आहा ! क्या राम्रो गीत भन्दै हामी रेडियो बजेको सुनेपछि खुसीले फुरुंगै हुन्छौं । तर, रेडियो कसरी बज्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । कमसेकम रेडियो बजाइसकेपछि यसबारे अलिकति भए पनि जानकारी राख्नु बेस हुन्छ । कसैले रेडियोबारे सोधिहाले जानकारी गराउन सकिन्छ ।
रेडियो विश्वभरि सशक्त सञ्चारमाध्यमका रूपमा स्थापित छ । सन् १८९७ मा मार्कोनीले बेलायतमा पहिलो रेडियो स्टेसन स्थापना गरेका थिए । रेडियो स्टेसनमा भएको ट्रान्समिटरले निश्चित फ्रिक्वेन्सीको विद्युतीय तरंग एन्टिनामा पठाउँछ । एन्टिनाले विद्युतीय तरंग इलेक्ट्रोम्याग्नेटिक तरंगका रूपमा रूपान्तरित गरेर खुला ठाउँमा फालिदिन्छ । जब श्रोताले रेडियोलाई त्यही फ्रिक्वेन्सीमा ट्युन गर्छन्, तब फालिएको त्यो तरंग रेडियो सेटको एन्टिनाले समात्छ । रेडियोले प्रक्रियागत काम गर्ने यही हो ।
एएम र एफएम गरी मूलतः रेडियो दुईप्रकार हुन्छन् । एएमले एम्प्लिच्युड मोडुलेसनलाई जनाउँछ । एएममा एम्प्लिच्युड प्रयोग गरेर रेडियो तरंगलाई प्रसारण गरिन्छ । यसमा चट्याङ र अन्य रेडियो तरंगले ट्रान्समिटरले फालेको एम्प्लिच्युड बिगारेर प्रसारणलाई प्रभावित पार्ने सम्भावना बढी हुन्छ । एफएमले फ्रिक्वेन्सी मोडुलेसनलाई जनाउँछ । एफएममा फ्रिक्वेन्सी प्रयोग गरेर रेडियो तरंगलाई प्रसारण गरिन्छ । यसको रिसिभरलाई चट्याङलगायत अन्य रेडियो तरंगले पनि कम प्रभावित पार्ने हुनाले एएमको तुलनामा एफएम बढी प्रभावकारी हुन्छ ।
रेडियोलाई प्रयोगशालादेखि अहिलेको व्यावसायिक अवस्थासम्म ल्याइपुर्याउन थुप्रै आविष्कारक र इन्जिनियरले दशकौंसम्म लगातार प्रयास गरेका थिए । सुरुवातको रेडियोलाई ‘ताररहित टेलिग्राफ’ भन्ने गरिन्थ्यो । त्यसले ध्वनि प्रसारण गर्न सक्दैनथ्यो ।
सन् १८८५ मा डेभिड ह्युजले कार्बन माइक्रोफोन परीक्षण गर्नेक्रममा टेलिफोनको रिसिभरमा झिल्काको आवाज सुन्न सकिने कुरा पत्ता लगाए । उनले कार्बनमा आधारित यो डिटेक्टरलाई थप विकास गरे, जसले केही सय गज टाढासम्मको सिग्नललाई पहिचान गर्न सक्थ्यो ।
त्यसपछि आफ्ना सहयोगीसहित थोमस एडिसनले अनुसन्धान अगाडि बढाए । उनले दुई बिन्दुबीच हुने इलेक्ट्रोस्ट्याटिक कप्लिङ सिस्टम विकास गरे ।
सन् १८९३ मा निकोला टेल्साले फ्य्राङ्कलिन इन्स्टिच्युट र नेसनलर इलेक्ट्रिक लाइट एसोसिएसनलाई सम्बोधन गर्दै व्याख्यासहित ताररहित कामको सिद्धान्त प्रस्तुत गरे । उनको व्याख्यामा भ्याक्युम ट्युब आविष्कार हुनुभन्दा पहिलेको रेडियोमा प्रयोग भएका सबै तत्व समाहित थियो ।
सन् १८९४ को अगस्ट १४ मा अक्सफोर्ड विश्वविद्यालयको प्राकृतिक इतिहासको संग्रहालयका प्राध्यापक ओलिभर लज र अलेक्जेन्डर मुइरहेडले ताररहित टेलिग्राफको प्रदर्शन गरे । नजिकैको क्लरेन्डोन नामक प्रयोगशालाबाट एउटा रेडियो सिग्नल पठाइएको थियो । जसलाई प्रदर्शनी हलमा भएको उपकरणमार्फत रिसिभ गरिएको थियो ।
सन् १९८५ मा अलेक्जेन्डर स्टेप्यानोभिच पोपोभले पहिलो रेडियो रिसिभरको आविष्कार गरे भने सन् १८९७ मा आएर मार्कोनीले बेलायतमा पहिलो रेडियो स्टेसन स्थापना गरे । अहिले त डिजिटल रेडियो विकास भइसकेको छ । डिजिटल रेडियोमा चाहिँ अडियो सिग्नललाई डिजिटलमा रूपान्तरित गरेर स्टेसनबाट पठाइन्छ । यसरी पठाइएको डिजिटल सिग्नल रेडियो सेटको रिसिभरले रिसिभ गरेर फेरि अडियो सिग्नलमा रूपान्तरण गर्छ । स्टेसनबाट पठाइएको सिग्नल जस्ताको तस्तै रेडियो सेटसम्म पुग्ने भएकाले डिजिटल रेडियो बढी विश्वासनीय तथा प्रभावकारी हुन्छ । अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, कोरियामा डिजिटल रेडियो प्रसारणमा आएका छन् । अन्तरीक्षमा सञ्चारका लागि पनि डिजिटल रेडियो प्रयोग गरिन्छ ।