केटाकेटी, बूढाबूढी र नसक्नेहरू सुरुमै हिँड्नुपर्ने । भारी बोकेर दिलेम्पा कोक्पा हिँडे । थुप्रै थियौं । म सबैभन्दा सानो । मेरो पालो आयो । हलेसी बजारका लागि कटारीबाट मैले पनि भारी बोकें । दिलेम्पा कोक्पालाई पछ्याउन थालें । मेरा लागि त्यतिबेला कटारी नौलो थियो । हाडुङ्गेका दिलेम्पा कोक्पालाई कटारी पानी–पँधेरो । कोक्पा हप्तैपिच्छे भारी बोक्न कटारी झरिरहन्थे । हिउँद लागेपछि कटारी झर्नेको ताँती हुन्थ्यो ।
कटारीमा ‘खोटाङेली होटल’ लोकप्रिय । धेरैले चिन्ने । नाम नै ‘खोटाङेली’ । हलेसीतिरकाहरू भारी बोक्न कटारी झर्दा त्यहीं बास बस्थेछ । धेरैलाई यही भेटिन्थेछ । बीचबजारमा थियो त्यो होटल ।
म १४ वर्षको थिएँ । भारी थियो ४० किलो । मुस्किल थियो बोक्नु । तर, ढाकर रहरलाग्दो । खकन, टेकुवा र नाम्लोको नापन मिलेको थियो । ढाकरमा भारी चिटिक्क कसिदिएका थिए मेरा माइला दाइ ‘बलुदाइ’ ले । भारी सजिलो भएको थियो ।
त्यो होटलबाट भारी बोकेर बजार छिचोल्न चार टेकानजति लाग्थ्यो । दिलेम्पा कोक्पालाई पछ्याउन थालें । कोक्पा जति–जति हिँड्छन्, म पनि त्यत्तिकै पछ्याउँथें । कोक्पा भारी टेकाउँथे । म पनि टेकाउँथें । कोक्पा हिँड्थे । म पनि हिँड्थें । कोक्पा र मैले टेकाएको गनिरहें । पछ्याइरहें । तीन टेकान टेकाइसकिएको थियो ।
कोक्पाले अन्तिम टेकान टेकाउन लागे । टेकुवाले खस्रककस्रक भुइँ मिलाए । टेकुवा पछाडि लगे । ढाकरको पिँध टेकुवामा टेकाए । टाउकोबाट नाम्लो झिके । नाम्लो छाँतीउँधो लर्कियो । कोक्पाको अनुहारबाट पसिना खललल झरिरहेको थियो । टोपी थुतेर कोक्पाले पसिना पुछे । मैले कोक्पालाई हेरिरहें । कोक्पाले खोलातिर हेरिरहेका थिए । कोक्पालाई लाजमर्नु भएछ ।
अत्तासिँदै ठूलो स्वरले, ‘जाहै …! हत्तेरी… देपा सिरिया !’ कोक्पाले आफंैलाई गाली गर्न थाले, ‘आबो ज्ञान घुर्मुरिन थालेछ । धेरै बाँच्दिना ।’
म छक्कै परें । के भनेका हुन् कोक्पाले ? कुरा बुझिनँ ।
‘दे तिरा, कोक्पा ?’
‘उल्टो बाटो आ’छुङ । बलाहातिर पो आ’छुङ । मरुवाखोलातिर जानुपर्ने । बाटो फेर पर्यो,’ कोक्पाले भने, ‘हलेसीतिर आउनुपर्ने । मिर्चैयातिर लागिएछ ।’
दिलेम्पा कोक्पा ५०/५५ वर्ष पुगेका होलान् । जिङ्रिङ्ग परेको कपाल । ननुहाएको शरीरमा मैलो कमिज । खाँडीको घुमाउने टोपी । टोपीतिरै उकालो फर्किएको थियो सेतै पाकेको बूढो कपाल । कोक्पाले हरेश खाए । निराश भए । कोक्पाको खिन्न मनले भने, ‘नाति लु आबो फिरुङ ।’
बाटो पनि नचिनेको होइन । परिचित हो । एकोहोरिएर हिँड्दा बाटो फेर पर्यो । मेरो मन पनि कोक्पाको जस्तै खिन्न भयो । नमीठो लाग्यो । बाटो बिराएकोमा भन्दा पनि बलुदाइले छोडिजाने भयो । म बलुदाइको चिन्ताले पिरोलिन थालें ।
मेरा माइला दाइको नाम बलबहादुर । हामीले ‘बलुदाइ’ भन्थ्यौं । कान पनि सुन्दैनन् । मुख लाग्दैन । दोहोरो बोल्न सक्दैनन् । बाटो फेर पर्यो भने बर्बाद । उनको हातको इसारा अरूले बुझ्दैनन् । अरूले भनेको उनले सुन्दैनन् । कटारी–हलेसी बाटो हिँडिरहेकै थिए । हराउँदैनन् । तर, साथी छुट्ने भयो । बास छुट्ने भयो । कटारीबाट तीन दिनको बाटो हो हलेसी । तीन दिन बिजोग हुने भइयो ।
हामी अगाडि हिँडेको उनलाई थाहा छ । हामीले बाटो भुलेको बलुदाइलाई थाहा छैन । भाइ र कोक्पाले छोड्यो भनेर हतारहतार अगाडि हिँडेकोहिँडेकै गर्नेछन् । मलाई यो कुराले सतायो ।
हामी फरक्क फिर्यौं । टेका लगाउँदै, भारी बोक्दै । यही बाटो फिर्दा लाजलाज लाग्यो । यही बाटो । यही भारी । यही खकन–टेकुवा । यही ज्यान । बाटोमा भेटिएका सबैले मनमनै हाँसिदिरहेकोजस्तै लाग्यो । बास बसेको घर । खोटाङेली होटल हुँदै फिर्नु छ । धेरै हिँडिसकेजस्तो लाग्यो । चार टेकानको बाटो । सय टेकान टेकाएजस्तै लाग्न थाल्यो । बल्लबल्ल खोटाङेको होटलछेउ आइपुगियो । नदेखेजस्ते गरेर भित्रतिर चिहाएँ । कोही देखिएनन् । हामी हिँडेपछि उनीहरू पनि हिँडेछन् । हामी पनि नबोली खुरुखुरु हिड्यौं । मरुवाखोला आइपुग्दा बिहानको खाना खाने बेला भइसकेको थियो । भोक पनि लाग्न थाल्यो । एकाबिहानै ओहोरदोहोर गरेरै बित्यो । बलुदाइ भेटिएनन् । अरू साथीहरू पनि भेटिएनन् ।
मरुवाखोला नौ जंघार तर्नुपर्छ । अन्तिम जंघार तरेपछि मरुवाफेदी आइपुगिन्छ । साथीहरूलाई भेट्ने सम्भावना त्यहाँमात्र हो । त्यहाँ खाना पकाउने ठाउँ रहेछ । कटारीबाट भारी बोकेर फिर्दा बिहानको खाना खाने ठाउँ ।
कोक्पाले भने, ‘नाति, हाम्रो साथीहरू अगाडि गा’को छ । खाना पकाउन थाल्यो यतिबेला । पाक्दा त हामी पनि पुगिन्छ । नबिसाइ सरासर जाङ है ।’ मैले हुन्छ भनें । मलाई बलुदाइले छोडेका थिए । मलाई कोक्पाभन्दा बढी हतार थियो ।
हामी नाति–बाजे मरुवा खोलैखोला लाग्यौं । कहीं कम्मरकम्मर पानी आउँछ । कहीं घुँडाघुँडा पानी आउँछ । कोक्पा हतारिएर हिँडेकोहिँडेकै छन् । मैले पछ्याएको पछ्याएकै गरें । नौ जंघार तरेपछि कोक्पाले भारी टेकाए । खाना पकाउने ठाउँतिर हेरे । कोक्पाको अनुहार फेरि बिग्रियो । अनुमान गरेको ठाउँमा कोही भेटिएनन् ।
‘नाति ओडा पनि भेटिएन । खुची पनि झुक्कियो । छोड्युङ भनेर हामीलाई भेटाउन बल गरेछ । हिँडेछ ।’
म साह्रै हस्रक्क भएँ । मरुवाखोला तर्दातर्दा लखतरान । भोक लागेको छ । भारीले मन्ट बटारिएको छ । खुट्टा पनि दुख्न थाल्यो । कोक्पालाई आफ्नो ज्यानभन्दा पनि मेरो माया लाग्न थाल्यो, ‘माइलाले पनि तिलकेलाई छोड्यो । आबो बेपत्ता हुन्छ । लाटा झन् बिजोक हुन्छ ।’
‘नाति आबो पारि जाङ,’ कोक्पाले भने, ‘भात पकाएर खानुपर्छ ।’ मरुवाखोलाको अन्तिम जंघार तर्नु बाँकी थियो । तर्यौं ।
भारी बिसाएर कोक्पा दाउरा खोज्न जंगल पसे । १० मिनेटजतिमा एक अँगालो दाउरा लिएर आए । कोक्पाले एकछाक दाउरा ल्याइसक्दा म अझै बसिरहेको थिएँ । कोक्पाले ढुंगाहरू खोजेर तीन चुला बनाए । आगो बाले ।
कोक्पासँग एकमाने भाँडा थियो । मसँग दुईमाने बुच्चेभाँडा । मैले भाँडा झिकेर दिएँ ।
कोक्पाले आफ्नै भारीबाट चामलको पोका झिके । फुकाए । मुठ्ठीले गन्दै मलाई सोधे, ‘नाति, १० मुठीले एक माना हुन्छ ।
मलाई यतिले पुग्छ । खानालाई कत्तिको खानु मन छ ?’
मैले उत्तर दिएँ, ‘धेरै नखाने कोक्पा ।’
कोक्पाको माना मुठ्ठी रहेछ । उनले मेरो भाग पनि गन्न थाले । पाँच मुठी अर्थात् आधा माना । मलाई खाना पर्खेर खानु साह्रै मुस्किल पारिरहेको थियो । बलुदाइलाई कति बेला भेटुङभेटुङ भएँ । खाना पाक्न थाल्यो ।
म तरकारी काट्न थालें । फूलकोबी मेरो मन पर्ने तरकारी । कोक्पाले भाँडामा मसला पररर पड्काए । कोबी हाले । नुन हाले । एकछिन भटारेर पानी हाले । सधैं मीठो लाग्ने कोबीको झोल । योपालि स्वाद हरायो । तैपनि मनग्गे खाएँछु ।
जुठो थाल पखालें । बालुवाले दुईमाने बुच्चेभाँडा माझें । भारीमा हालें । कोक्पाले चुलाको आगो पानीले छम्केर निभाउँदै थिए । ‘कोक्पा, काँ लाम्थुङा है,’ कोक्पालाई भनें ।
फेदीबाट जंगलैजंगल उकालो हिँड्नुपर्छ । दुई सयपटकजति टेकान लगाउनुपर्छ । तीन बिसाउनीपछि आहाले आइपुगिन्छ । मरुवाफेदीदेखि मैले दिलेम्पा कोक्पालाई छोडें । अगाडि लागें ।
बलुदाइ बोल्न सक्दैनन् । हातको इसाराले संवाद गर्छन् ।
‘तँ सानो छस् । हिँड्न सक्दैनस् । ढिलो हिँड्छस्,’ बलुदाइले कटारीबाट हिँड्नुभन्दा अगाडि इसारा गरेका थिए, ‘कोक्पा पनि ढिलो हिँड्छ । कोक्पासँग हिँडिराख ।’
कटारीबाट बिहान हिँड्दा म अगाडि थिएँ । बाटो भुलेपछि पछाडि परें । बलुदाइ अगाडि । तर, बलुदाइले आफू छोडिएको अनुभूति गरेका थिएनन् । ‘भाइ अगाडि छन् । कतिबेला भेट्नु ?’ बलुदाइ अगाडि हतार–हतार दौडिएका थिए ।
बलुदाइले आफू छोडिएको छु भन्दै अगाडि हुइँकिएका थिए । वास्तवमा म छोडिएको थिएँ ।
कटारीमा हामीले छोडेका साथीहरू आहालेमा भेटें । बिसाइरहेका थिए । जाँड खाँदै थिए । मलाई देखेर उनीहरू छक्क परे, ‘हना तिलके अहिले पो आउँदै छ । अगाडि गइसक्यो भनेको । पछाडि पो ?’
मैले बलुदाइलाई देखिनँ । उनीहरूले भने, ‘बले तैंले छोडिस् भनेर कटारीबाटै अगाडि हिँडेको ।’ खुत्रुक्कै भएर बिसाएँ । जाँड पनि खाइनँ । रोऊँरोऊँ लाग्यो ।
एकछिन बसेपछि साल्तेम्माको दोरेम्पा दाइ लखरलखर झरिपुगे । कटारी झरिरहेका रहेछन् । मैले सोधें, ‘दाइ, मेरो बलुदाइ भेट्नुभयो ?’
आहाले उकालो, टोपी खस्ने बाटो छ । उकालो कट्नेबेलाको डाँडाको नाम दारेगौंंडा ।
‘मैले डारेगौंडामा भेटेको थिएँ । हात हल्लाउँदै थियो । म उसको भाषा बुझिनँ,’ दोरेम्पा दाइले भने, ‘त्यहाँबाट पनि हिँड्यो होला । अहिले भान्टाबारी पुग्नुपर्छ । बलु हतारमा थियो ।’
म हरेश खाएँ । अब हाम्रो भेट हुँदैन ।