सन् १८८९ मा पेरिसमा विशाल अन्तर्राष्ट्रिय प्रदर्शनीको आयोजना गरिएको थियो, जसमा सम्पूर्ण एक विभागमा एउटै व्यक्ति थोमस एल्वा एडिसनका आविष्कार र प्रविधि विकासको प्रदर्शन गरिएको थियो । यी महान् आविष्कारकलाई पेरिसमा निमन्त्रणा गरियो । त्यस भव्य सम्मान समारोहमा एक वक्ताले भने, ‘एडिसनले विज्ञानको क्षेत्रमा यति धेरै आविष्कार गरे, सायद अब अन्य मानिसका निम्ति आविष्कार गर्न केही पनि बाँकी छैन ।’
वास्तविकता पनि यही थियो । यिनले एक हजारभन्दा बढी पेटेन्ट प्राप्त गरेका थिए । मानव विकासको इतिहासमा अहिलेसम्म कुनै पनि वैज्ञानिक यस्ता छैनन्, जसले एडिसनको बराबर आविष्कार गरेको होस् । थोमस एल्बा एडिसनको जन्म अमेरिकाको मिलान सहरमा भएको थियो । उनका पिताले विभिन्न व्यवसाय गर्ने प्रयास गरे । तर, उनलाई कुनै पनि व्यवसायमा सफलता प्राप्त भएन । एडिसन बाल्यकालमा धेरै कमजोर थिए । उनको व्यक्तित्व जटिल थियो तर उनको मस्तिष्क भने सधैँ प्रश्नले भरिएको हुन्थ्यो । उनी कुनै पनि कुरालाई त्यतिबेलासम्म मान्ने गर्दैनथे, जबसम्म त्यसको स्वयम् परीक्षण हुुँदैनथ्यो । यस किसिमको दृष्टिकोणका कारण उनलाई स्कुलबाट निष्कासन गरियो । उनका शिक्षकले भनेका थिए, ‘यो केटाको दिमाग छैन ।’
स्कुलबाट निष्कासित भएपछि एडिसनलाई उनकी आमाले घरमै पढाइन् । १० वर्षको उमेरमा उनले आफ्नो घरको तहखानामा एक प्रयोगशाला बनाएका थिए । आफ्नो प्रयोगका निम्ति उनलाई धेरै पैसाको आवश्यकता थियो । उनले ग्रान्ड ट्रक रेल्वेमा गुड्दै गरेका रेलगाडीमा अखबार, टफी बिक्री गर्न सुरु गरे । उनले यो काम करिब एक वर्षसम्म गरेका थिए । यस अवधिमा उनले एक साधारण किसिमको टेलिग्राम पनि बनाएका थिए ।
सन् १८६१ मा उत्तर–दक्षिणबीचमा युद्ध छेडियो । यो युद्धको समाचार छिटोभन्दा छिटो प्राप्त होस् भन्नेमा सबैजना उत्सुक थिए । यो आवश्यकतालाई ध्यान दिँदै एडिसनले एउटा समाचारपत्र छाप्ने योजना बनाए । उनले १२ डलरमा पुरानो छापाखाना किने । त्यसलाई ट्रेनमै स्थापना गरे । केही कागज किनेर उनले समाचारपत्र प्रकाशन गर्न सुरु गरे । यस समाचारपत्रको नाम थियो– ग्रान्ड ट्रक हेराल्ड । यो विश्वकै पहिलो समाचारपत्र थियो, जसलाई रेल्वे ट्रेनमा प्रकाशन गरिन्थ्यो । त्यहीँबाट वितरण पनि गरिन्थ्यो । समाचारपत्रको चार सय बढी ग्राहक थिए । यस अवधिमा उनले रेलगाडीमा डब्बाको एक सानो प्रयोगशाला पनि बनाए, जसमा उनले आफ्नो खाली समयमा केही न केही प्रयोग गर्दै रहे ।
ती दिनमा एडिसनको जीवनमा एउटा नराम्रो दुर्घटना भयो, त्यस दुर्घटनाबाट उनी सधैँका लागि बहिरा भए । एक दिन उनी पत्रिका बिक्रीका निम्ति ट्रेनबाट झर्दै गर्दा रेल चल्यो । एडिसनलाई जब रेल चलेको थाहा भयो, उनी त्यसको पछि जोडले कुदे । त्यसबेला रेल्वेका एक कर्मचारीले उनलाई ताने, उनको हातमा पत्रिका थिए । त्यो कर्मचारीले उनको कानमा समाएर तानेको थियो । केही दिनपछि एडिसनले आफ्नो श्रवणशक्ति कमजोर हुन थालेको अनुभव गरे । यही कारण उनले जीवनभरि बहिरो हुनुपर्यो ।
एक दिनको कुरा हो, उनको रेलको डब्बामा रहेको प्रयोगशालामा आगो लाग्यो । यो देखेर रेल्वे अधिकारी रिसाए । उनको प्रयोगशालाको सबै वैज्ञानिक उपकरण र रसायन रेलको डिब्बाबाट तल फ्याँकियो । यसपछि उनीमाथि रेलमा पत्रिका बिक्री गर्न प्रतिबन्ध लगाइयो । सन् १८६२ को कुरा हो, आफ्नो प्राणमाथि खेलेर एडिसनले रेल्वे स्टेसन मास्टरको बालकलाई रेल दुर्घटनाबाट बचाए । यो कुराबाट स्टेसन मास्टर खुसी भए । स्टेसन मास्टरले आर्थिक रूपमा एडिसनलाई केही दिन त सकेनन् तर उनले एडिसनलाई टेलिग्राफी सिकाए ।
एडिसनले सन् १८६८ मा टेलिग्राफमाथि प्रथम पेटेन्ट गराए । त्यही वर्ष उनले मतगणना गर्ने मेसिन आविष्कार गरेका थिए । यसभन्दा अगाडिका वर्ष उनी न्युयोर्क गए । त्यहाँ पनि उनले संकटमै जीवन बिताएका थिए तर केही समयपछि एडिसनलाई स्टक एक्सचेन्जको टेलिग्राफमा काम मिल्यो । उनले आफ्नो टेलिग्राफ उपकरण एक्सचेन्जका अध्यक्षलाई भेटेर उपहार दिए । एडिसनले यो भेटमा दुई हजार डलर प्राप्त होला भन्ने आस गरेका थिए तर एक्सचेन्जका अध्यक्ष उनको टेलिग्राफबाट यति प्रभावित भए कि उनलाई ४० हजार डलर दिए । त्यहीँबाट उनको सुखद भविष्यको यात्रा सुरु भयो ।
सन् १८६७ मा न्युजर्सीको मैनलोपार्कमा उनले प्रयोगशाला स्थापित गरेका थिए । जहाँ एडिसनले कैयौँ नवीनतम् आविष्कार गरे । त्यहाँ मानिसले उनलाई मैनलोपार्कको जादुगर भन्न थाले । सन् १८७७ मा एडिसनले ग्रामोफोन आविष्कार गरे । यही प्रयोगशालामा सन् १८७९ मा एडिसनले विद्युत् बल्ब निर्माण गरे । नयाँ वर्षको उपलक्ष्यमा सम्पूर्ण सडकलाई एडिसनद्वारा आविष्कार गरिएका बल्बले सजाइयो । यो आविष्कार हेर्न विश्वका धेरैजसो पत्रकार एडिसनकहाँ केन्द्रित भए । विद्युत् बल्बबारे काम गरिरहेकै बेला उनले टापायनिक उत्सर्जन सिद्धान्तको आविष्कार गरेका थिए । त्यही आधारमा उनले इलेक्ट्रोनिक बल्ब निर्माण गरेका थिए ।
सन् १८८७ मा उनी न्युजर्सीको वेस्ट ओरेन्ज नामक स्थानमा बनेको प्रयोगशालामा गए, जहाँबाट मानौँ नयाँ आविष्कारको अटुट धारा बगिरह्यो । एडिसनले एउटा मेसिन आविष्कार गरेका थिए, जसका आधारमा उनले रेमिगटन टाइपराइटर विकास गरेका थिए । उनले विद्युत्बाट सञ्चालन हुने कलम पनि आविष्कार गरे, जुन त्यसपछि मिमोग्राफीका रूपमा विकसित भयो । सन् १८८९ मा उनले चलचित्र क्यामेरा विकास गरेका थिए ।
सन् १९१२ मा एडिसनलाई उनका पुराना सहयोगी टेस्लाका साथ नोबेल पुरस्कार दिने घोषणा भयो तर टेस्ला एडिसनको साथमा जोडिन चाहँदैनथे । यसकारण यी दुवैजना वैज्ञानिक नोबेल पुरस्कारबाट वञ्चित रहे । आफ्नो जीवनको अन्तिम दशकसम्म (१८ अक्टोबर १९३१) मा पनि उनी नयाँ वस्तु आविष्कारमा निरन्तर लागिरहे । उनी प्रविधिको जादुगरका रूपमा विश्वप्रसिद्ध भए । यति महान् प्रसिद्धिका बाबजुद पनि उनी अति नै सरल स्वभाव, मिलनसार व्यक्ति थिए । उनी भन्थे, ‘मभित्र १ प्रतिशत विद्वताको उत्साह छ तर ९९ प्रतिशत परिश्रमको ।’
सन् १९६० मा उनको नाम अमेरिकाका ती महान् प्रसिद्ध व्यक्तिहरूसँग जोडियो, जसलाई ‘मेम्बर अफ दी हाल अफ प्रेम’ पनि भन्ने गरिन्छ ।