मा प्रथमपटक प्रकाशित किताबले लगानी फिर्ता गरिसकेको छ । ‘लगानी फिर्तामात्रै होइन,’ उनले थपे, ‘लगानीबाहेक लाख रुपैयाँजति हात परिसकेको छ ।’

किताबमा हलेसीलगायत गन्तव्यको आधारभूत जानकारी दिइएको उनले बताए । ‘मेरो किताब प्रकाशित भइसकेपछि हलेसी क्षेत्रकै कतिपयले गाउठाउँकै गन्तव्यबारे जानकारी पाएको बताए,’ उनले सुनाए, ‘माल्खुमा रहेको ककनी पुग्ने बौद्ध धर्मावलम्बीमात्रै हुन्थे । किताब प्रकाशित भएपछि अन्य पनि जान थालेका छन् । सत्यश्वर र गुप्तेश्वरसम्म पुग्ने बढ्दै छन् ।’

तीन महिना लगाएर तयार पारिएको किताब सर्वाधिक बिक्री भएको लेखकको स्वीकारोक्ति छ । डेढ सय प्रति किताब निःशुल्क वितरण गरेको उनको भनाइ छ ।

हलेसी प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहेका गिरीको ‘पूर्वको पशुपति हलेसी’ नामक किताब प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्