भाषा आधारभूत सञ्चार माध्यम हो। छापा र विद्युतीय भन्ने प्राविधिक वर्गीकरण मात्र हो, सञ्चारको वास्तविक माध्यम त भाषा नै हो– चाहे लेखियोस् वा बोलियोस्। भाषा नै त्यो ऐना हो जसमा हाम्रो सभ्यता–असभ्यता, ज्ञान–अज्ञान, विवेक–अविवेक र व्यक्तिदेखि समाजसम्मको व्यक्तित्व, योग्यता एवम् स्तर प्रतिबिम्बित हुन्छ। भाषालाई शुद्ध, सटीक, भावप्रवण र प्रभावशाली बनाउनु आफैंलाई परिष्कृत गर्नु हो।
सम्यक् प्रयोग
समाचारको विषयवस्तुमा झैं तपाईंले प्रयोग गर्ने भाषामा पनि ए–बी–सी को नियम लागू हुन्छ। जे भन्न खोजिएको हो, शब्द र वाक्यले अचूक रूपमा ठ्याक्कै त्यही बुझाउनुपर्छ, प्रस्तुति सन्तुलित हुनुपर्छ र अभिव्यक्ति अनर्थकारी वा हास्यास्पद हुनुहुँदैन।
शब्दको अर्थ के हो, ठीकसँग बुझेर मात्र प्रयोग गर्नुहोस् । नाम होस् वा विशेषण, अर्थ नबुझी प्रयोग गर्दा अनर्थ हुन सक्छ :
- यमुनाले एक जना ज्योतिषलाई आफ्नो हात देखाइन्।
‘ज्योतिष‘ भनेको शास्त्र वा विद्या हो। व्यक्तिलाई ज्योतिष भनिदैन। ज्योतिष पढेको वा ज्योतिष जान्ने मान्छेलाई ज्योतिषी भनिन्छ।
- व्यवसायमा बारम्बार असफल भएपछि उनमा निराशावाद भरियो।
‘वाद‘ भनेको सिद्धान्त हो। उनमा निराशाको सिद्धान्त होइन, निराशा मात्र भरिएको हो।
- दुई वर्षदेखि गैंडाको चोरीशिकारी निकै बढेको छ।
‘शिकारी‘को अर्थ हो – शिकार गर्ने व्यक्ति। यहाँ चोरीशिकारी होइन चोरीशिकार (लुकेर गरिने अवैध शिकार) बढ्यो भन्न खोजिएको हो।
- तीन वर्ष यता कुकुरको जनसंख्या निकै बढेको छ।
‘जनसंख्या‘ भनेको मानिसहरुको संख्या हो। मानिस बाहेक अरूका लागि जनसंख्या प्रयोग हुँदैन। ‘संख्या‘ मात्र भने पुग्छ।
- वरिष्ठ हास्यव्यंग्यकार भैरव अर्याललाई त्यस वर्ष मदन पुरस्कार प्रदान गरियो।
‘प्रदान‘भनेको ठूलाले सानालाई दिने हो। विशिष्ट व्यक्तिलाई पुरस्कार, सम्मान आदि दिंदा अर्पण गरियो भन्नु राम्रो हुन्छ।
‘प्रदान‘ गर्दा लिने व्यक्ति बढी झुक्छ, ‘अर्पण‘ गर्दा दिने व्यक्ति।
- उहाँको भनाइ र गराइमा विरोधाभास छ।
‘आभास‘ को अर्थ मिथ्या ज्ञान वा भ्रम हो। ‘विरोधाभास‘ को अर्थ पनि दुई वा धेरै वस्तु अथवा कुराका बीच विरोध भएजस्तो, कुरा नमिलेजस्तो भान पर्नु मात्र हो। साँच्चिकै विरोध भएको वा कुरा नमिलेको अवस्थालाई ‘विरोधाभास‘ले जनाउँदैन। यसको सट्टा ‘अन्तर्विरोध‘ शब्दले काम चलाउन सकिन्छ।
भन्न चाहेको भन्दा फरक आशय ध्वनित हुन सक्छ, ख्याल गर्नुहोस् :
- सरकारले सगरमाथाको चित्र अङ्कित नयाँ हुलाक टिकट निष्कासन गरेको छ।
‘निष्कासन‘ शब्दले नकारात्मक भाव दिन्छ। ‘हत्यामा संलग्न दुई जना विद्यार्थीलाई विश्वविद्यालयबाट निष्कासन गरियो‘ जस्ता वाक्यमा मात्र ‘निष्कासन‘ को प्रयोग उचित हुन्छ। यहाँ ‘…नयाँ हुलाक टिकट प्रकाशन गरेको छ/निकालेको छ‘ भन्नु राम्रो हुन्छ।
- लागू पदार्थ सेवन गर्नेहरूलाई एड्स लाग्ने खतरा हुन्छ।
‘सेवन‘ चाहिं सकारात्मक अर्थ दिने शब्द हो। ‘बिहान बिहान स्वच्छ वायु सेवन गर्नु स्वास्थ्यका निम्ति राम्रो हुन्छ‘ जस्ता ठाउँमा मात्र ‘सेवन‘ को प्रयोग उपयुक्त हुन्छ। यहाँ चाहिं ‘लागू पदार्थ खाने/प्रयोग गर्नेहरूलाई‘ भन्नु उचित हुन्छ।
- संयोगवश उनी चढेको रिक्सा दुर्घटनाग्रस्त भयो ।
‘संयोगवश’ सकारात्मक भाव बोकेको शब्द हो । संयोगवश दुर्घटना हुँदैन, बरु त्यसबाट जोगिन सकिन्छ। यस वाक्यमा ‘संयोगवश’ को काम छैन ।
- माओवादीले निर्दोष शिक्षकलाई कुटपीट गरेको एमालेको दाबी।
दाबी भनेको कुनै वस्तु वा कार्यमा आफ्नो हकको जिकिर गर्ने काम हो। जस्तै: लोकतन्त्र ल्याउन आफ्नो महत्त्वपूर्ण भूमिका भएको एमालेको दाबी। कसैलाई कुनै खराब काम गरे बापत लगाइएको दोष, बात वा अभियोगलाई चाहिं आरोप भनिन्छ। यहाँ पनि दाबी होइन आरोप भन्नुपर्छ।
सामान्यतः दाबी आफैं गरिन्छ र आरोप अर्कालाई लगाइन्छ।
- बिहानबेलुका भारी बोक्नु रामको दैनिकी हुन पुगेको छ। श्यामको दिनचर्या भने गफ गरेर बित्छ।
‘दैनिकी‘ शब्दको अर्थ दिनदिनैको काम वा क्रियाकलाप नभएर दिनदिनैका घटना लेख्ने पुस्तिका अर्थात् ‘डायरी‘ हो। ‘दिनचर्या‘ चाहिं दिनदिनै/दिनभर गरिने कामलाई भनिन्छ। त्यसैले यहाँ भन्नुपर्छ– बिहानबेलुका भारी बोक्नु रामको दिनचर्या हुन पुगेको छ। श्यामको दिन भने गफ गरेर बित्छ।
- यस खानेपानी आयोजनाबाट २० हजार जनसंख्या लाभान्वित हुनेछन्।
‘जनसंख्या‘ भनेको जनताको संख्या हो, जनता नै चाहिं होइन। संख्या निर्जीव हुन्छ त्यसैले त्यो लाभान्वित हुने कुरै आएन । यस्ता ठाउँमा सीधै ‘जनता लाभान्वित हुनेछन्‘ भन्नु बुद्धिमानी हुन्छ।
‘राष्ट्राध्यक्ष तीर्थयात्रामा‘ भन्दा राष्ट्र होइन त्यसको अध्यक्ष तीर्थ गर्न गएको अर्थ लागे जस्तै अथवा ‘छात्रावास ध्वस्त‘ भन्दा छात्रहरू होइन तिनको आवास ध्वस्त भएको बुझिए जस्तै ‘जनसंख्या लाभान्वित‘ भन्दा पनि जनता होइन तिनको संख्या लाभान्वित भन्ने अर्थ निस्कन्छ।
‘म ताक्छु मूढो, बन्चरो ताक्छ घुँडो’ हुन पुग्ला, सतर्क रहनुहोस् :
- यो सन्धिबाट राष्ट्रघात बाहेक अर्को कुनै उपलब्धि हासिल हुन सक्तैन।
यस्तो लाग्छ, मानौं राष्ट्रघात पनि एउटा उपलब्धि हो। त्यो हासिल हुने भए पनि त्यसबाहेक अर्को कुनै उपलब्धि हात नलाग्ने भयो भन्ने चिन्ता परेको छ।
- यसबाट जनतालाई भड्काउनु बाहेक कुनै फाइदा हुनेछैन।
जनतालाई भड्काउनु पनि कुनै ‘फाइदा‘ हो र ?
- सो विद्यालयमा एक महीनाभित्र दोस्रो पटक एउटी छात्रा गर्भवती भएकी छन्।
‘एउटी छात्रा‘ एक महीनामा दोस्रो पटक गर्भवती भएकी ?
- साहित्यका बारेमा भन्नुपर्दा, नेपाली साहित्यको इतिहास ज्यादै उज्ज्वल छ।
भन्नु नपर्दा चाहिं इतिहास अँध्यारो हुने हो कि ?
- विश्वलाई शान्तिको सन्देश दिएर महान त्याग गर्ने गौतम बुद्धलाई हामी पूजा गछौं।
यस्तो लाग्छ, मानौं शान्तिको सन्देश दिनु नै महान त्याग हो।
- विश्वको सर्वोच्च शिखर सगरमाथादेखि शान्तिका दूत गौतम बुद्धको जन्मस्थल हो नेपाल।
सगरमाथाको पनि जन्मस्थल ?
निश्चित र स्पष्ट अर्थ नबुझाउने शब्दबाट जोगिनुहोस् :
- चक्काजामबाट कर्मचारीहरू पनि प्रभावित भएका छन्।
–बाढीबाट दुई गाविस प्रभावित भएका छन्।
–आगलागीबाट बीस घर प्रभावित भएका छन्।
चक्काजामले गर्दा कर्मचारीहरू पैदलै अफिस जानुपर्ने भएको हो, बाढीले दुई गाविसका खेतबारीमा पानी भरिएको हो र आगलागीबाट बीस घर खरानी भएका हुन्। तीन किसिमका यति फरक अवस्थाका लागि प्रयोग भएको ‘प्रभावित‘ शब्दले वस्तुतः कुनै पनि अवस्थाको निश्चित चित्र उतार्न सकेको छैन।
- बम विस्फोटका कारण विद्यालय भवन क्षतिग्रस्त भएको छ।
‘क्षतिग्रस्त‘ शब्दले विद्यालय पूरै भत्केको, एउटा भित्तामा प्वाल परेको, प्लास्टर उप्केको अथवा झ्यालका सीसाहरू फुटेको जुनसुकै अवस्थालाई जनाउँछ। यो पनि स्पष्ट अर्थ नबुझाउने शब्द हो।
- गैरकानूनी क्रियाकलापमा लागेका कारण ऊ दण्डित भयो।
‘गैरकानूनी‘ शब्दले सार्वजनिक ठाउँमा होहल्ला गर्नु र ५१ जनाभन्दा बढी जन्ती लैजानुदेखि जालसाजी, कुटपीट, अपहरण, मानव बेचबिखन र हत्यासम्मलाई बुझाउँछ। यहाँ के बुझ्ने ?
प्रजातान्त्रिक, अप्रजातान्त्रिक, अभिवृद्धि, विकास, दुरवस्था, प्रगति जस्ता थुप्रै शब्द छन् जसले वास्तवमा कुनै निश्चित तहको र स्पष्ट अर्थ व्यक्त गर्दैनन्। त्यसैले कि यस्ता शब्दको प्रयोगै नगर्ने, नत्र भन्न खोजेको कुरा तुरुन्तै स्पष्ट पार्ने गर्नुपर्छ।
सर्वनामको प्रयोगमा पनि होशियारी उत्तिकै जरूरी छ :
- नेपालको फूटबल टिम हिजो जापान प्रस्थान गर्यो। उनीहरू सबैले यसपालि रातो ज्याकेट लगाएका थिए।
‘उनीहरू‘ भनेको को ? फूटबल टीम एउटा हो, त्यसलाई उनीहरू भन्न मिल्दैन। भन्नुपर्छ– ‘टीमका सबै सदस्यले…‘
- भित्तामा हरिबहादुरको तस्विर टाँगिएको थियो जसबाट मैले अघिल्लो हप्ता दुई हजार रुपैयाँ लिएको थिएँ।
कसबाट दुई हजार रुपैयाँ लिएको ? हरिबहादुरबाट कि तस्विरबाट ? यस वाक्यले त तस्विरबाट लिएको भन्ने अर्थ पो बुझाउँछ !
- क्लबले बर्सेनी तटबन्ध मर्मत गर्ने गरेकाले गाउँलेहरू आजसम्म बाढीबाट सुरक्षित छन्। भविष्यमा पनि यो जरूरी छ।
‘यो‘भनेको के ? भन्नुपर्छ – भविष्यमा पनि यस्तो भइरहनु / तटबन्धको मर्मत भइरहनु जरूरी छ।
- उनले फ्रेमबाट तस्विर निकाले र त्यो हरिलाई दिए।
‘त्यो‘ भनेको के ? फ्रेम कि तस्विर ?
- जंगलमा एउटा हरिन र एउटा मुजुर देखिए। श्यामले भन्यो– आहा, यो कति राम्रो रहेछ।
‘यो‘ भनेको के ? हरिन कि मुजुर ?
- पार्टी सभापतिले हामीले अनुशासित भएर पार्टीको नीति बमोजिम काम गर्नुपर्ने बताउनुभयो।
वक्ताले आफ्नै पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै ‘हामीले‘ भनेका हुन्। तर यस वाक्यले चाहिं यो लेख्ने व्यक्ति अर्थात् रिपोर्टर(हरु) ले नै अनुशासित भएर उनको पार्टीको नीति बमोजिम काम गर्नुपर्ने भन्ने अर्थ बुझाउँछ। (सही अर्थ बुझाउन वाक्यको पुनर्लेखन गर्नुहोस्।)
विशेषणले तपाईंलाई अपठ्यारोमा पार्न सक्छ । यसको प्रयोगमा अतिरिक्त सावधानी अपनाउनुहोस् :
- बलरामले दर्जनौं चेलिबेटी भारत लगेर बेचिसकेको छ । ऊ सजाय दिन लायक व्यक्ति हो।
‘सजाय दिन लायक‘ होइन, ‘सजाय पाउन लायक‘।
- उसको उत्तेजित भनाइले अरूलाई रिस उठायो।
भनाइ निर्जीव वस्तु भएकाले त्यो ‘उत्तेजित‘ हुन सक्दैन। भन्नुपर्छ– ‘उसको उत्तेजनापूर्ण भनाइले…‘
- श्यामको घर वराहक्षेत्रबाट दुई दिन टाढा छ।
दूरीलाई दिनमा नापिंदैन। त्यसैले भनौं –‘…पैदल हिंड्दा दुई दिनको बाटोमा छ।‘
- संगठनको तीनदिने प्रथम राष्ट्रिय भेला हिजो शुरु भयो।
यस वाक्यले संगठनका राष्ट्रिय भेलाहरू विभिन्न थरिका हुँदा रहेछन् जसमध्ये ‘तीनदिने‘ राष्ट्रिय भेला चाहिं पहिलो चोटि भएको रहेछ भन्ने अर्थ बुझाउँछ। यसबाट बच्न वाक्यबाट ‘तीनदिने‘ शब्द हटाएर अर्को वाक्यमा ‘भेला तीन दिनसम्म चल्नेछ‘ भन्नु ठीक हुन्छ।
- उहाँले तथाकथित गुण्डागर्दीको भर्त्सना गर्नुभयो।
‘तथाकथित‘शब्दले भन्न त भनिन्छ तर त्यस्तो होइन वा प्रमाणित भइसकेको छैन भन्ने अर्थ बुझाउँछ। जे हुँदै होइन वा प्रमाणित भएकै छैन त्यसको भर्त्सना किन ?
- मदन पुरस्कार विजेता उपन्यासकार कृष्ण धरावासीले कविता वाचन गर्नुभयो।
प्रतियोगिता जितेर पुरस्कार पाएको अवस्थामा मात्र ‘विजेता‘ भन्न सुहाउँछ। कदर वा सम्मानस्वरूप दिइने पुरस्कार चाहिं जितिने होइन, पाइने कुरा हो। त्यसैले ‘मदन पुरस्कार प्राप्त उपन्यासकार…‘ भन्नु ठीक हुन्छ।
- दैवी प्रकोपबाट पीडित जनताले पर्याप्त राहत पाउन सकेनन्।
‘दैवी प्रकोप‘ होइन, प्राकृतिक प्रकोप भन्नु राम्रो। ‘दैवी प्रकोप‘ को अर्थ देउता वा ईश्वरको प्रकोप हो। बाढी, पहिरो, सुख्खा, भुइँचालो आदि प्राकृतिक प्रकोप हुन्। तिनलाई देउता अथवा ईश्वरसँग लगेर नजोडौं।
- कुखुराजन्य व्यवसायबाट उसले ठूलो कमाइ गर्यो।
‘जन्य‘ को अर्थ उत्पन्न भएको वा पैदा हुने हो। अण्डा, चल्ला, मासु आदि कुखुराजन्य होलान् तर व्यवसाय कुखुराजन्य हुँदैन। त्यो कुखुरासँग सम्बन्धित मात्र हुन्छ। त्यसैले यहाँ ‘कुखुरा सम्बन्धी‘ भन्नु राम्रो हुन्छ। ‘कुखुरापालन‘ मात्रले पनि धेरै कुरा समेट्न सक्छ।
‘यौनजन्य व्यवहार‘,’मदिराजन्य पदार्थ‘,‘सुर्तीजन्य वस्तु‘ जस्ता प्रयोगबाट पनि बच्नु जरुरी छ।
- शिक्षाको स्तर कसरी बढाउने भन्ने कुरा चिन्ताजनक छ।
– प्रतिवर्ष चेलिबेटी बेचबिखन बढ्दै जानु चिन्तनीय विषय बनेको छ।
‘चिन्ताजनक‘ को अर्थ हो – चिन्ता उत्पन्न गर्ने। र, ‘चिन्तनीय‘ को अर्थ हो – चिन्तन गर्न जरूरी। एउटाको सम्बन्ध चिन्तासँग छ भने अर्काको चिन्तनसँग। माथिका वाक्यहरू मध्ये पहिलोमा ‘चिन्तनीय‘ र दोस्रोमा ‘चिन्ताजनक‘ भन्नु उपयुक्त हुन्छ।
- संस्थाले आशातीत प्रगति गर्न सकेको छैन।
‘आशातीत‘ को अर्थ हो – जति आशा वा अपेक्षा गरेको हो त्यसभन्दा वढी। यस वाक्यले चाहिं आशा गरिए जति पनि प्रगति गर्न सकेन भन्न खोजेको छ। त्यसका लागि ‘आशातीत‘ को ठाउँमा ‘आशानुरूप‘ भन्नुपर्छ।
- नेताहरूका अस्पष्ट कुराले जनता गुमराहमा परेका छन्।
‘गुमराह‘ शब्द विशेषण हो र यसको अर्थ हो― जसको बाटो हराएको छ वा बेपत्ता भएको छ। ‘कुइराको काग’ भने जस्तै । कोही गुमराह हुन सक्छ वा कसैलाई गुमराह बनाउन सकिन्छ। तर कोही गुमराहमा पर्न सक्दैन र कसैलाई गुमराहमा पार्न पनि सकिंदैन किनभने गुमराह भनेको कुनै भाँडो, ठाउँ वा अवस्था होइन। त्यसैले भन्नुपर्छ ‘…जनता गुमराह भएका छन्‘ वा ‘…जनतालाई गुमराह बनाएका छन्।‘
- दुवै मृतकहरूले पालैपालो उनको बलात्कार गरेका थिए।
मरिसकेकोलाई मात्र मृतक भनिन्छ। स्पष्ट छ, मृतकले कहिल्यै बलात्कार गर्न सक्दैन।
- म मृतात्माको चिरशान्तिको कामना गर्दछु।
आत्माको सिद्धान्त अनुसार शरीर मर्छ तर आत्मा कहिल्यै मर्दैन। त्यसैले मृतात्मा (मृत आत्मा) शब्द नै हुँदैन। भन्नुपर्छ― ‘दिवंगत (स्वर्ग गएको) आत्माको।‘
हिसाबले कहिलेकाहीं नराम्रोसँग झुक्याउँछ, होश गर्नुहोस् :
- साउनको पहिलो हप्ता आँपको भाउ प्रतिकिलो ४० रुपैयाँ थियो। दोस्रो हप्ता ५० प्रतिशत बढेर ६० रुपैयाँ पुग्यो। तेस्रो हप्ता ५० प्रतिशत घटेर फेरि ४० रुपैयाँमा आइपुगेको छ।
कुरो मिलेन। ४० रुपैयाँमा ५० प्रतिशत बढेर ६० रुपैयाँ भएको त ठीक हो, तर ६० रुपैयाँमा ५० प्रतिशत घट्दा ३० रुपैयाँ हुन्छ, ४० रुपैयाँ होइन।
- बैंकले कर्जा ब्याजदरमा दुई प्रतिशत वृद्धि गरी १० बाट १२ प्रतिशत पुर्याएको छ।
यहाँ पनि कुरो मिलेन। कर्जा ब्याजदरमा दुई प्रतिशत होइन, २० प्रतिशत वृद्धि भएको हो। साबिकको १० प्रतिशतमा २० प्रतिशत थप्दा मात्र १२ प्रतिशत हुन्छ।
- प्रति किलो १०० रुपैयाँ पर्ने अनारको भाउ एक महीनामै दुई गुणा वढेर २०० रुपैयाँ भएको छ।
गलत ! १०० रुपैयाँको दुई गुणा भनेको २०० रुपैयाँ हो। १०० मा २०० बढ्दा (थपिंदा) ३०० रुपैयाँ हुन्छ। भन्नुपर्छ– ‘प्रति किलो १०० रुपैयाँ पर्ने अनारको भाउ एक महिनामै दोब्बर भएको छ।‘
ख्याल गर्नोस्– ‘दुई गुणा बढ्नु’ भनेको तीन गुणा बराबर हुनु हो,’चार गुणा वढ्नु’ भनेको पाँच गुणा बराबर हुनु हो।
- प्रति कित्ता दुई हजार रुपैयाँ पर्ने शेयरको भाउ एक महीनामै चार गुणा घटेर ५०० रुपैयाँ भएको छ।
झन् गलत ! दुई हजारको चार गुणा भनेको आठ हजार हो। दुई हजारमा आठ हजार कसरी घट्न सक्छ ?
ध्यान दिनोस्― ‘गुणा’ कहिल्यै घट्दैन, जहिले पनि बढ्छ मात्र।
लक्षित श्रोताको ख्याल नगरिएका र सन्दर्भहीन तुक्का गाँसिएका वाक्य काम लाग्दैनन् :
- देशको राजधानी काठमाडौंमा यसै हप्ता जनजातिहरूको राष्ट्रिय सम्मेलन हुँदैछ।
–गत वर्ष उनले संसारको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरे।
नेपाली श्रोतालाई काठमाडौं देशको राजधानी हो अथवा सगरमाथा संसारको सर्वोच्च शिखर हो भनेर चिनाइरहनु जरूरी छैन।
- हामी आन्दोलनको ज्वारभाटा सृजना गर्नेछौं।
– प्रजातन्त्रको रक्षा गर्नु सिसिफसको प्रयास सिद्ध भएको छ।
भूपरिवेष्ठित देशका बासिन्दालाई ‘ज्वारभाटा‘को जंजालमा फँसाउनु ठीक होइन। ‘सिसिफसको प्रयास‘ पनि आम नेपालीका निम्ति नबुझिने पहेली हो।
- काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको नेपाल राष्ट्र बैंकका गभर्नर चारदिने भ्रमणका लागि हिजो चीनतर्फ लाग्नुभयो।
— देशको अन्नभण्डार मानिने चितवनमा सरकारी स्कूलहरूको अवस्था दयनीय छ।
‘काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको‘ र ‘देशको अन्नभण्डार मानिने‘ वाक्यांशहरु सन्दर्भहीन छन्। यी वाक्यमा तिनको कुनै काम छैन।
वाक्य जस्तै उपवाक्यको पनि क्रियापदसँग प्रत्यक्ष सम्बन्ध वा अन्वय हुनुपर्छ। उपवाक्यलाई बीच बाटामै अलपत्र छाडेर हिंड्ने रोगबाट बच्नुहोस् :
- यो पुस्तिका पढ्ने मात्र होइन यसमा लेखिएका कुरालाई व्यवहारमा उतार्नु पनि पर्छ।
‘यो पुस्तिका पढ्ने मात्र होइन‘ उपवाक्यको क्रियापदसँग सम्बन्ध नहुनाले त्यो अलपत्र परेको छ। वाक्यलाई यसरी पुनर्लेखन गर्न सकिन्छ :
क. यो पुस्तिका पढेर मात्र हुँदैन यसमा लेखिएका कुरालाई व्यवहारमा उतार्नु पनि पर्छ।
ख. यो पुस्तिका पढ्ने मात्र होइन यसमा लेखिएका कुरालाई व्यवहारमा उतार्ने पनि गर्नुपर्छ।
- पहिले गाउँमा अधिकारका कुरा उठाउन नपाइने र केही बोलेमा ठूलाठालुहरूबाट दण्डित हुनुपर्थ्यो।
‘… कुरा उठाउन नपाइने‘ उपवाक्य क्रियापद नभएर टुहुरो बनेको छ। भन्नुपर्छ ― ‘कुरा उठाउन पाइँदैनथ्यो र…‘
- उहाँले ऐन बनेर मात्र हुँदैन त्यसलाई लागू गर्न जनता स्वयं अग्रसर हुनुपर्ने बताउनुभयो।
‘ऐन बनेर मात्र हुँदैन‘ उपवाक्य बेवारिसे भएको छ। वाक्य ठीक पार्न दुइटा विकल्प हुन सक्छन् :
क. उहाँले ऐन बनेर मात्र हुँदैन त्यसलाई लागू गर्न जनता स्वयं अग्रसर हुनुपर्छ भन्नुभयो।
ख. उहाँले ऐन बनेर मात्र नहुने त्यसलाई लागू गर्न जनता स्वयं अग्रसर हुनुपर्ने बताउनुभयो।
कार्यको उत्पत्ति कारणबाट हुन्छ। जुन कुरो कारण नै होइन त्यसलाई कारण ठानेर अथवा कारण जस्तो बनाएर प्रस्तुत नगर्नुहोस् :
- नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले यसको साक्षरता प्रतिशत न्यून छ।
भूपरिवेष्ठित हुनु साक्षरता न्यून हुनुको कारण हुन सक्दैन। हुने भए स्विट्जरल्याण्डको साक्षरता पनि नेपालकै हाराहारीमा हुनुपर्थ्यो।
- दुग्धेश्वर महादेवस्थान हुँदै खनिएकाले यस सडकको नाम ‘लोकभक्त दुग्धेश्वर मार्ग’ राखिएको छ।
कारण अपूर्ण छ। दुग्धेश्वर महादेवस्थान मात्र कारण भए सडकको नाम ‘दुग्धेश्वर मार्ग‘ मात्र हुनुपर्थ्यो । ‘लोकभक्त‘ कहाँबाट आयो ?
- ईश्वरप्रतिको आस्था र विश्वासले नेपालीलाई दासतातर्फ उन्मुख गराएको छ।
ईश्वरप्रति आस्था राख्नु दासतातर्फ उन्मुख हुनुको कारण हुन सक्दैन। स्वतन्त्रताका लागि लड्ने गान्धीजस्ता व्यक्ति वा भारत, अमेरिका जस्ता मुलुकले ईश्वरमाथिको आस्था परित्याग गरेर त्यस्तो आन्दोलन थालेका होइनन्।
कारण मात्र होइन, यस वाक्यले प्रस्तुत गरेको परिणाम पनि भ्रान्तिकारी छ। नेपालीहरू दासतातर्फ उन्मुख नै हुन् त ?
शब्दलाई ठीक ठाउँमा नराख्दा अर्थ र आशय उल्टोपाल्टो हुन सक्छ। जुन शब्दको जससँग सम्बन्ध छ उसलाई त्यसैको नजिक लगेर राख्नुहोस् :
- त्यो तस्वीर उसले आफ्नो कार्यालयमा १० हजार रुपैयाँमा किनेर राखेको थियो।
तस्वीर कार्यालयमा किनेको होइन, त्यहाँ राखेको मात्र हो। भन्नुपर्छ― त्यो तस्वीर उसले १० हजार रुपैयाँमा किनेर आफ्नो कार्यालयमा राखेको थियो।
- सो अवसरमा अनेकौं बीबीसीका पत्रकार काठमाडौं आइपुगेका थिए।
बीबीसी अनेकौं छैनन्। त्यसैले ‘अनेकौं बीबीसीका पत्रकार‘ होइन, ‘बीबीसीका अनेकौं पत्रकार।‘
- ऊ निन्याउरो अनुहार पारेर बसेको थियो।
निन्याउरो अनुहार के पारेर बसेको? भन्नुपर्छ― अनुहार निन्याउरो पारेर बसेको।
- कानून अनुसार जसले घूस दिन्छ उसले पनि सजाय पाउनेछ।
कानून अनुसार घुस दिइँदैन किनभने घूस दिने कानून नै हुँदैन। भन्नुपर्छ ― जसले घूस दिन्छ उसले पनि कानून अनुसार सजाय पाउनेछ।
- पोखरा जान तयार भैसकेपछि विनीताले रामलाई भनिन्― आज मुग्लिनमा चक्काजाम छ रे।
विनीता पोखरा जान तयार भएकी होइनन्। त्यसैले भन्नुपर्छ― ‘पोखरा जान तयार भैसकेपछि रामलाई विनीताले भनिन्…‘
- चक्रकोषबाट स्वास्थ्य केन्द्रमा सुत्केरी हुन आएका १० जना महिलाले ऋण लिएका छन्।
महिलाहरू चक्रकोषबाट स्वास्थ्य केन्द्रमा सुत्केरी हुन आएका होइनन्। भन्न खोजिएको हो– स्वास्थ्य केन्द्रमा सुत्केरी हुन आएका १० जना महिलाले चक्रकोषबाट ऋण लिएका छन्।
- एउटा अजङ्गको भोटे कुकुर सुरक्षा गार्ड झैं पुच्छर हल्लाउँदै गेटमा उभिएको थियो।
सुरक्षा गार्डले पुच्छर हल्लाउँदैन। भए पो हल्लाउनु ? हास्यास्पद स्थितिबाट जोगिन ‘सुरक्षा गार्ड झैं‘लाई ‘पुच्छर हल्लाउँदै‘ पछि लगेर राख्नुहोस्।
- स्वास्थ्यमन्त्रीले पशुहरूमा कृत्रिम गर्भधारण गराएपछि जन्मने सन्तान बढी स्वस्थ हुने विश्वास व्यक्त गर्नुभयो।
स्वास्थ्यमन्त्री स्वयंले पशुहरूमा कृत्रिम गर्भधारण गराउने होइन। सम्भावित अनर्थबाट बच्न ‘स्वास्थ्यमन्त्रीले‘ लाई ‘विश्वास‘ पछि लगेर राख्नुहोस्।
- ‘अबको आधा घण्टामा रूस र जर्जियाबीच चर्किंदो युद्ध, नेपालमा कोशी नदीको बाढीले हजारौं विस्थापित, गौरमा आगलागी भएर २० घर खरानी, वाईसीएल र युथ फोर्सबीचको भिडन्तमा चार जनाको मृत्यु लगायत…सुन्न सक्नुहुनेछ।’
वाक्यको अन्त्यमा रहेको क्रियापद नसुनुन्जेल सबै घटना ‘अबको आधा घण्टामा‘ हुन लागेका हुन् कि जस्तो लाग्छ ! क्रियापदलाई ‘आधा घण्टामा’ सँगै राख्ने गरी वाक्यको पुनःसंगठन गरेर त्यसबाट जोगिन सकिन्छ ।
सन्तुलन
तर्क वा विचारमा जस्तै शब्द, पदावली, आदर, तुलना, व्यवहार आदिमा पनि सन्तुलन अत्यावश्यक हुन्छ । ध्यान दिनुहोस् :
- नेपालमा हिमाली, पहाडी र तराई तीनै क्षेत्रमा पशुपालन हुन्छ।
वाक्यमा संयोजकले जोडेका शब्द र पदावली एकै कोटिका हुनुपर्छ। हिमाली र पहाडी विशेषण हुन् भने तराई नाम हो। सन्तुलन ल्याउन भन्नुपर्छ― हिमाल, पहाड र तराई तीनै क्षेत्रमा पशुपालन हुन्छ।
–पढाइ, सुत्नु र व्यायाम विद्यार्थीका लागि उत्तिकै महत्त्वपूर्ण छन्।
कि ‘पढ्नु, सुत्नु र व्यायाम गर्नु‘ भन्ने, नत्र ‘पढाइ, सुताइ र व्यायाम‘ भन्ने।
–लक्ष्मीलाई पढेको भन्दा खेल्न मन पर्छ।
कि ‘पढेको भन्दा खेलेको मन पर्छ‘ भन्ने, नत्र ‘पढ्न भन्दा खेल्न मन पर्छ‘ भन्ने।
– पीपलको बोट उखेले पनि आफ्नो मनमा रहेको विश्वास भने उनले फाल्न सकेनन्।
‘पीपलको बोट उखेले पनि…विश्वास भने उखेल्न सकेनन्।‘
–खानेपानी संस्थानले वितरण गरेको पानी नउमाली पिउन सकिंदैन।
‘पिउन सकिंदैन‘ होइन, खान सकिंदैन भन्नु राम्रो। किनभने हामी पानी खान्छौं, पिउँदैनौं। त्यसैले त संस्थानको नाम पनि ‘खानेपानी‘ रहेको हो।
- भूपि शेरचन अत्यन्त लोकप्रिय कवि हुन्। उहाँका कविता ज्यादै मर्मस्पर्शी हुन्छन्।
जुन तहको आदर दिने हो त्यसमा एकरूपता हुनुपर्छ। एउटै व्यक्तिलाई कहीं तिमी कही तपाईं भन्नुहुँदैन। लिंग, जात, पद, बसाइ आदिका आधारमा आदरको तहमा फरक पर्न हुँदैन।
अनौपचारिक भनाइमा ‘तिमी‘ भन्नु राम्रो हुन्छ। यहाँ पनि ‘उनका कविता ज्यादै मर्मस्पर्शी हुन्छन्‘ भनेको राम्रो।
– उसका बुबा मन्त्री हुन् तर उनी पत्रिका बेचेर पढाइ खर्च जुटाउँछन्।
‘उनका बुबा मन्त्री हुन्। तर उनी…‘
– सचिवज्यू हाँस्न थाल्नुभयो। अनि शाखा अधिकृत र सुब्बा साहेब पनि हाँसे।
‘सचिव हाँस्न थाले। अनि...‘
– मधेसी र पहाडियाका बीच भेदभाव हुनुहुँदैन।
‘मधेसी र पहाडिया‘ भन्नु आफैंमा ज्यादै ठूलो भेदभाव हो। मधेसका बासिन्दालाई ‘मधेसी‘ भनेपछि पहाडका बासिन्दालाई पनि ‘पहाडी‘ भन्नुपर्छ। हिन्दी र त्यसबाट प्रभावित भाषा/भाषिकाहरूमा सानो, कमजोर वा तुच्छ भन्ने जनाउन अथवा होच्याउन शब्दमा ‘इया‘ लगाइन्छ। जस्तैः पुलिया (सानो पुल), पुलिसिया (जाबो पुलिस), औरतिया (नाथे आइमाई)। ‘पहाडिया‘ पनि ‘पहाडी‘ लाई होच्याउने शब्द हो। (‘मधेसी’ लाई ‘मधेसिया’ भन्नु पनि त्यस्तै हो!)
- फिलिप्सको टेलिभिजन स्यामसुङभन्दा सस्तो छ।
तुलना गरिन लायक वस्तुहरूबीच मात्र तुलना गर्नु सन्तुलित हुन्छ। फिलिप्स जस्तै स्यामसुङ पनि एउटा कम्पनीको नाम हो जसले यस ब्रान्डका टेलिभिजन लगायत थुप्रै सामग्री उत्पादन गर्छ। सिङ्गै कम्पनीको एउटा टेलिभिजन सेटसँग तुलना हुन सक्दैन। यहाँ भन्नुपर्छ― फिलिप्सको टेलिभिजन स्यामसुङको भन्दा सस्तो छ।
– रानीपोखरी समुद्रभन्दा सानो छ।
कुरा सही हो तर तुलना गरिएका वस्तुहरूबीच अतुलनीय अन्तर भएकाले यस्ता वाक्य हँसाउन मात्र काम लाग्छन्।
–भेडेटार बढी चिसो छ।
कहाँभन्दा बढी ? जसको तुलनामा बढी/कम भनिएको हो त्यसको उल्लेख गर्नैपर्छ। जस्तै: भेडेटार धरानभन्दा बढी चिसो छ।
– विनीता आफूलाई चलाख र अरूलाई फोहरी ठान्छे।
दुई विपरीत गुण, विशेषता आदिलाई दाँजेर प्रस्तुत गरिने वाक्यमा विपरीतार्थक शब्दकै प्रयोग गर्नुपर्छ। नत्र त्यसमा ज्यान आउँदैन। यहाँ भन्नुपर्छ– विनीता आफूलाई चलाख र अरूलाई मूर्ख/लाटो ठान्छे। अथवा– आफूलाई सुग्घरी र अरूलाई फोहरी ठान्छे।
- पूर्वी नेपाल र पश्चिमका नेपालीहरूको जीवनस्तर समान छैन।
उही तह वा अवस्थाका व्यक्ति, वस्तु आदिप्रति समान स्तरको व्यवहार हुनुपर्छ। यहाँ पनि कि ‘पूर्व र पश्चिमका नेपालीहरूको‘ भन्नुपर्छ, नत्र ‘पूर्वी नेपाल र पश्चिमी नेपालका जनताको‘ भन्नुपर्छ।
– हिन्दूका मन्दिरमा मूर्ति राखिएको हुन्छ भने मस्जिदमा मूर्ति हुँदैन।
कि ‘हिन्दूका‘ नभन्ने (मन्दिर हिन्दूकै मात्र हुन्छन्), नत्र मस्जिदलाई पनि ‘मुसलमानका‘ भनेर चिनाउने।
– पोख्रेल, बस्नेत र नरबहादुर तुरुन्तै घर फर्के।
दुई जनाको थर मात्र अनि एउटाको नाम मात्र किन ? कि सबैको थर मात्र भन्नुपर्यो, कि सबैको नाम मात्र।
– कार्यक्रममा पूर्व मेयर दिनेश स्थापित र मानकुमारी मगरले पनि बोलेका थिए।
मानकुमारी पनि मेयर भइसकेकी हुन् भने ‘पूर्व मेयरहरू‘ भन्ने, नत्र दिनेशको जस्तै उनको पनि परिचय खुलाउने।
– सो अवसरमा बझाङका विमल कठायत, पोखराकी तारा पुन र डिल्लीबजारकी विजया महर्जनले नृत्य प्रस्तुत गरेका थिए।
बझाङ जिल्ला हो, पोखरा शहर हो र डिल्लीबजार काठमाडौंको एउटा टोल हो। तिनको हैसियत फरक छ। सबैलाई एउटै हैसियतमा राखेर प्रयोग गर्न हुँदैन। यहाँ पोखराको ठाउँमा कास्की र डिल्लीबजारको ठाउँमा काठमाडौं भन्नु राम्रो हुन्छ।
अपमानजनक
आफ्ना कुरा अरूको मुखमा नकोच्याउनुहोस् :
- हाम्रो यो रोचक एवं ज्ञानवर्धक कार्यक्रम तपाईंलाई कस्तो लाग्यो, लेखी पठाउनुहोस्।
आफैंले ‘रोचक एवं ज्ञानवर्धक‘ भनेर घोषणा गरिसकेपछि कस्तो लाग्यो भनेर सोध्नुको के तुक ? यसले श्रोताको अवमूल्यन बाहेक केही गर्दैन।
- आन्दोलनका नाममा मुट्ठीभर व्यक्तिले जुन अराजकता मच्चाइरहेका छन् यसबारे तपाईं के भन्नुहुन्छ ?
आन्दोलनकारीलाई आफैंले ‘मुट्ठीभर‘ भनेर होच्याउँदै तिनले अराजकता मच्चाइरहेको निष्कर्ष निकालिसकेपछि अर्काको प्रतिक्रिया माग्नु भनेको ‘आन्दोलनकारीलाई अझ बढी गाली गरिदिनुहोस्‘ भन्नु हो। यसले पनि प्रतिक्रिया मागिने व्यक्तिको अवमूल्यन बाहेक केही गर्दैन।
आरोपलाई सत्य झैं गरी प्रस्तुत नगर्नुहोस् :
- डाक्टरहरूले स्वास्थ्यमन्त्री तानाशाह बन्दै गएकोमा रोष प्रकट गरेका छन्।
स्वास्थ्यमन्त्री तानाशाह बन्दै गएको भन्ने डाक्टरहरूको आरोप हो। तर यस वाक्यले त्यसलाई सत्य झैं गरी प्रस्तुत गरेको छ। त्यसबाट बच्न भन्नुपर्छ– डाक्टरहरूले स्वास्थ्यमन्त्री तानाशाह बन्दै गएको आरोप लगाउँदै त्यसप्रति/उहाँको रवैयाप्रति रोष प्रकट गरेका छन् ।
- प्रधानमन्त्रीले सामन्तवादको पृष्ठपोषक विपक्षी दलसँग आफ्नो पार्टीको सहकार्य हुन नसक्ने बताउनुभयो।
यहाँ पनि प्रधानमन्त्रीको आरोप सत्य झैं गरी प्रस्तुत भएको छ। सूचना सही तवरले सम्प्रेषित गर्न भन्नुपर्छ– प्रधानमन्त्रीले विपक्षी दलमाथि सामन्तवादको पृष्ठपोषक भएको आरोप लगाउदै ऊसँग आफ्नो पार्टीको सहकार्य हुन नसक्ने बताउनुभयो।
तपाईं न्यायाधीश होइन । आफैं फैसला नगर्नुहोस् :
- कार्यालयको गाडी खरीद गर्दा दुई लाख रुपैयाँ घूस खाएका प्रजिअविरुद्ध प्रमाणको अभावमा हालसम्म मुद्दा दायर गर्न सकिएको छैन।
मुद्दा दायर गर्न लायक सामान्य आधार समेत नभएको अवस्थामा दुई लाख रुपैयाँ घूस खाएको भनेर पत्रकार आफैंले फैसला गर्न मिल्दैन।
- बलात्कारी जिल्ला शिक्षा अधिकारी विरुद्ध शिक्षकहरूले दुई घण्टा धर्ना दिए।
बलात्कारी भन्ने शिक्षकहरूको आरोप होला, त्यत्तिकै आधारमा बलात्कारी भन्न मिल्दैन। अदालतले फैसला नगरेसम्म कसैलाई पनि बलात्कारी/भ्रष्टाचारी/तस्कर/हत्यारा भन्न पाइँदैन।
- सर्वोच्च अदालतको गलत निर्णय विरुद्ध प्रमुख बैंकहरूले संसदमा संयुक्त पत्र पठाएका छन्।
सर्वोच्च अदालतको निर्णय गलत छ भनेर फैसला गर्ने तपाईंको आधार र हैसियत के ? यहाँ ‘गलत‘शब्द राख्नु नै गलत हो।
- ‘दोषीमाथि छानबिन गरी कारवाही गरिनेछ ।’
छानबिन गरेपछि पो दोषी हो कि होइन, स्पष्ट हुन्छ । शुरुमै ‘दोषी’ किटान गरिसकेपछि केको छानबिन गर्ने ?
कुरुचिग्रस्त र फोहरी भाषाबाट बच्नुहोस् :
- १२ वर्षकै उमेरमा सगरमाथा चढेर उनले मै हुँ भन्ने पर्वतारोहीहरूलाई झापड लगाइदिएका छन्।
–हिन्दीमा शपथ ग्रहण गरेर उहाँले संविधानलाई लोप्पा ख्वाइदिनुभयो।
–जसले लोकतन्त्र विरुद्ध कुरा गर्छ उसलाई नंग्याउनुपर्छ।
–सरकारले जनचाहना माथि बलात्कार गरेको छ।
–पत्रकारिता पढ्न नदिएर उनका बाबुआमाले उनको भावनाको हत्या गरिदिए।
फोहरी विचारले भाषालाई फोहरी बनाउँछ र फोहरी भाषाले पनि विचारलाई फोहरी बनाउँछ। शिष्ट, सुरुचिपूर्ण भाषामा व्यक्त गर्न सकिने कुराका निम्ति झापड लगाउने, लोप्पा ख्वाउने, नंग्याउने, बलात्कार गर्ने, हत्या गर्ने जस्तो भाषा प्रयोग गर्नु असभ्यता हो र वाणी (वाग्देवी) को अपमान पनि।
शब्दाडम्बर
नचाहिने शब्दको भारी वाक्यलाई कहिल्यै नबोकाउनुहोस्। त्यसले भनाइलाई बोझिलो र प्रभावहीन पार्छ :
- मैले तीन महीनाको अवधिमा १२ जनाको अन्तर्वार्ता लिएँ।
‘तीन महीना‘ भनेकै अवधि हो। त्यसैले ‘तीन महीनामा’ मात्र भने पुग्छ।
- ४० जनाको संख्यामा विद्यार्थीहरू फेल भएका थिए।
‘को संख्यामा‘ चाहिंदैन। ‘४० जना‘ भनिसकेपछि ‘हरू‘पनि भनिरहनुपर्दैन, स्वत: बुझिन्छ।
- डाँकाहरूद्वारा तीन जनाको अमानवीय हत्या, दुई महिलाको पाशविक बलात्कार।
‘अमानवीय‘ को काम छैन किनभने निर्दोष मानिसको हत्या कहिल्यै मानवीय हुँदैन। त्यस्तै,’बलात्कार‘ भनिसकेपछि ‘पाशविक‘ भन्नुपर्दैन।
(बलात्कार मानिसले मात्र गर्छ, पशुले गर्दैन। ‘पाशविक‘ भनेर पशुहरूमाथि किन अन्याय गर्ने ?)
- सरकारका गृहमन्त्रीले बाढीग्रस्त क्षेत्रको भ्रमण गर्नुभयो।
‘गृहमन्त्री‘ सरकारकै हुन्छ। त्यसैले ‘सरकारका‘ चाहिएन।
- उहाँले कारखानाको स्थलगत निरीक्षण गर्नुभयो। सो अवसरमा नयाँ मशीनको प्रयोगात्मक परीक्षण गरियो।
कारखानाको निरीक्षण स्वतः ‘स्थलगत‘ नै हुन्छ। मशीनको परीक्षण भनेपछि ‘प्रयोगात्मक‘ भन्ने स्वतः बुझिन्छ। त्यसैले यी दुबै शब्द आवश्यक छैनन्।
- प्रदर्शनकारी र प्रहरीबीच दोहोरो भिडन्त।
‘दोहोरो‘ अनावश्यक। भिडन्त भन्ने कुरा सधैं दुई पक्षबीच अर्थात् दोहोरो नै हुन्छ। त्यसमाथि, दुई पक्षको किटान गरेर तिनीहरूबीच भनिसकेपछि दोहोरोपन झन् स्पष्ट भैसकेको छ।
- शहीदहरूलाई मरणोपरान्त सम्मानित गरिएको छ।
‘मरणोपरान्त‘ भनिरहनुपर्दैन। मानिस मरणोपरान्त नै शहीद हुन्छ।
- खोज्दै जाँदा चार जनाको मृत लाश फेला पर्यो।
‘मृत‘ को काम छैन।
- जनताको जनादेशको सम्मान हुनुपर्छ।
‘जनादेश‘ भनेकै जनताको आदेश हो। त्यसैले ‘जनताको‘ चाहिएन।
- उनको प्रतिभाको सही सदुपयोग हुन सकेको छैन।
‘सदुपयोग‘ अर्थात् सही उपयोग। त्यसैले ‘सही‘ भनिरहनुपर्दैन।
- मंचमा चढेर एउटा पनि गीत गाउन नसकेपछि नरेश हास्यास्पदको पात्र हुन पुग्यो।
‘हास्यास्पद‘ भनेकै हाँसोउठ्दो वा हाँसोको पात्र हो। त्यसैले ‘पात्र‘चाहिंदैन।
- दुवै जना उनको कोपभाजनका शिकार हुन पुगे।
‘कोपभाजन‘ को अर्थ हो– कोपको भागी अर्थात् क्रोधको शिकार। त्यसैले ‘कोपभाजन हुन पुगे‘ भने पुग्छ। नत्र ‘क्रोधको शिकारका शिकार हुन पुगे‘ भन्ने अर्थ निस्कन्छ।
- राम तुलनात्मक रूपमा श्यामभन्दा परिश्रमी छ।
‘तुलनात्मक रूपमा‘ चाहिंदैन। ‘श्यामभन्दा बढी‘ ले तुलनात्मकता स्वतः बुझाउँछ।
- दुई वर्षभित्र कम्प्युटर शिक्षाको पर्याप्त विस्तारीकरण भएको छ।
‘विस्तार भएको छ।‘
- राजनीतिक घटनाक्रममा हुँदै आएको उथलपुथल र परिवर्तनले देशलाई लोकतन्त्रको राजमार्गमा ल्याइपुर्याएको छ।
‘राजनीतिमा हुँदै आएको उथलपुथलले देशलाई…’
ब्यर्थको बोझले किचिएपछि वाक्य थला पर्छ । बोझ हटाइदिनुहोस् :
- हाल विद्यालय जान नसकिने अवस्था विद्यमान छ।
‘आजभोलि विद्यालय जान सकिंदैन‘ भने पुग्छ।
- गैरजिम्मेवारीपूर्ण वक्तव्यको परिणामस्वरूप जनतामा उत्तेजना व्याप्त हुन पुग्यो।
‘गैरजिम्मेवार वक्तव्यका कारण जनता उत्तेजित भए।‘
- झापामा विद्यमान खेतीयोग्य जमीनमा धानको राम्रो उत्पादन हुन्छ।
‘झापामा प्रशस्त धान फल्छ।‘
- ऊ त्यति धेरै दिनहरूमा ठीक समयमा उपस्थित हुन सकेको थिएन।
‘ऊ प्राय: ढीलो आउँथ्यो।‘
- ड्राइभरहरूको आन्दोलन निरर्थक देखिन थालेको तथ्यमा दुई मत हुन सक्तैन।
‘…निरर्थक देखिन थालेको छ।‘
- यस वर्ष अत्यधिक वर्षाका कारणले गर्दा धानको खेतीलाई बढीसेबढी नोक्सान हुन पुगेको कुरामा दुई मत हुन सक्दैन।
‘यस वर्ष धेरै पानी परेकाले धानबाली निकै नोक्सान भएको छ।‘
- तत्कालीन परिस्थितिमा इतिहास विषयमा अध्ययनलाई अघि बढाउनु भविष्यमा रोजगारीका लागि त्यति उपयुक्त हुन नसक्ने मेरो सोचाइ रह्यो।
‘त्यसवेला मैले इतिहास पढेर जागिर पाइँदैन भन्ने ठानें।‘
- वर्तमान परिप्रेक्ष्यमा जहाँसम्म अनुशासनको सवाल छ, हाम्रा शिक्षण संस्थाहरूमा अध्ययनरत अधिकांश विद्यार्थीवर्गमा अनुशासनको उपयुक्त मात्रा विद्यमान नरहेको अवस्थालाई आज कसैले पनि नकार्न नसक्ने वस्तुतथ्य हामी सबैसामु छर्लङ्गै छ।
‘आजभोलि विद्यार्थीहरू त्यति अनुशासित छैनन्‘ भन्दा बढी यस वाक्यमा केही भनिएको छैन।
अनावश्यक प्रत्यय, विभक्ति, नामयोगी, क्रियायोगी आदिबाट जोगिनुहोस् :
- आपसमा वैमनस्यता होइन सामञ्जस्यता बढोस् भनेर हामीले गाम्भीर्यतापूर्वक प्रयास गर्नुपर्छ।
वैमनस्य, सामञ्जस्य, गाम्भीर्य मात्र भने पुग्छ,’ता‘ लगाउनुपर्दैन।
यस्तैः माधुर्य, चातुर्य, सौन्दर्य, धैर्य, बात्सल्य, प्राधान्य, बाहुल्य, सामर्थ्य, आधिक्य, ऐक्य, साम्य, औचित्य, सौजन्य, तादात्म्य, आतिथ्य, नैराश्य, सामीप्य, सान्निध्य जस्ता शब्दमा पनि ‘ता‘ लगाउन हुँदैन। त्यसो गर्दा अशुद्ध हुन्छ।
- सरकारमा देशप्रति बफादारिता र जनताप्रति जबाफदेहिता हुनु जरूरी छ।
यहाँ पनि ‘बफादारी‘ र ‘जवाफदेही‘ भने पुग्छ,’ता‘ लगाउनुपर्दैन।
यसै गरी इमानदारी, जिम्मेबारी, बेरोजगारी जस्ता शब्दमा पनि ‘ता‘ थप्नु गल्ती हुन्छ।
- उहाँले मेरो प्रस्तावलाई स्वीकार गर्नुभयो।
– रेखाचित्र मार्फत आफ्ना भावनालाई व्यक्त गर्न उनी सिपालु छिन्।
दुवै वाक्यमा ‘लाई‘ को काम छैन।
- अध्ययनलाई आफ्नो अहङ्कार बढाउनमा प्रयोग नगर।
‘मा‘ चाहिंदैन।
- म तपाईंहरूको मागमाथि पुनर्विचार गर्छु।
– समस्या समाधान गर्ने जिम्मेवारी शिक्षकमाथि रहेको छ।
दुवै वाक्यमा ‘माथि‘ को सट्टा ‘मा‘ राख्नु राम्रो हुन्छ ।
- सम्पूर्ण विद्यार्थीहरू दुइटा हलहरूमा अटाएनन्।
दुवै ‘हरू‘ को काम छैन।
सँगसँगै आएका अन्य शब्द वा प्रसङ्गले एकभन्दा बढी / धेरै भन्ने अर्थ स्वतः स्पष्ट हुन्छ भने त्यहाँ ‘हरू’ को बोझ बोकाउनुहुँदैन। सोचाइ, भावना, रचनात्मकता जस्ता भाववाचक शब्दमा पनि सामान्यतः ‘हरू’ लगाइरहनुपर्दैन।
- तामाङ समुदायले स्वायत्तताको माग गरेका छन्।
–उत्तेजित भीडले प्रहरीमाथि ढुंगा प्रहार गरे।
समुदाय, भीड, समूह, जुलुस जस्ता शब्द समूहवाचक हुन्। एकवचनमा रहेर नै यिनले धेरै भन्ने अर्थ बुझाउँछन्। त्यसैले यिनमा बहुवचनको क्रियापद लगाउनुपर्दैन। ‘…स्वायत्तताको माग गरेको छ‘, ‘…ढुंगा प्रहार गर्यो‘ भन्नुपर्छ।
स्पष्टताको मूल्यमा शब्द घटाउन वा वाक्य छोट्याउन भने हुँदैन :
- मैले दुई सयको टिकट किनें।
‘दुई सय‘ भनेको के ? भन्नुपर्छ – ‘दुई सय रुपैयाँको ।‘
- नार्कका दुई वैज्ञानिक हिजो अमेरिकातर्फ लागेका छन्।
के हो ‘नार्क‘ भनेको ? श्रोताले कसरी बुझ्ने ? त्यसैले शुरुमा एकचोटि भन्नैपर्छ― ‘राष्ट्रिय कृषि अनुसन्धान परिषद – नार्क ।‘
- पीपीआरबाट खसीबाख्राको मृत्यु ।
‘पीपीआर नामक रोगबाट खसीबख्राको मृत्यु ।’
- कब्जा सम्पत्ति चाँडै फिर्ता गरिने।
‘कब्जा सम्पत्ति‘ बाट कुरो बुझिंदैन। भन्नुपर्छ – ‘कब्जा गरिएको सम्पत्ति चाँडै फिर्ता गरिने।‘
- सडक अवरुद्ध स्थानमा रेस्टुराँ नहुँदा यात्रुहरू थप अपठ्यारोमा परेका छन्।
भन्नुपर्छ –‘सडक अवरुद्ध भएको स्थानमा…..‘
अनुवाद
अनुवाद गर्दा मूल भाषाको छायाँले नछोपोस् र आशय नउल्टियोस् भनेर सधैं सतर्क रहनुहोस् । छायाँ पर्दा अनुवाद गरिएको कुरा मात्र होइन आफ्नै भाषा समेत विकृत हुँदै जाने डर हुन्छ भने शब्दको आशय र अर्थ पर्गेल्न नसक्दा ‘म गर्छु आग्राका कुरा, ऊ गर्छ गाग्राका कुरा’ हुन पुग्छ।
- तिमी तिम्रो घर जाऊ।
यो अंग्रेजीको छायाँ परेको वाक्य हो। यसलाई नेपाली बनाउन भन्नुपर्छ ― तिमी आफ्नो घर जाऊ।
– श्याम उसको होमवर्क नगरी आएको रहेछ ।
यहाँ पनि कुरा उही हो। ‘उसको‘ को सट्टा ‘आफ्नो‘ शब्द राख्नुपर्छ।
– जब उनी फेल भइन्, सीता निकै रोइन्।
अंग्रेजी वाक्यमा पहिले सर्वनाम, त्यसपछि नाम राख्ने चलन छ। नेपालीमा भने पहिले नाम, त्यसपछि मात्र सर्वनाम आउँछ। त्यसैले भन्नुपर्छ― जब सीता फेल भइन्, उनी निकै रोइन्। (अझ राम्रो त ‘फेल भएपछि सीता निकै रोइन्’ हुन्छ।)
– म ज्यादै खुशी हुनेछु, यदि तिमी भोलि नै फर्क्यौ भने।
यो पनि अंग्रेजीबाटै प्रभावित वाक्य हो। नेपाली शैलीको वाक्य हुन्छ– तिमी भोलि नै फर्क्यौ भने म ज्यादै खुशी हुनेछु।
- के विद्यार्थीले हप्तैपिछे डिस्को जानु ठीक हो?
नेपाली प्रश्नवाचक वाक्यको शुरुमा त्यसलाई चिनाउने मात्र उद्देश्यले आउने ‘के‘लगाउनुपर्दैन। त्यो अंग्रेजीको छायाँ मात्र हो। (बरु वाक्यको अन्त्यमा ‘त’ लगाउन सकिन्छ ।)
- उहाँ एक हेलिकप्टर चढेर जानुभयो।
–उनले एउटा टोपी लगाएका थिए।
कुनै पनि मानिस एकैचोटि दुइटा हेलिकप्टर चढ्न सक्तैन र उसले एकसाथ दुइटा टोपी पनि लगाउँदैन। अर्थ न बर्थसँग थोपरिएर आउने यस्तो ‘एक‘ वा ‘एउटा’ अंग्रेजीको ‘आर्टिकल‘(अ/एन) को छायाँ हो । यसबाट बच्नैपर्छ ।
- उहाँ मात्र तीन दिन पोखरा बस्नुभयो।
‘मात्र‘ ले आफूभन्दा पहिले आएको शब्दमा जोड पुर्याउँछ। यस वाक्यमा ‘केवल तीन दिन‘ भन्न खोजिएकाले ‘उहाँ तीन दिन मात्र…‘ भन्नुपर्छ। नत्र ‘उहाँ मात्र‘ तीन दिन पोखरा बस्नुभएछ, अरू चाहिं बसेनछन् भन्ने अर्थ लाग्छ।
‘मात्र तीन दिन‘ जस्तो प्रयोग अंग्रेजी/उर्दूको छायाँ हो। अंग्रेजीमा ‘ओन्ली थ्री डेज‘ भनिन्छ भने उर्दूमा ‘सिर्फ तीन रोज‘।
- म तपाईंलाई धन्यवाद दिन चाहन्छु।
‘लाइक टु‘ को छायाँले यस वाक्यलाई विकृत बनाएको छ। धन्यवाद दिन चाहेर मात्र के गर्नु ?
‘धन्यवाद दिन्छु‘ भने पो दिएको ठहरिन्छ र पाउनेले पनि पाउँछ। नत्र त चिल्लै !
- अब म आफ्नो कविता वाचन गर्न गइरहेको छु।
‘गोइङ टु‘ को छायाँले यस वाक्यलाई हास्यास्पद बनाइदिएको छ। यस्तो लाग्छ, ऊ कविता वाचन गर्न भनेर तत्काल कतै हिंडिहाल्न आँटेको छ। (यस्तो ठाउँमा सीधासादा नेपाली पाराले ‘म अब आफ्नो कविता वाचन गर्दछु‘ भन्नु नै सबैभन्दा राम्रो!)
- ‘बलियो र चम्किलो दाँतको लागि, एभरेष्ट टुथपेस्ट।’
एक ताका निकै प्रचलित यस विज्ञापनले बलियो र चम्किलो दाँतका लागि मात्र एभरेष्ट टुथपेस्ट काम लाग्छ, कमजोर र नचम्किने दाँतका लागि चाहिं काम लाग्दैन भन्ने अर्थ दिन्छ। यसरी उल्टो अर्थ दिनुको कारण हो– अंग्रेजीको ‘फर‘ को अद्भेस्रो अनुवाद।
- सुरक्षाका कारण अमेरिकी राष्ट्रपतिको इराक यात्रा स्थगित।
यात्रा त ‘असुरक्षाका कारण‘ स्थगित भएको हो तर ‘सेक्युरिटी रीजन‘ को शाब्दिक अनुवादले यस्तो वाक्य खडा गरेको हो।
- नेपाल अहिले कमजोर अवस्थामा छ तर यसलाई कमजोर रहिरहन अनुमति दिइनुहुँदैन।
यस्तो लाग्छ, मानौं नेपाल कसैको अनुमति लिएर कमजोर हुने गरेको रहेछ। ‘शुड नट बी अलाउड‘ को छायाँ परेर यस वाक्यको यस्तो बिजोक भएको हो।
- युद्धदेवलाई केही भएन तर लडाकुहरूले पूँजी सजाय पाए।
भन्नुपर्ने हो ‘युद्ध सरदार‘, तर ‘वार लर्ड‘ को शाब्दिक अनुवादले ऊ ‘युद्धदेव‘ हुन पुगेछ। त्यसैगरी, ‘क्यापिटल पनिशमेन्ट‘ को अर्थ मृत्युदण्ड हुन्छ भन्ने थाहा नपाँउदा त्यो ‘पूँजी सजाय‘(जरिवाना) हुन पुगेको छ।
- नीलो रगतका मतदाताले उनलाई मन पराए पनि राता भारतीयहरू भने उनको पक्षमा थिएनन्।
भन्न खोजिएको हो– सम्भ्रान्त मतदाताले उनलाई मन पराए पनि रेड इन्डियन उनका पक्षमा थिएनन्। तर ‘ब्लु ब्लडेड भोटर्स‘ को अर्थ नबुझ्दा र ‘रेड इन्डियन‘ को भारत वा भारतीयसँग गोरू बेचेको साइनो पनि छैन भन्ने थाहा नपाउँदा अनर्थ भएको छ।
- सुरक्षा गार्डको परिवर्तन पछि उहाँ कोषको सचिव बन्नुभयो।
भन्नुपर्थ्यो – सरकार परिवर्तन पछि उहाँ अर्थमन्त्री बन्नुभयो। तर ‘चेन्ज अफ गार्ड‘ र ‘सेक्रेटरी अफ ट्रेजरी‘ को अर्थ नबुझेर शाब्दिक अनुवाद गर्दा वाक्यको बिजोक भएको छ।
- उनले बुसलाई धन्यवाद दिए र बाँकी टोलीलाई आराम गर्न भने।
भन्न खोजिएको हो– उनले बुसका साथै टोलीका सबै सदस्यलाई धन्यवाद दिए (हि थ्यांक्ड बुस एण्ड रेस्ट अफ द टीम) ।
- फेसन गरेकी बूढी मोडल शेभरलेटलाई उनीहरूले एउटा नाउमा पुर्याए।
भन्न खोजिएको रहेछ – उनीहरूले पुरानो मोडलको शेभरले कारलाई नाउको रूप दिए ( दे फेसन्ड ओल्ड शेभरले मोडल टु अ बोट)।
- शब्दको सन्दर्भ, आशय र अर्थ बुझ्न नसकेका कारण ‘कमनवेल्थ नेसन’ को अनुवाद ‘साझा सम्पत्ति भएका राष्ट्रहरू’, ‘आउटस्ट्यान्डिङ पर्सनालिटीज’ को अनुवाद ‘बाहिर उभिएका व्यक्तित्वहरु’, ‘वन्स इन अ ब्लु मून’ को अनुवाद ‘एकपल्ट चन्द्रमा नीलो भएको वेला’, ‘ब्लु कलर वर्कर्स’ को अनुवाद ‘नीलो कलरका कामदार’ र ‘हेभन’ (Haven) को अनुवाद ‘स्वर्ग’ भएको जस्ता उदाहरण यत्रतत्र देखिने गरेका छन् ।
अनुवाद गर्दा ध्यान दिनुपर्ने कुरा के हो भने एक–एक शब्दको भाषान्तरण गर्नतिर कहिल्यै बल गर्नुहुँदैन, वाक्यांश वा समग्र वाक्यले भन्न खोजेको कुरा राम्ररी बुझेर त्यसलाई आफ्नो भाषामा उतार्नुपर्छ। शब्दको अर्थ थाहा वा स्पष्ट नहुँदा शब्दकोश हेर्नुपर्छ तर त्यसैमा मात्र भर पर्न हुँदैन। एउटा शब्दका थुप्रै अर्थ हुन सक्छन् र शब्दकोशमा दिइएको भन्दा फरक अर्थ वा आशय पनि प्रसंगवश त्यसले अभिव्यक्त गरिरहेको हुन्छ। अर्थ स्पष्ट पार्न कहिलेकाहीं संक्षिप्त व्याख्या आवश्यक हुन्छ जसका लागि सिंगो वाक्य नै पनि चाहिन सक्छ । संक्षेपमा भन्दा, स्रोत भाषामा भनिएको कुरालाई आफ्नो भाषामा पुनर्लेखन गर्नु नै अनुवाद हो।
साहित्यभन्दा फरक
साहित्य र पत्रकारिताको भाषा फरक हुन्छ किनभने दुवैको उद्देश्य तथा प्रकृति फरक छ। साहित्यको सृजना मूलतः आत्माभिव्यक्ति र आत्मसन्तुष्टिका निम्ति गरिन्छ भने पत्रकारिता लक्षित समूह वा आम जनतासम्म सूचना तथा विचार सम्प्रेषणका लागि गरिन्छ र उनीहरूकै सन्तुष्टि यसको लक्ष्य हुन्छ। साहित्य कल्पनाको संसार हो, पत्रकारिता यथार्थको सञ्चार। साहित्यकार आफ्नो मर्जी अनुसार चल्ने भएकाले उसले भाषामा अनेक प्रयोग गर्न सक्छ, विशेषण र अलंकारको लर्को लगाउन सक्छ अनि व्याख्यात्मक–सूत्रात्मक, घुमाउरो–जटिल जुनसुकै शैली समात्न सक्छ। पत्रकारिता भने आम पाठक/दर्शक/श्रोताको मर्जीलाई सर्वोपरि मान्दै, कुनै पनि किसिमको लहडी प्रयोगबाट मुक्त सोझो, सपाट र स्पष्ट–सरल–सम्प्रेषणीय भाषा–शैली मार्फत अघि बढ्छ। बढ्नुपर्छ।
- भोक, प्यास र निद्राले पानीको चुटाइमा लुत्रुक्क परेको बाघजस्तो म मरेको बिरालो काखी च्यापेर ठिमीको उकालो हिंड्न बाध्य भुच्चुक जस्तै भएर उहाँहरूको डेराभित्र लोथ्रयालोथ्रयाक पस्न पुगें।
डा. तारानाथ शर्माको ‘पाताल प्रवास‘ बाट उद्धृत यो वाक्यांश साहित्यिक शैलीबाट पत्रकारिताको शैलीमा ल्याउँदा यस्तो हुन पुग्छ:
म भोक, प्यास र निद्राले लखतरान भएर उहाँहरूको डेरामा पुगें।
- न्यूयोर्क महानगरी पुग्न लाग्दा हडसन नदी पारि चित्रमा देखे जस्तै तर औधि छोइने पाराले म्यानह्याटन देखियो। म्यानह्याटन न्यूयोर्कको केन्द्र हो। त्यसको मध्य भागमा गोलाकारमा चुच्चिंदै गएको विश्वप्रसिद्ध एम्पायर स्टेट बिल्डिङ, पुछारमा आकाशै छेडौंला जस्तो उचालिएका जम्ल्याहा वर्ल्ड ट्रेड सेन्टर र जताततै अरू गगनचुम्बी भवनहरू तँछाड र मछाड गर्दै उचालिएका थिए। भवन निर्माण कलाको सम्पूर्ण सीप खन्याएर उभ्याइएको विश्वको राजधानी न्यूयोर्कलाई वास्तविक रूपले आफ्ना आँखाले पिउन पाउँदा म गद्गद् भएँ। आकाशबाट ठ्याक्क दूरी मिलाएर खिचेको चित्र भन्दा पनि राम्रो जिउँदो म्यानह्याटन मध्यान्ह पछिको न्यानो घाममा अपूर्व सुन्दरता बोकेर त्यसै त्यसै मडारिएको जस्तो मलाई लाग्यो। …संसारमा यति राम्रो शहर अरू छैन। संसारमा यति धेरै मान्छेहरू एक ठाउँ भेला कतै हुँदैनन्। संसारमा यसरी फैलिएको शहर अरू कुनै छैन। संसारमा यति थुप्रै गगनचुम्बी महलहरू कुनै शहरमा पनि छैनन्। मर्नुभन्दा अगाडि एकपल्ट मलाई न्यूयोर्क अँगाल्ने रहर थियो र आज त्यो पूरा हुँदै थियो।
उही पुस्तकबाट उद्धृत, पहिलोपल्ट न्यूयोर्क पुग्न लाग्दाको यो शब्दचित्र पत्रकारिताको भाषामा प्रस्तुत गर्दा यस्तो हुन जान्छ:
न्यूयोर्क पुग्नु अघि टाढैबाट त्यसको केन्द्र म्यानह्याटन देखियो। गगनचुम्बी भवनहरूले भरिएको त्यस ठाउँको बीचमा एम्पायर स्टेट बिल्डिङ र पुछारमा वर्ल्ड ट्रेड सेन्टरका जम्ल्याहा भवन सबैभन्दा अग्ला देखिन्थे। न्यूयोर्क संसारको सबैभन्दा राम्रो, ठूलो र व्यस्त शहर हो। त्यहाँ घुम्ने मेरो रहर आज पूरा हुँदै थियो।
रेडियोको भाषा
भाषा मूलतः बोलिने कुरा अर्थात् वाणी हो। लेखेको भन्दा बोलेको कुराको प्रभाव बढी हुन्छ किनभने त्यसलाई वक्ताको बोली र त्यसको प्रस्फुटनका निम्ति आवश्यक सूक्ष्म तर अत्यन्त सशक्त आन्तरिक प्रक्रियाले विशिष्ट ऊर्जा प्रदान गरेको हुन्छ। उच्चारण गरिने प्रत्येक शब्द हरेक पटक नयाँ हुन्छ, निश्चित उद्देश्य पूरा गर्न विद्युतीय झड्काका साथ अवतरित भएको। वक्ताको विश्वास, सामर्थ्य र योग्यताले त्यसमा प्राण भरेको हुन्छ।
देवनागरी लिपिमा लेखिंदै आएको परम्परागत वर्णमाला हाम्रो सम्पत्ति/उपलब्धि हो, बोझ होइन। तर केही समय यता यसका कैयौं अमूल्य ध्वनि र अक्षरलाई बोझका रूपमा व्याख्या गर्ने चलन बढेको छ, जसअनुसार कथ्य नेपालीमा दीर्घ ई र ऊ को कुनै काम छैन, श र ष को उच्चारण नै हुँदैन, अनि ञ र ण को आवश्यकता नै छैन। यो सरलताका नाममा लत्तो छोड्ने, स्तरीयतालाई अवमूल्यन गर्ने अनि स्तरहीनतालाई महिमामण्डित गर्दै त्यसका सामु आत्मसमर्पण गर्ने प्रवृत्ति हो। रेडियोकर्मीहरू यसप्रति विशेष संवेदनशील हुनु किन आवश्यक छ भने प्रत्येक ध्वनि र अक्षरले शब्दलाई निश्चित व्यक्तित्व र प्रभावोत्पादकता प्रदान गरेको हुन्छ जसलाई पूर्ण प्रस्फुटित पार्नु उनीहरूको कर्तव्य र जिम्मेदारी दुवै हो। भाषा भन्नु नै बोली भएकाले त्यसको वास्तविक रूप सञ्चार माध्यममा रेडियोबाटै अभिव्यक्त हुन्छ। हुनुपर्छ।
- ‘जरूर’ लाई कसैले ‘जरुर’ मात्र भनेर पनि काम चलाउला, तर ‘जरूर’ को भाव र गुरुत्व ‘जरुर’ ले सम्प्रेषण गर्न सक्तैन। ‘स्तरीय’ ले जुन गहिराइ र गहनता समेटेको हुन्छ, ‘स्तरिय’ ले त्यसको एक छेउ पनि भेट्न सक्तैन। ‘नष्ट’ लाई ‘नस्ट’ उच्चारण गर्नु असम्भवप्राय: छ। ‘शब्दकोश’ लाई ‘सब्दकोस’ भन्ने हो भने त्यसको ओज र गरिमा मात्र समाप्त हुँदैन, त्यसबाट प्राणै झिकिदिए जस्तो हुन्छ। त्यसैले उच्चारणमा ह्रस्व–दीर्घ, श–ष–स आदिमा ध्यान दिनोस् । श्रोताले तपाईंको उच्चारणबाटै थाहा पाउन सकून्– तपाईं सुँघ्ने ‘फूल’ को कुरा गर्दै हुनुहुन्छ कि खाने ‘फुल’ को बयान गर्दै हुनुहुन्छ, भाङको ‘नशा’ को प्रसङ्ग उठाउन खोज्दै हुनुहुन्छ कि हातको ‘नसा’ तिर संकेत गर्दै हुनुहुन्छ, ‘सब’ भन्दै हुनुहुन्छ कि ‘शव’ तर्फ ध्यान आकर्षित गर्न खोज्दै हुनुहुन्छ। होश गर्नोस्― कतै खालीलाई खालि, ऊनीलाई उनी र दिशालाई दिसा त भन्दै हुनुहुन्न !
एउटा अक्षरको सट्टा अर्को अक्षर उच्चारण गर्ने, अनावश्यक अक्षर थप्ने, भएको अक्षर उच्चारण नगर्ने, एक ठाउँको अक्षर अर्को ठाउँमा लगेर भन्ने जस्ता कमजोरीबाट होसियारीसाथ जोगिनुहोस् :
- द को सट्टा ध हुने र ध थपिने :
विद्या– विध्या/विद्ध्या। विद्युत- विध्युत/विद्ध्युत। खाद्य– खाध्य/खाद्ध्य।
- ण को ठाउँमा न हुने :
निर्माण–निर्मान। प्रमाण–प्रमान। प्राण– प्रान। आचरण–आचरन। निपुण– निपुन। सम्पूर्ण–सम्पूर्न। शरण–शरन। गणेश–गनेश।
कहिलेकाहीं न को ठाउँमा ण हुनेः गर्नुपर्ने– गर्णुपर्णे ।
- व को सट्टा ओ हुने :
महत्त्व–महत्तो। नेतृत्व– नेतृत्तो। स्थायित्व–स्थाइत्तो। स्वामित्व–स्वामित्तो।
- य को ठाउँमा ए हुने :
कतिपय–कतिपए। माननीय–माननीए। कर्तव्य–कर्तब्बे। वक्तव्य–बक्तब्बे। भविष्य–भबिस्से। आवश्यक–आवस्येक। धन्यवाद–धन्नेवाद। गण्यमान्य– गन्नेमान्ने।
- द र ध संयुक्त भएका ठाउँमा ध हराएर द को द्वित्व हुने :
शुद्ध–शुद्द। बुद्ध–बुद्द। सिद्ध–सिद्द। पद्धति–पद्दति। सिद्धान्त–सिद्दान्त। वृद्ध–बृद्द। प्रतिबद्ध–प्रतिबद्द। संबद्ध–संबद्द।
- ह को लोप हुने :
महासचिव–मासचिव। सहायता–सायता। महाजन–माजन। महाराज–माराज। महाविद्यालय–माविद्यालय। सहमति–सअमति/समति।
- र यताउता हुने :
प्रभाव–पर्भाव। प्रगति–पर्गति। प्रताप–पर्ताप। प्रमाण–पर्माण। प्रशस्त–पर्सस्त। प्रशासन–पर्सासन। प्रभु–पर्भु। भ्रमण–भर्मन।
- क्ष को ठाउँमा च्छे वा छ्य हुने :
शिक्षा–सिच्छे/सिछ्या। रक्षा–रच्छे/रछ्या। भिक्षा–भिच्छे/भिछ्या। अध्यक्ष–अध्यच्छे/अध्यछ्य।
- अक्षर लोप हुने :
हामीले–हाम्ले। तिनीहरूलाई–तिनेरूलाई। भएको थियो–भा’थ्यो। कहाँबाट आएको?–काँ’डा’को? थाहा पाएको छैन–था’पा’छैन।
- पदयोग-वियोगमा गडबडी :
जनकपुर/जन-कपुर। अन्यायपूर्ण/अ-न्यायपूर्ण। सुन्छ/सुन छ। पल्टन्छ/पल्टन छ। दाल-चिनी/दालचिनी।
- भाषिकाको प्रभाव :
सतचालीस–सडचालिस/सैंतालिस। बैसट्ठी–बासट्ठी। पैंतालीस–पैंचालिस।
ठाउँ–ठाम। गाउँ–गाम। बेंसी–ब्याँसी। गर्छ–गर्च। भन्छ–भन्च। खाँदैनौं–खाँदौंन। बस्तैनौं–बस्तौंन। रहेछ- रछ/रच/राछ/रेछ/रैछ/थिएछ।
अन्त्यमा
भाषा सरल, सहज, सम्प्रेषणीय तथा प्रभावकारी बनाउने आधारभूत नियम छापा र विद्युतीय माध्यमका लागि समान छन्। सामान्यतः १५ शब्दमा सीमित वाक्य, परिचित र सजिला शब्द, कर्तृवाच्य, स्पष्ट अर्थ बुझाउने जीवन्त क्रियापद, अनावश्यक एउटै पनि शब्दको अनुपस्थिति, वाक्यहरूका बीच श्रृङ्खलाबद्धता र प्रवाहमयता जस्ता गुण सञ्चार माध्यमको भाषामा हुनैपर्छ। त्यसमाथि, रेडियो बोलेर सुनाइने माध्यम भएकाले यसको भाषामा बोलीचालीका शब्द, सरल–सहज वाक्य, अनौपचारिकता, तात्कालिकता, भनाइ र उच्चारणको स्पष्टता जस्ता कुरामा थप ध्यान दिनु जरूरी छ। यो विपन्न एवम् निरक्षरहरूको पनि माध्यम हो त्यसैले यसको भाषा उनीहरूले समेत एकै पटकको सुनाइमा छर्लङ्ग बुझ्ने खालको हुनुपर्छ। श्रोतालाई शुरुदेखि अन्त्यसम्म आफूसँग बाँधेर राख्न सक्ने खुबी रेडियोको भाषामा हुनैपर्छ।
समाप्त