केही दिनअघि अग्रज पत्रकार भैरव रिसालले भनेका थिए, ‘पहिला समाचार लेखिन्थे, अहिले समाचार बनाइन्छन् ।’ अर्का अग्रज पत्रकार मनोरञ्जन जोशी पनि भन्दै थिए, ‘पहिला पत्रकारिताका सिद्धान्त नपढी पत्रकारिता गरिन्थ्यो । अहिले सिद्धान्त पढेर पत्रकारिता गरिन्छ । तैपनि त्योबेलाको पत्रकारिता र अहिलेको पत्रकारितामा आनका तान फरक छ ।’
यी दुई अग्रज पत्रकार आ–आफ्नो बुझाइमा एउटै कुरा बताइरहेका थिए । उनीहरूको साझा बुझाइ थियो, नेपाली पत्रकारिताले विश्वसनीयता गुमाइरहेको छ । के यी अग्रज पत्रकारले बुझेजस्तै नेपाली पत्रकारिताले आफ्नो इमान, जमान गुमाउँदै गएको हो त ? नेपाली पत्रकारितासामु उभिएको यक्ष प्रश्न हो यो ।
यो प्रश्नको जवाफ एउटा तह र कोणमा खोजेरमात्र सम्भव छैन । धेरै तह र कोणमा खोज्नुपर्ने हुन्छ । पहिलो तह त व्यक्तिगत रूपमा हरेक जिम्मेवार पत्रकारले आफैंसँग सोध्नुपर्ने हुन्छ, के मैले गरिरहेको पत्रकारिता विश्वसनीय छ ? त्यसपछि दोस्रो तहमा सञ्चार गृहले सोध्नुपर्ने हुन्छ, के हाम्रो सञ्चारमाध्यम विश्वसनीय छ ? तेस्रो तहमा पत्रकारिताका पेसागत संघ संस्थाले सोध्नुपर्ने हुन्छ, के हाम्रा सदस्यले गरेको पत्रकारिता विश्वसनीय छ ? यसदेखि माथि राज्य छ र राज्यले पनि सोध्नुपर्ने हुन्छ के मुलुकको पत्रकारिता विश्वसनीय छ ? के हामीले त्यसका लागि वातावरण सिर्जना गरेका छौं । अझ अगाडि बढेर भन्ने हो भने पाठक आफूूले आफैंलाई पनि सोध्नुपर्ने हुन्छ के मैले उपभोग गरिरहेको सञ्चारमाध्यम विश्वसनीय छ ? अन्ततः पाठकले सोसल अडिट गरेर यसको छिनोफानो गर्नुपर्ने हुन्छ ।
जुन तह र कोणमा सोधिए पनि यी प्रश्नको उत्तर वस्तुनिष्ठताका आधारमा खोज्नुपर्ने हुन्छ । त्यसो गर्नलाई राजनीतिक रूपले ठाडो चिरा परेको वर्तमान नेपाली समाजले सजिलै अनुमति दिँदैन । अधिकांश मान्छेका आ–आफ्ना राजनीतिक आग्रह एवम् पूर्वाग्रह छन् । र, त्यही जोड र कोणबाट पत्रकारितामा बेन्चमार्क खोज्दा वस्तुनिष्ठता स्वयम् लुरे हुन्छ ।
के त्यसो भए नेपाली पत्रकारितालाई यसरी नै छोड्ने त ? त्यसो गर्न सम्भव छैन किनकि हामीले छाड्न चाहे पनि समयले त्यो अनुमति दिँदैन । हामीले नै नेपाली पत्रकारितालाई जिम्मेवार, वस्तुनिष्ठ, पारदर्शी बनाउँदै विश्वसनीयताको कठघरामा उभ्याउनुपर्छ । ढिलो–चाँडो हामीले त्यसो नगरी धरै पाउँदैनौं । अब प्रश्न उठ्छ– त्यसका लागि के गर्ने त ?
यसका लागि हामीले थप हाइपोथेसिस परीक्षण गर्न जरुरी छैन । वर्षौंदेखि हामीले परीक्षण गरेका हाइपोथेसिसको नतिजा नै पर्याप्त छन् । आवश्यक भनेकोे तिनीहरूको इमानदारीसाथ लागू गर्नु नै हो । यसक्रममा हामीले कहाँदेखि सुरु गर्ने ? त्योचाहिँ प्रश्न हुन सक्ला । एकजना मानिस जो आफूलाई पत्रकार भन्न चाहन्छ, सबैभन्दा पहिला उसले पत्रकारिताका न्यूनतम मूल्य, मान्यता र आदर्शबारे हेक्का राख्नैपर्छ । यसको आदर्श आचरण, नैतिक बन्धन, आचारसंहिताबारे यथेष्ट जानकारी राख्नेमात्र हैन, तिनीहरूको आदर्श अवलम्बन पनि गर्नैपर्छ । अझ त्यसमाथि पनि पत्रकारितालाई राज्यको चौथो अंग, समाजको पहरेदारलगायतका विशेषण प्राप्त छन् । ती विशेषणले पनि केही निश्चित जिम्मेवारी थपिदिएका हुन्छन् र तिनीहरूको निर्वाह पनि प्राथमिकताको पहिलो सूचीमा राखिनैपर्छ ।
यी कुरा एउटा तह र कोणबाट निर्वाह गरेरमात्र सम्भव छैन, हरेक तह र कोणबाट उत्तिकै जिम्मेवारीसाथ निर्वाह गर्नैपर्छ । अन्यथा पत्रकारिता यसका आदर्श, मूल्य र मान्यताबाट च्यूत हुन्छ र अग्रजले भनेजस्तै यसले आफ्नो शाख र विश्वसनीयता गुमाउँछ । नेपाली पत्रकारिताले सबै प्रकारको संख्या पायो । व्यक्तिगत रूपमा ठूलो संख्यामा पत्रकारमात्र पाएन, सबै प्रकारका हजारौं सञ्चारमाध्यम पनि पायो । विचारका हिसाबले जनवर्गीय संगठनमात्र हैन, पेसागत संस्था पनि पायो । हुँदाहुँदा अहिले त धेरैजसो विधाका विधागत संस्था पनि पाइसकेको छ । नियामक संस्थामात्र हैन, पत्रकारितामैत्री कानुन र समाज पनि पायो । अझ प्राक्थनमै स्वतन्त्र प्रेस लेखिएको संविधानसमेत पायो । अनि कक्षा ८ देखि स्नातकोत्तरसम्मको पढाइ हुने औपचारिक शिक्षामात्र पाएन, मुलुकमै विद्यावारिधिसमेत गरिदिने विश्वविद्यालय पनि पाएको छ ।
अन्ततः यी सबै पूर्वाधारका कारण मुलुकले पत्रकारिताका क्षेत्रमा संख्यात्मक रूपमा सबै पायो तर गुणात्मक रूपमा भने हामीले उत्साहित हुनुपर्ने खासै केही पाउन सकेनौं । हो, प्रविधिले ल्याइदिएको गुणात्मक अनभूति भने हामीले पनि राम्ररी नै गरिरहेका छौं । हुन त प्राकृतिक नियमानुसार पनि संख्याले गुण दिनुपर्ने हो तर दुर्भाग्य नेपाली पत्रकारितामा त्यो सिद्धान्तले पनि खासै काम गरेको छैन ।
खुला अर्थतन्त्रमा सबै कुरा बजारले निर्धारण गर्ने भनिन्छ । तर, नेपाली सञ्चार क्षेत्रमा त्यो सिद्धान्तको पनि अवलम्बन भएन । नेपाली बजारमा कति सञ्चारमाध्यम आवश्यक हो ? कति पत्रकार तथा सञ्चारकर्मी आवश्यक हो ? त्यसको कुनै अध्ययन एवम् लेखाजोखा नै भएको छैन । लहडको भरमा आएका सञ्चारमाध्यमको संख्याले पनि पत्रकारको संख्या बढाउन नै सहयोग गर्यो । पछिल्लो समय सुरु भएको डटकम पत्रकारिता अर्थात् इकारिताले त पत्रकारको भन्दा पनि सञ्चारकर्मीको संख्या ह्वात्तै बढायो । अझ अहिले त सामाजिक सञ्जालको बिगबिगी छ अनि सिटिजन पत्रकारिताको युग भनिएको छ । यस्तो समयमा हरेक मानिस सञ्चारकर्मी हुन सक्छ ।
सञ्चारकर्मी र पत्रकारबीचमा धेरै फरक हुन्छ । आमसञ्चारको एउटा सिद्धान्तले भन्छ, ‘सबै पत्रकार सञ्चारकर्मी हुन् तर सञ्चारकर्मी पत्रकार हैनन् ।’ तर, यतिबेला सञ्चारकर्मी र पत्रकारबीचमा केही फरक नै छैन जस्तो खालको भ्रम फैलाइएको छ, जसले गर्दा सञ्चारकर्मीले गर्ने गलत सञ्चारकर्मले पत्रकारिताकै बदनाम भइरहेको छ । यो क्रम घट्नेभन्दा पनि रफ्तारमा बढिरहेको छ ।
आखिर यो बढाउने काम कसले गरिरहेको छ त ? यस प्रश्नको उत्तर खोज्न जरुरी छ र लगभग हामी सबै यसका लागि दोषी छौं । यसका लागि दुई पाटा जिम्मेवार छन् । एउटा पाटो, च्याउझैं उम्रिएका सञ्चारमाध्यम र सञ्चारगृह हुन् । अनावश्यक संख्यामा आएका यस्ता सञ्चारमाध्यमले नै बजारमा पत्रकारको माग बढाएका छन् । नेपाली बजारमा त्यसका लागि गुणात्मक जनशक्ति अभाव छ र भएको जनशक्तिलाई पनि यथोचित पारिश्रमिक दिएर राख्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा सस्तो जनशक्ति उपयोग गर्नुपर्ने हुन्छ, जसले प्रकारान्तरमा पत्रकारिताको गुणस्तरमा ह्रास ल्याउन अहम् भूमिका निर्वाह गर्छ । दोस्रो पाटो भनेको पत्रकारिताका नाममा बढ्दो संख्यामा संघ संस्था हुने र त्यसको नेतृत्वमा आउन जस्ता पायो त्यस्ता मान्छेलाई सदस्यता दिने प्रचलन नै हो । यस मामलामा आफूलाई व्यावसायिक पत्रकारिताको छाता संस्था भन्ने नेपाल पत्रकार महासंघदेखि पार्टीका जनवर्गीय संगठनका रूपमा खोलिएका पत्रकारका संस्थासमेत कोभन्दा को कम भन्दै प्रतिस्पर्धामा उत्रिएका छन् । यस्तो किसिमको प्रतिस्पर्धाले अन्ततः मतदाता पत्रकार जन्माउने खेती त भएकै छैन, त्यसले सिंगो पत्रकारिता जगत्कै गुणात्मक विकासमा भाँजो हाल्ने काम भएको छ ।
यो किसिमको वातावरणले चाहे व्यावसायिक पत्रकारिता होस् वा मिसन पत्रकारिता, दुवैको पत्रकारिताको संख्यात्मक विकासमात्र सम्भव छ, गुणात्मक विकास हैन । तर, स्वस्थ पत्रकारिताको विकास गर्ने हो भने यो ऐंजेरु पत्रकारिता हटाउन जरुरी छ । अन्यथा, पत्रकारिताको नाममा गैरपत्रकारको संख्या बढ्ने र त्यो संख्याले साँच्चैका पत्रकारलाई अल्पमतमा पारेर सीमान्तकृत हुने स्थिति आउँछ । त्यसो हुनु कसैको पनि हितमा हुँदैन । यस मामलामा पार्टीको पत्रकारिता फाँट हेर्ने नेताहरू जिम्मेवार हुन आवश्यक छ । उनीहरूले नेतृत्वमा ल्याउँदा पहिलो सर्त पत्रकार बनाउनुपर्छ । पहिले विचार अनि पत्रकार भन्यो भने त्यसले कार्यकर्ता पत्रकारमात्र जन्माउँछ, विचारले सुसज्जित व्यावसायिक पत्रकार हैन । अहिलेको आवश्यकता भनेको पहिलोखाले हैन, दोस्रोखाले पत्रकारकै हो । कम्तीमा उसको सामाजिक पहिचान र स्वीकृति पत्रकारकै होस् । अन्थया पत्रकारिताले यसका आदर्श, मूल्य र मान्यता गुमाउँदै जान्छ । र, यो कामै नलाग्ने पत्रुकारितामा परिणत हुन्छ ।
प्रेस चौतारी नेपालले आफूलाई सशक्त, विश्वसनीय बनाउने हो भने गुणात्मक विकासलाई जोड दिनुपर्छ । २० बराबर १ प्रतिनिधिको होडबाजीले संगठन धमिलो बन्दै जान्छ र त्यही धमिलो पानीमा माछा मार्ने नेतृत्वको जन्म हुन्छ । त्यस्तो नेतृत्वले न संगठनको विकास हुन सक्छ न त पत्रकारिताकै ।