बाँझे च्यानडाँडा (खोटाङ) । ‘आपा धनबहादुर राईले यही घरमा हामी आमाछोरालाई छाडेर परदेश जान्छु भनेर हिँडेको रे मछा (ज्वाईं) । त्यतिबेला म पाँच महिनाको मात्रै थिएँ रे । आमाले भन्नुभएको,’ घरभेटी शरणबहादुर राई (६०) ले अतीत सुनाए, ‘यो घर कसरी बन्यो ? कति सालमा बन्यो ? कति खर्च लाग्यो ? कति जनाले कति समय लगाएर बनाए ? मलाई थाहा भएन ।’
राईसँग घरबारे केही न केही जानकारी होला भन्ठानेर पंक्तिकारले सोधेका थिए । घरको बनावट उत्तिकै आकर्षक । काठपात त्यत्तिकै पुरानो । यो घर साकेला गाउँपालिकाकै पुरानोमध्येको हुनुपर्छ । किन–किन घरको तस्बिर खिच्न हौसिएँ । र, माइला सालोको बिहेमा केही थान तस्बिर मोबाइलमा कैद गरें ।
तस्बिर कैद गरेको तीन दिनपछि खालिङटोलका मनकुमार बाबैसँग भेट भयो । त्यतिबेला बनेको घरबारे चर्चापरिचर्चा भयो । ‘यो घर साकेला गाउँपालिकाकै पुरानो हुन सक्छ जुवाईं । नभए पनि साकेला गाउँपालिका–१ बाँझे च्यानडाँडाकै सबैभन्दा पुरानो घर यही हो,’ मनकुमारको तर्क छ, ‘हिजोआज यस्ता घर कतै भेटिँदैनन् । पुरानो मासेर सबैले नयाँ–नयाँ घर बनाइसके ।’ हुन पनि हो, गाउँघर कर्कटपातामय बनेको छ । नयाँ घरको चमकदमक बेग्लै छ । पुराना घर त कहाँ पो भेटिएलान् ।
धुमाकै धुर्वतेम्पा, चन्द्रेम्पा, सम्झनाम्पा र बनेम्पाहरूलाई त्यो घरबारे सोधखोज गर्ने विचार गरें । काठमाडौं फर्केपछि सबैसँग सम्पर्क गरें । सो घरबारे कसैलाई थाहा नभएको उत्तर पाएँ ।
शरणबहादुर राईसँग पुनः घरबारे जानकारी मागें । ‘परदेश हिँडेका आपा गाउँ फर्केनन् । मलाई आमाले हुर्काइन् । आमाले मलाई माउलो नेर्पा लगेर छाडिन्,’ राईले सुनाए, ‘म नेर्पामै हुर्कें । आमाले अर्को बिहे गरिन् । म ठूलो भएपछि धुमा फर्केर बाजेले बनाएको यही घरमा फर्केर खेतीपाती गर्न थालें ।’
त्यतिबेला ९० सालको भुइँचालोले गाउँका घर सोत्तर बनायो । तर, यो घर चर्केकोसमेत छैन । ०७२ सालको भुइँचालोले पनि क्षति पुर्याएन । यही घरबाट ०७३ फागुन २३ गते शान्ता चाम्लिङ र पंक्तिकारको किरात चाम्लिङ संस्कृतिअनुसार लगनगाँठो कसेका थियौं ।
बल्ल थाहा हुँदै छ, यो घर हजुरबुवा इन्द्रवीर राईले बनाएका रहेछन् । यो घरमा पाँच पुस्ताले घामपानीबाट ओतिएका छन् । त्यसका आधारमा अनुमान गर्न सकिन्छ, ‘यो घर १३० वर्षपहिले बनेको हुनुपर्छ ।’