पहिलो (संवत् २०४६ सालको) जनआन्दोलनमा नाबालक थिएँ । जनयुद्धको मध्यतिर जनयुद्ध हुँदै छ भन्ने अनुभूति भयो । देशले काँचुली फेरेमा हामी पनि सुकिलामुकिला हुनेछौं । गरिबीको रेखामुनि रहेका सबैलाई गाँस, बास र कपासको सुनिश्चित होला । पूर्वबाट उदाउने घामको किरणझैं मेरो मनमा आशाको किरण उदायो । मनमा आशा पलायो ।
देशमा भएको परिवर्तनसँगै तपाईं–हाम्रो सुखको दिन आउँदै छ भनेर मैले छाँगेतिरका गरिबीको रेखामुनि रहेका छिमेकीलाई आश्वस्त पार्थें । त्यतिबेला उनीहरू भन्थे, ‘त्यो दिन के आउँथ्यो होला र खै ! हामीजस्ता दीनदुःखीलाई कसले पो हेर्लान् र ।’ मचाहिँ अझै ग्यारेन्टी गर्न खोज्थें । तर, उनीहरूलाई पटक्कै चित्त बुझेको थिएन ।
छिमेकी गाउँ विकास समितिका स्थानीय विस्थापित भएको खबर सुनिन्थ्यो । तर, साबिक धितुङ गाउँ विकास समितिबाट कोही विस्थापित भएका थिएनन् । मैले नसुनेको पनि हुन सक्छ । तत्कालीन गाविस अध्यक्षचाहिँ सम्पत्ति शुद्धीकरणमा तानिएका छन् भनेर हल्लाखल्ला राम्रै सुनिएको थियो ।
उच्च शिक्षाका लागि म काठमाडौं पसें । त्यसैताका युद्धविराम भयो । सात दलको गठबन्धनमा राजाविरुद्ध दोस्रो (०६२÷६३ सालको) जनआन्दोलन भयो । म पनि आन्दोलनमा सहभागी भएँ । जनआन्दोलनमा अश्रुग्यास त कति खाइयो कति । कान छेउबाटै प्लास्टिकको गोली उडेर गएको अनुभूति हुन्थ्यो । तैपनि डर लागेन । दोस्रो जनआन्दोलनमा सहभागी देख्दा मानवसागर उर्लेको प्रस्टै हुन्थ्यो । जीवनमा पहिलोपटक यति धेरै मानिस देख्दा अचम्मित थिएँ । आन्दोलनमा सहभागीको जिन्दावाद र मूर्दावादले काठमाडौं उपत्यका घन्किएको थियो ।
मेरा लागि जनआन्दोलन उत्सुकता थियो । मरिएला भन्ने रत्तिभर पीर थिएन । दिनभरि आन्दोलनमा सहभागी हुने, रात परेपछि राजाविरुद्ध थोत्रो डेक्ची, थाल ठट्टाउने रुटिनजस्तै बनेको थियो । कतिपय अवस्थामा सुरक्षाकर्मीसँग झडप हुँदा कुटाइसमेत खाइन्थ्यो । त्यसपछि शान्तिपूर्ण जनआन्दोलन हिंसात्मक बन्दै गयो । आन्दोलनमा सहभागी कतिपय सहिद भए । कतिपय अंगभंग भए । तैपनि जनआन्दोलन रोकिने छाँटकाँट देखिएन । अन्त्यमा जनताका अघि राजा ज्ञानेन्द्र शाहले घुँडा टेके । जनताका नासो जनतालाई सुम्पेर राजगद्दी त्यागे ।
अब त देशले पक्कै काँचुली फेर्नेछ भन्ने आशा बढदै गयो । देशको सबैभन्दा घटिया पूर्वराजा नै हुन् भन्ने लाग्थ्यो । सुनौलो र समृद्ध नेपालको बाधक उनै हुन् भन्नेमा विश्वस्त थिएँ । राजाले गद्दी त्यागेपछि देशले आफैं काँचुली फेर्नेछ । हामीले कल्पना गरेको मुलुक बन्नेछ । राज्य पुनःसंरचना हुन्छ । त्यसपछि त नयाँ नेपालको मुहारमा देशवासीको मुहार झन् उज्यालो देखिनेछ भन्ने सतप्रतिशत आशा थियो । मनभरि त्यही आशा बोकेर आन्दोलनमा सहभागी आ–आफ्नो लयमा फर्के । आज नभए भोलि, भोलि नभए पर्सि त देख्न पाइएला भन्दै आन्दोलनमा सहभागी आशाको दियोमा मट्टीतले थप्दै गए ।
जनआन्दोलनमा सहभागीले हिसाब खोज्न थाले । मैले पनि छाँगेका छिमेकीलाई ग्यारेन्टी गरेको थिएँ । तर, उनीहरूको अधुरो सपना फुल्नै सकेन । विश्वास नलागे पनि उनीहरूले परिवर्तनसहितको नयाँ नेपालको परिकल्पना गरिरहे । हामी पनि सुकिलामुकिला हुनेछौं भन्ने दिवा सपना देख्दै गए । तर, नयाँ नेपाल देख्ने सपनामा बालिएको बत्तीको मट्टीतले सकिँदै गयो ।
समय गतिशील छ । गतिशील समयसँगै आशाका किरण धर्तीमा पोखिन नपाउँदै गायब भएको अनुभूति भइरहेको छ । श्री ५ का स्थानमा थुप्रै श्री ६ जन्मे । परिकल्पना गरिएको नयाँ नेपालको सुन्दर मुहार कुरूप बन्दै गयो । विगतका जनआन्दोलन एकादेशको कथाजस्तै बन्दै गएका छन् । जनयुद्ध र जनआन्दोलनका सहिदको रगतले होलीमा खेलिने रङजति पनि सम्मान पाएन ।
चप्पल लगाएर संघीय राजधानी छिर्ने नेताको कल्पना गर्न नसकिनेगरी प्रगति चुलिएको छ । मैले छाँगेका छिमेकीलाई ग्यारेन्टीसाथ भनेको परिवर्तन र सुखसयल उनीहरूकै पोल्टा परेको छ । किस्ता–किस्तामा हाँसी–हाँसी गोली थाप्नेहरू उपचार नपाएर छटपटिइरहेका छन् । पहुँचबाहिरका साँच्चिकै जनयुद्धका योद्धा पानीविनाका माछा भएका छन् । आमूल परिवर्तनसहितको नयाँ नेपाल आएकै हो । तर, हाम्रा लागि आएन । कागलाई बेल पाक्यो हर्ष न विस्मात् ! आमूल परिवर्तनसहितको राज्य पुनःसंरचना भएकै हो । तर, हाम्रा लागि भएन । बाँदरको पुच्छर हतियार न लौरी ! शासकमा पलाएको महत्वाकांक्षी सत्तास्वास्र्थ ‘…..गर्नेलाई भन्दा देख्नेलाई लाज’ भएको छ ।
अन्त्यमा छाँगेका छिमेकी गाउँमा खडेरी र खानेपानी अभावले टिक्न नसक्ने निधोमा पुगेपछि नयाँ नेपालको रापताप सहन नसकेर बसाइँ सर्दै गएका छन् । सर्नेक्रम जारी छ । छाँगे क्रमशः बिरानो बन्दै गएको छ । छाँगेवासी मधेस झर्दा म भने ‘मलायो लाहुरे’ भएको छु । साहुको काम गरेर दैनिक १५ घन्टा जोतिँदा सुकिलामुकिला हुन नसके पनि मुस्किलले घर–व्यवहार धान्न सकेको छु ।