साकेला गाउँपालिका अध्यक्षका उम्मेदवार राईको १४बुँदे प्रतिबद्धतापत्रमा के छ ?



रतन्छा (खोटाङ) । साकेला गाउँपालिका अध्यक्षका उम्मेदवार रविप्रकाश राईले खाद्यान्नमा आत्मनिर्भर तथा तरकारी र फलफूल निर्यात गर्ने पालिका बनाउने प्रतिबद्धता जाहेर गरेका छन् ।

आसन्न स्थानीय तह निर्वाचनमा काँग्रेसबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका राईले कृषिमा आधुनिकीकरण गरी खाद्यान्नमा आत्मनिर्भर तथा तरकारी, फलफूल निर्यात गर्ने पालिका निर्माण गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् ।

नेता राईको १४ बुँदे प्रतिबद्धतापत्रमा प्रत्येक नागरिकको स्वास्थ्य बीमा, दीर्घरोगीको निःशुल्क स्वास्थ्य परीक्षण, युवालाई व्यावसायिक सीप र तालिम गराई क्षमताअनुसारको रोजगारीको सुनिश्चितता, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्यको ग्यारेन्टी, सुरक्षित प्रजनन स्वास्थ्य, मातृत्व र बालविकास समेटिएका छन् ।

यसैगरी गरिब, दलित, अल्पसंख्यक तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति, युवा तथा महिलाका लागि सशक्तीकरण, अभिमुखीकरण साथै प्रशिक्षण कार्यक्रम, प्रविधिमैत्री डिजिटल गाउँपालिका तथा सन्तुलित विकासको नमुना गाउँ, स्वच्छ खानेपानी, सुलभ बिजुली तथा व्यवस्थित सञ्चार सेवा व्यवस्था गर्ने भनिएको छ ।

व्यवस्थित यातायात, सिँचाइ तथा पूर्वाधार विकास, साकेला ज्ञान केन्द्र स्थापना र सञ्चालन, साकेला सांस्कृतिक गाउँ निर्माण, आवधिक रूपमा सार्वजनिक सुनुवाइ तथा नागरिक परीक्षण, वैज्ञानिक तवरले वन, वातावरण र विपत् व्यवस्थापन गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

साकेला काँग्रेसले सरिता खड्कालाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । खड्का साकेला गाउँपालिकाकी पूर्वउपाध्यक्षसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्