केही पनि होइनन् भन्ने काँग्रेस खोटाङका नेताहरू नै सर्वधन राईसँग भयभीत



दिक्तेल (खोटाङ) । ‘केही पनि होइनन् भन्ने काँग्रेस खोटाङका नेताहरू नै सर्वधन राईसँग सबैभन्दा बढी डराएका छन्,’ समाचार स्रोतले अचम्म व्यक्त गरे, ‘एकताका पानी बाराबारको अवस्थामा रहेका काँग्रेस खोटाङे नेताहरू यतिबेला एकठाउँमा उभिनुको अर्थ नेता सर्वधन राईसँग डराउनु होइन ? केही पनि होइनन् भने सर्वधनसँग उनीहरू यत्ति धेरै किन डराएका होलान् ?’

काँग्रेस खोटाङ सभापतिका लागि सर्वधन राईले उम्मेदवारी दिने भएपछि काँग्रेस खोटाङका अर्का पक्षले जिल्ला सभापतिका लागि तीनजना उम्मेदवारको नाम परिवर्तन गरिसकेका छन् । ‘सुवासकुमार पोखरेल, वीरकाजी राई हुँदै पछिल्लो समय उनीहरूले विष्णु राईलाई अघिसारेका छन् । विष्णु राईले तीन कार्यकाल सभापतिको भूमिका निर्वाह गरिसकेका छन्,’ समाचार स्रोतले थपे, ‘उनीहरूले अघिसारेका सभापतिका उम्मेदवारमध्ये सर्वधन राई ह्याभी वेटका सभापति उम्मेदवार हुन् । त्यसैले उनीहरू उहाँ (सर्वधन राई)सँग डराइरहेका छन् ।’

काँग्रेस खोटाङ संस्थापन पक्ष भन्नेहरूमा समेत गम्भीर समस्या रहेको छ । ‘वीरकाजी राई देउवापक्षीय नेता हुन्,’ समाचार स्रोतको भनाइ छ, ‘राईजीलाई पार्टी सभापति बनाउने ललिपप देखाइएपछि अर्को समूहमा उभिनुभएको होला । तर, उहाँले अन्तिममा सर्वधन राईलाई मतदान गर्नुहुन्छ ।’

खोटाङ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति तीर्थ भट्टराईलाई पनि खोटाङ काँग्रेस संस्थापन पक्षमा उभ्याइएको छ । ‘यो मीठो भ्रममात्रै हो । योजस्तो भ्रम अरू हुनै सक्दैन । भट्टराईको केन्द्रका नेता भनेको विश्वप्रकाश शर्मा हुन्,’ उनले जानकारी गराए, ‘शर्मा शेरबहादुर देउवा सभापति रहेको काँग्रेसको पार्टी प्रवक्ता हुन् । केन्द्रबाट शर्माले हरियो बत्ती बाल्नसाथ भट्टराई बहकिन सक्दैनन् ।’

उताका समूहमा सभापतिका आकांक्षी पाँचजना छन् । देउवा समूहका सभापतिका उम्मेदवार सर्वधन राई एक्लै । पार्टी सभापतिमा रविप्रकाश राईले समेत उम्मेदवारी दिने भनिए पनि सर्वधनको उम्मेदवारी परेपछि रविप्रकाश राईले मैदान खाली गरिदिने पक्कापक्की छ । सभापतिका आकांक्षी राईद्वय देउवापक्षीय नेता हुन् ।

‘काँग्रेस खोटाङ सभापतिका लागि यति धेरै मारमुङ्ग्री गर्नुपर्ने अवस्था होइन,’ समाचार स्रोतको बुझाइ छ, ‘तर, हामी बहुमत पक्षीय नेता एकठाउँमा छौं भन्नेहरूले बुझ्नुपर्छ कि यो पार्टीभित्रको लडाइँमात्रै हो । पार्टीको चुनाव हो । वारपारको लडाइँ हुँदै होइन । तर, उहाँहरूलाई सर्वधन राई हाउगुजी भएको छ ।’

दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले पनि सर्वधन राईलाई सघाउने निश्चित छ । अध्यक्ष राई कूटनीतिक र चर्को रणनीतिकार पनि हुन् । हुन त उनी कृष्ण सिटौलासँग नजिक छन् । ‘सिटौलासँग नजिक भएकाले नै उनले ‘डाइरेक्ट’ गाउँपालिका अध्यक्षको टिकट ल्याएका थिए,’ समाचार स्रोत ढुक्क छन्, ‘तर, भूपेन्द्रजीले पनि सर्वधन दाइलाई मतदान गर्छन् । काँग्रेस नेता भीष्मराज आङदेम्बे भूपेन्द्रजीका जेठान हुन् । आङदेम्बे प्रधानमन्त्री देउवाका भित्रिया मानिन्छन् । पूर्वको काँग्रेस हेर्ने जिम्मा पाएकामध्ये उहाँ पनि एक हो । उहाँ (आङ्देम्बे)ले संकेत गरिदिनुभएपछि भूपेन्द्रजीबाट सर्वधन राईले भोट पाउने नै भए ।

त्यतिमात्रै होइन, पूर्वसांसद सरस्वती बजिमय र सांसद हीरा गुरुङ देउवा पक्षमै छन् । ‘पूर्वसांसद बजिमय त पछिल्लो समय खुलेरै देउवा पक्षमा लाग्नुभएको छ,’ समाचार स्रोतको दाबी छ, ‘हीरा मान्य त पहिल्यैदेखि देउवापक्षीय नेता नै हुनुहुन्छ ।’

‘यसो भन्दा तपाईंलाई चित्त नबुझ्न सक्छ,’ समाचार स्रोतले पंक्तिकारको चित्त बुझाउन प्रयत्न गरे, ‘जता मल्खु, त्यतै ढल्कु भन्ने नेपाली उखान प्रचलित छ । अन्तिममा जताको समूह बलियो देखिन्छ, नेताहरू त्यतै लाग्ने पक्कापक्की छ । सर्वधन राईको जनमत बढ्दै गएपछि शक्तिको पछि लाग्नु मानवीय स्वभाव नै हो ।’

कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा सर्वधन राई उद्योग सहायकमन्त्री (२०५६) थिए । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उद्योग सहायकमन्त्री राईले पर्यटन राज्यमन्त्री (२०५७) को भूमिका पाए । मन्त्रीको भूमिका निर्वाह गरिसकेका राईलाई जिल्ला सभापतिमा निर्वाचित गर्न युवा पुस्तासमेत कस्सिएका छन् । खोटाङ प्रदेश क्षेत्र नम्बर १ बाट हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर बिमला राई, हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार वडाध्यक्ष रमेश राउत, दुरेन राई, युवा नेता पेसल राई (धितुङ), मनोज तिम्सिना, हेमन्त राई, जय तामाङ, रोजन राईहरू कस्सिएका छन् ।

खोटाङ प्रदेश क्षेत्र नम्बर २ बाट युवा पुस्ताका चर्चित नेता विकल राईलगायतको भरपर्दो साथ–सहयोग पाउने निश्चित छ ।

संवत् ०५६ मा प्रतिनिधिसभा सांसद निर्वाचित सर्वधन राई प्रधानमन्त्री शेरबहादुर देउवाको प्रिय मानिन्छन् । प्रम देउवाले जिल्ला सभापति निर्वाचित भएर आउन राईलाई आशिर्वादसमेत दिइसकेका छन् । तर, विपक्षी समूहका नेतालाई औडाहा भएको छ ।

एकताका देउवाका प्रिय मानिएका काँग्रेस महासमिति सदस्य सुवास पोखरेल डा. शेखर कोइराला क्याम्पमा पुगेका छन् । देउवानिवासको ढोका सधैंका लागि ढप्किएपछि पोखरेलले देउवापक्षीय उम्मेदवारलाई पाखा लगाउन न्वारानदेखिको बल लगाउने नै भए ।

काँग्रेस खोटाङको अतीत टीठलाग्दो देखिन्छ । ‘सुवासकुमार पोखरेलले सर्वधन राईलाई जहिल्यै आफ्नो प्रतिस्पर्धी ठाने । प्रतिस्पर्धी ठान्नु भनेको पोखरेल सर्वधनसँग जहिल्यै डराउनु हो,’ समाचार स्रोतको विश्लेषण छ, ‘त्यसैले राईलाई पोखरेलले छिर्के लगाउन खोजिरहे । अरूको कुभलो चिताउनेलाई आफ्नो भलोचाहिँ कसरी होस् । त्यसको ज्वलन्त उदाहरण शिव बस्नेत (वन राज्यमन्त्री) छँदै छन् । पार्टीका सम्भावना बोकेका नेतालाई निषेधको राजनीति गर्दा बस्नेत दाइले खोटाङ छाड्नुपरेको परेको विडम्बना कति नमीठो के ।’

काँग्रेस खोटाङमा सर्वधन राई काठमाडौंमै सीमित छन् भनेर आरोप लगाइन्छ । नेता राईलाई युवा पुस्ताले चिन्दैनन् भने टिप्पणी गरिन्छ । ‘त्यसो भन्नु भनेको विडम्बना हो,’ समाचार स्रोतको निष्कर्ष छ, ‘त्यसो भन्ने काँग्रेसले बीपी कोइरालालाई चिन्दिनँ भन्नुजस्तै हो । सर्वधन राईलाई छेकेर नेता बन्न खोज्नेहरूको ज्ञानको आँखा बेलैमा खुलेको राम्रो । सर्वधनलाई हाल्न खनिएका खाल्डो ज–जसले खनेका छन्, उनीहरू त्यही खाल्डोमा आफैं फस्ने काम गरेका होलान् कि ? चुकचुक ।’

‘मैले माथि पेस गरेको उदाहरण पुष्टि गर्छु,’ समाचार स्रोतले खुलाए, ‘२०७० को प्रतिनिधिसभा सदस्यका उम्मेदवार काँग्रेस खोटाङका सभापति नरेश श्रेष्ठलाई सुवास पोखरेलले खाल्डोमा हाल्न सफल भए । त्यसताका बुइपा पञ्चरदोबाटोको चुनावी कोणसभालाई सम्बोधन गर्दै सुवास पोखरेल गर्जिए, ‘मुखलाई होइन, रूखलाई भोट दिनुहोस् । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको उम्मेदवार नरेश श्रेष्ठलाई ‘मुख’ र प्रतिनिधिसभा सदस्यतर्फ समानुपातिक उम्मेदवारलाई ‘रूख’को संकेत गर्दै मतदानका लागि आह्वान गरेपछि ‘मुख’ले निर्वाचन हारेका थिए ।’

सुवासकुमार पोखरेलले आफूलाई लगाएको गुन काँग्रेस खोटाङ सभापति नरेश श्रेष्ठले ०७२ को निर्वाचनमा तिर्न सफल भए । सभापति श्रेष्ठले गुनको बदला गुन लगाएपछि पोखरेल प्रदेशसभा सदस्यमा पराजित बन्न पुगे ।

‘पार्टीभित्रको चुनाव पेचिलो बनाउनुहुँदैन,’ समाचार स्रोतले निवेदन गरे, ‘यसले विग्रह ल्याउँछ । फरकमत राख्नु, फरक समूहमा उभिनु लोकतन्त्रको सुन्दर पक्ष हो । त्यतिबेला खोटाङमा कोइराला काँग्रेस (गिरिजाप्रसाद कोइराला पक्षधर)ले भट्टराई काँग्रेस (कृष्णप्रसाद भट्टराई पक्षधर)का बलबहादुर रुम्दाली, विदुर पौडेल, कौशलराज रेग्मी र तिलक तिम्सिनालाई पाखा लगाएका थिए । पाप धुरीबाटै कराउँदोरहेछ । त्यसो गर्ने काँग्रेस खोटाङका नेताहरू पनि उँभो लाग्न सकेनन् । अहिले त्यस्तो जमाना छैन । योग्य नेता कहिल्यै पाखा लाग्दैन ।’

यसअघिका काँग्रेस महाधिवेशनमा तल स्वतन्त्र रूपमा निर्वाचित भएर आउनेहरूले केन्द्रमा मात्रै नेता समात्ने गर्थे । यसपटकको महाधिवेशनमा ‘ग्रासरुट’बाटै समूह–समूहमा विभाजित भएको देखिन्छ । वडा, नगर, क्षेत्र र जिल्ला अधिवेशनका लागि समूह–समूहमा विभाजित भएपछि महासमिति र महाधिवेशन प्रतिनिधिका उम्मेदवारबीच समेत कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्