
बाहुनीडाँडा (खोटाङ) । उदय किराती गाउँघरमा उजिर राई भनेर चिनिन्छन् । हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा, डुम्रेगाउँ खोटाङनिवासी राई सामाजिक अभियन्ताका रूपमा समेत परिचित छन् । उनले आफ्नो परिवार वा समुदायको मात्रै होइन, आफू बसोवास गर्ने क्षेत्रको मुहार परिवर्तन गर्न अथक मिहिनेत गरे । हातेमालो गरे । उनको जीवन एक व्यक्तिको कथा मात्र होइन, युगीन चेतनाको प्रतिनिधित्व पनि हो भन्न कुनै आइतबार कुर्न पर्दैन ।
प्रारम्भिक परिवेश र बोध
उदय किरातीको सुरुवाती जीवन हजारौं ग्रामीण नेपालीकै जस्तो अभाव, कठिनाइ र संघर्षबाट गुज्रेको थियो । बाहुनीडाँडा क्षेत्र, जहाँ उनी हुर्के, त्यो गाउँबाट निकै टाढा, साँघुरो सम्भावनाको घेराभित्र थियो । सहरको कुनै तस्बिर त्यो गाउँको आँखाले देख्दैनथ्यो । अनि सहर–बजारमा पाक्ने कुनै स्वादिलो परिकारको स्वाद त्यो गाउँले अनुभूति गर्न पाएकै थिएन ।
जनयुद्ध र समाज रूपान्तरणको दर्शन
सामाजिक अन्याय, अवसरको असमानता र सत्ताको केन्द्रीकरणविरुद्ध उनले हृदयदेखि विद्रोह गर्न थाले । ‘जीवनमा केही गर्नुपर्छ’ भन्ने गहिरो मान्यता बोकेर उनी जनयुद्धको मूलबाटोमा लामबद्ध भए । जनयुद्ध केवल बन्दुक उठाउने अभियानमात्रै थिएन, त्यो त चेतनाको वीजारोपण गर्ने अर्थपूर्ण प्रक्रिया थियो । जुन उनको मस्तिष्कमा गहिरो गरी रोपियो ।
त्यो कालखण्ड (युद्ध) को पेरिफेरीबाट केन्द्रतर्फ सोच्ने आँट उनमा छँदै थियो । उनलाई त्यही आँटले केवल सेनानी बनाएको थिएन, एक योजनाकार, एक समाज अभियन्ता र विकासको सपना देख्ने अभियन्ता बनायो । तत्कालीन नेकपा माओवादी खोटाङका नेता उदिम बान्तवा ‘मुक्ति’ बाहुनीडाँडा क्षेत्रमा सक्रिय थिए । त्यो बाटोमा हिँड्न एरिया इन्चार्ज मुक्तिसँगको ‘गुर्दुम भेट’ ले जुराएको उदय सम्झन्छन् ।
जयरामघाटको सपना
त्यतिबेला खोटाङ–ओखलढुंगाका सीमित मानिसले सामान किनबेच गर्ने उपयुक्त थलो जयरामघाट थियो । त्यो पनि सीमित गतिविधिको थलो मात्रै । तर, उदय राईले त्यो ठाउँमा विकासको बीउ रोप्ने सपना देखिरहेका थिए । उनले बुझेका थिए, ‘बजार भनेको केवल पसलमात्रै होइन, त्यो सोचको संरचना हो ।’ बस्ती बसाल्ने पहल उनैले थाले ।
त्यसपछि तत्कालीन माओवादी खोटाङ जनसरकार प्रमुख रत्नकुमार राई ‘दर्शन’सँग उनले छलफल थाले । दर्शनको योजना र विचार बोकेर व्यावहारिक कार्यान्वयन थालेको उनले टेलिफोनमा सुनाए ।
सामूहिक बस्ती बसाउने पहल
उदयकै अग्रसरतामा जयरामघाटमा सामूहिक बस्ती बसाल्ने अभियान सुरु भयो । पकङचेपाका प्रेमबहादुर राई र गुर्दुमका प्रतिमान राईले जयरामघाटमा पहिलो पटक जग्गा खरिद गरे पनि संगठित बजार र संरचनागत विकास गर्ने कार्य उनकै अगुवाइमा भयो ।

घर निर्माणको पहल प्रेमकुमार राईले गरे पनि संरचना र कार्यान्वयन उदयले नै अघि बढाए । तर, समग्र बजार योजनाको प्रारम्भिक अभियन्ता र सन्देशवाहक उदय बने । त्यतिबेला जयरामघाटमा रोपनीको १ लाख ४० हजार मूल्य तोकिएको थियो । त्यो पैसाभन्दा पनि दृष्टिकोण र हिम्मतको लगानी थियो ।
नेतृत्वको सार
नेतृत्वका लागि उनले कहिल्यै लोभ गरेनन् । उनको शैली शान्त तर गहिरो संवादमा आधारित थियो । योजना बनाउने, सबैसँग छलफल गर्ने, सहकार्यमा विश्वास गर्ने, अनि नतिजा निकाल्ने उनको कार्यशैली त्यत्तिकै लोभलाग्दो मानिन्छ । सत्ताको लोभ नभएको, श्रेयको प्रतिस्पर्धा नगर्ने । ‘नाम होइन, कामले चिनिनुपर्छ’ भन्ने मान्यताका पक्षपाती उनी सामूहिक भावना र स्थानीय नेतृत्व विकासको प्रतीक हुन् ।
उत्तराधिकारी र प्रेरणा
हिजोआज जयरामघाट जस्तो देखिन्छ, त्यो केवल किनबेच गर्ने थलोका रूपमा मात्र नभएर सांस्कृतिक, सामाजिक र राजनीतिक आन्दोलनको प्रतीक बन्दै गइरहेको छ । त्यसको मुख्य जस किरातीलाई जान्छ । उनले देखेको सपना गाउँबाट बजार, बजारबाट चेतना, चेतनाबाट परिवर्तन आज पनि भविष्यका योजना बनाउनेका लागि आधारशिला बनेको छ ।
र, अन्त्यमा
उदय किरातीको जीवन पहाडको टाकुराबाट सुरु भएर विचारको सगरमाथा चुम्ने यात्रा हो । यतिबेला किराती देशबाहिर रहेर पनि देशकै चिन्ता गर्छन् । उनले आफूभन्दा अगाडि कैयौं उदाहरण देखे । र, आफू उदाहरणीय बन्ने बाटोमा छन् ।
यो पुस्ताले मात्रै होइन, मानव समाजको अन्तिम बिन्दुले पनि उनको योगदानलाई स्मरण गर्नु केवल कृतज्ञताको विषय होइन, एक प्रेरणादायी दस्तावेज हो । जहाँ गाउँले सपना देख्न सिक्छन् र इतिहास आफैं लेख्न थाल्छन् ।



