हलेसीमा माङ्खिम शिलान्यास



खोक्चिलिपा बुक्टो (हलेसी) । स्थान : खोक्चिलिपा बुक्टो । अर्थात् बसाहा गुफा । समय : बिहान ८ः३० बजे । किराती नछुङ (धामी) चरुमान राईले अदुवा, वाबु (चिन्डो)मा चोखो वासिम (जाँड) राखी मुन्दुम गाउँदै माङ्खिमको जग चोखो बनाए ।

त्यसपछि ?

माङ्खिम सुङ्खिम खिम नुङ वैमा सिमरुङ फ्रोमा । अर्थात् माङ्खिम शिलान्यास गरियो । हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इवन राई, नगर उपप्रमुख बिमला राई र माङ्खिम निर्माण समिति अध्यक्ष मविन्द्र चाम्लिङ राईले संयुक्त रूपमा माङ्खिम शिलान्यास गरेका थिए ।

हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख राईले माङ्खिम निर्माण सुरु भएकाले नगरपालिकाले अवलम्बन गरेको त्रिधार्मिक तपोः भूमिको तात्पर्य पूरा हुँदै गएकोमा गौरव गरे । ‘माङ्खिम निर्माण सम्पन्न गर्न बजेटको समस्या हुने छैन,’ उनले सुझाए, ‘बजेटकै कारण काममा आलटाल वा टालटुल गरी योजना पूरा नगर्नुहोला ।’

हलेसी तुवाचुङ नगरपालिका नगर उपप्रमुख राईले काम ऐतिहासिक भएको र ऐतिहासिक कामको नेतृत्व विषयविज्ञले पाएकाले निर्माणाधीन कामप्रति आफू विश्वस्त रहेको बताइन् ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान वडाध्यक्ष चइन्द्र राईले ढिलै भए पनि माङ्खिम शिलान्यास गरिएकोमा खुसी व्यक्त गरे ।
शिलान्यास कार्यक्रमा मुन्दुम अध्येयता भोगीराज चाम्लिङले माङ्खिमबारे प्रकाश गरेका थिए ।

माङ्खिम निर्माण समिति अध्यक्ष माविन्द्र चाम्लिङ राईले थालिएको काम सहज तरिकाले यसको ढाँचा र मर्मअनुसार पूरा प्रतिबद्धता जनाए ।

माङ्खिम शिलान्यास कार्यक्रममा नगरका विभिन्न दलसम्बद्ध राजनीतिक नेता र विभिन्न संघ संस्थासम्बद्ध प्रतिनिधिको उपस्थिति रहेको थियो ।

हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमबाट १५ लाख रुपैयाँ बजेट विनियोजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्