जिल्ला समन्वय समिति खोटाङ प्रमुखमा राई



दिक्तेल (खोटाङ) । जिल्ला समन्वय समिति खोटाङ प्रमुखमा सनबहादुर राई निर्वाचित भएका छन् । गठबन्धनतर्फ जसपाका केन्द्रीय सदस्य राईले १६ मत प्राप्त गरी जिसस खोटाङ प्रमुखमा निर्वाचित भएका हुन् ।

जिसस उपप्रमुखमा गठबन्धनतर्फ माओवादी केन्द्रका सुरेश तामाङ निर्वाचित भएका छन् ।

यसैगरी, जिसस खुला सदस्यमा गठबन्धनतर्फ कांग्रेसका दुर्गाप्रसाद घिमिरे, ज्ञानेन्द्र राई, मोहन सुप्तिहाङ राई, महिला सदस्यमा कांग्रेसकै कला राई निर्वाचित भएकी हुन् ।

माओवादी केन्द्रकी विष्णुमाया राई, नेकपा एकीकृत समाजवादीकी दिलकुमारी राई र दलित सदस्यमा माओवादी केन्द्रकी चमेली विश्वकर्मा निर्वाचित भएकी छन् ।

जिसस प्रमुखमा एमालेतर्फ किशोरकुमार श्रेष्ठ र उपप्रमुखमा एमालेकै सन्तोष राईले उम्मेदवारी दिएका थिए । श्रेष्ठ र राईले चार/चार मत पाए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय खोटाङका अनुसार, एमालेले जिसस सदस्यमा मनोनयन दर्ता गराएन ।

स्थानीय तह निर्वाचनताका जिसस प्रमुख जसपालाई दिने भद्र सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्