दुर्छिम (खोटाङ) । जेल यातना गृह हो कि सुधारगृह ? बहस पहिल्यैदेखि चल्दै आएको हो । जेल सुधारगृह हुनुपर्छ भन्ने मान्यता विकास भइसकेको छ ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले काठमाडौंका डिल्लीबजार र जगन्नाथदेवलमा रहेका जेल निरीक्षण गरे । ती जेल राणाकालीन भवनमा रहेका छन् । त्यसमाथि क्षमताभन्दा तीन÷चार गुणा बढीलाई जेलमा राखिएका छन् ।
भनेपछि जेल सुधार होइन, यातनागृह बनिरहेको छ भन्ने प्रस्ट हुन्छ । गृहमन्त्री ‘बादल’ले जेल सुधार कार्ययोजना तत्काल ल्याउने बताएका छन् । यातनागृह जस्ता जेलमा बस्ने र सेतो रङका पर्खाल र भित्ता भएका जेल बस्नेमा मानसिक समस्या हुने, आत्महत्या गर्ने र हिंसात्मक झडप गर्ने अनुसन्धानले देखाएको छ ।
अमेरिकाको ओरेगन जेल विशाल मानिन्छ । जहाँ ठूलो संख्यामा कैदीबन्दी रहेका छन् । उनीहरूमा गरिएको अनुसन्धानले त्यस्तो भयावह समस्या देखाएको हो । सुधारगृह बनाउने हो भने जेललाई प्राकृतिक वातावरणयुक्त बनाउनुपर्छ । उनीहरूलाई राखिने कोठा नीलो रङका भए कैदीबन्दी शान्त र खुसी पनि हुने अध्ययनले देखाएको छ । यो अवधारणा विकास र सफल परीक्षण नलिनी नदकर्नीले गरेकी हुन् ।