मेयर हर्क साम्पाङकी आमाको घर



चोखाने (खार्तम्छा), खोटाङ । धरान उपमहानगरपालिका मेयरमा निर्वाचित भएपछि हर्क साम्पाङ गाउँ (चोखाने, खार्तम्छा, खोटाङ) आए । धरान उपमहानगरपालिकाको मेयर साम्पाङ गाउँ आएपछि स्थानीय भेला भए । बधाइ दिनेको कमी थिएन । बधाइ लिनेले धन्यवाद ज्ञापन गरिरहे । धरानको मेयरमा निर्वाचित हर्क साम्पाङको गाउँ चोखानेले खुसियाली मनायो ।

बधाइ दिने, खुसियाली साटासाट गर्ने र धन्यवाद ज्ञापन गर्ने क्रम सकियो । ‘३ रेक्टरको भूकम्प आयो भनेमात्रै पनि यो घर भत्कन्छ होला । मेरी आमा यहाँबाट यताउता जान मान्नुहुन्न,’ गाउँ आउँदा मेयर साम्पाङले पुरानो आफ्नो घर औंल्याउँदै स्थानीयसँग भने, ‘एउटा घर त बनाउनैप¥यो । मेरो बुवाको नाम तिलविक्रम राई हो । बुवाको नामको पहिलो लेटर ‘टी’ बाट आउँछ । सोही आकारको घर बनाउनु छ ।’

अन्ततः घर बनाउने पक्कापक्की भयो । ‘टी’ आकारको घरको डिजाइन स्थानीय ज्ञानराज राईले गरे । डिजाइनअनुसार घर बनाउन केपिलासगढी गाउँपालिका–२ खार्तम्छाका वडाध्यक्ष डिक साम्पाङ राईलगायत जुटे । ‘घर निर्माण सम्पन्न गर्दा पाँच महिना बितिसकेको थियो,’ केपिलासगढी गाउँपालिका–२ खार्तम्छाका वडाध्यक्ष राईले भने, ‘घर गाउँकै नमुना देखिन्छ । घरसँगै भान्छाघर र शौचालयसमेत ठडिएका छन् ।’

घर त्यत्तिकै आकर्षक देखिन्छ । चिटिक्क परेको घर उस्तै उज्यालो । घरभन्दा उज्यालो त जसमायार राई (८०) देखिन्छिन् । पहिले खरले छाएको घर थियो । नयाँ घर जस्तापाताले छाइएको छ । पहिले धुँवा, धुलोमैलो हुँदै बस्नुपर्ने जसमायालाई बाध्यता थियो । हिजोआज सो समस्या समाधान भएको छ ।

भान्छाघर ।

रंगरोगनसहितको चारकोठे घर निर्माण सम्पन्न गर्न ८ लाख खर्च भएको वडासदस्य राईले सुनाए । घर निर्माण गर्दा लागेको पैसा आसरथ राईले बेहोरे । आसरथ जसमाया राईका जेठा छोरा हुन् । उनी बेलायतमै बस्छन् ।

‘कान्छा छोराले घर आउँदा एकै ठाउँ बसौं, बूढी भयौ, एक्लै नबस्नू भन्थ्यो,’ जसमाया राईले भनिन्, ‘मलाई सहर–बजारभन्दा आफ्नै गाउँठाउँ मन पर्छ । गाउँमा उत्तिसघारी, बाँसघारी डुल्यो । साथीकहाँ गयो रमायो । गाउँमा बस्न कति जाती–जाती । सहज–बजारमा घरभित्रै बस्नुपर्छ । धरान झरे पनि, काठमाडौं गए पनि गाउँ फर्किहाल्छु ।’

शौचालय ।

गाउँको हावापानी प्यारो । समाज प्यारो । ढुंगामाटो प्यारो । माथिल्लो घर, तल्लो घर, ओल्लो घर, पल्लो घर सबै–सबै प्यारो । ‘आफ्नो भागभोग त होला नानी,’ उनले पुछारमा बोलिन्, ‘केटाहरूले बनाइदिएको कटेरो पर्खेर बसिरहेकी छु ।’

प्रतिक्रिया दिनुहोस्