बिहानको आठ बज्दै थियो । हलेसीको माल्खु (ग्यारेज टोल)मा भेला भएका एक हुल मानिस । उनीहरूलाई देख्दा केही न केही हुन लागेको छ भन्ने अनुमान लगाउन सकिन्थ्यो । जम्मा भएको भीडभाड केका लागि थियो होला ?
भेला भएकालाई अघिल्लो दिनै थाहा थियो– त्रिधार्मिक स्थल हलेसी बजार क्षेत्र सरसफाइ गर्ने । सरसफाइ गर्ने त्यही भीडमा देखिए– हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख बिमला राई, नगर उपप्रमुख रमेश राउत र ७ नम्बर वडाका वडाध्यक्ष कमल गिरी ।
त्यही भीडमा हलेसी तुवाचुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य, हलेसी विकास समितिका निर्देशक सम्मरबहादुर भुजेल, इलाका प्रहरी कार्यालय हलेसीका इन्चार्ज, श्री हलेसी मन्दिर व्यवस्थापन समिति अध्यक्ष हर्कराज राई, पुजारी गोपाल गिरी, सुरक्षाकर्मी, हलेसी होटल व्यवसायी संघसम्बद्ध प्रतिनिधि, नागरिक समाज, टोल समितिसम्बद्ध प्रनितिनिधि ।
बिहान ८ः१५ बजेदेखि १०ः३० बजेसम्म हलेसी क्षेत्रको सरसफाइ गरिएको थियो । हलेसीको माल्खु (ग्यारेज), ट्राफिक चोक, साल्पा विकास बैंक चोक, रिट्टाबोटे हुँदै हलेसी गुफाको प्रवेशद्वारआसपासमा सरसफाइ गरिएको थियो ।
सरसफाइ गर्दा आफ्नो घरबाट निस्केको फोहोर निश्चित ठाउँमा जम्मा गर्न, निर्माणसामग्री तथा अन्य व्यापारिक सामान सडकपेटी मिचेर नराख्न अनुरोध गरिएको थियो । बजार क्षेत्रमा पानी र बियरका बोतल, गुट्खा, चाउचाउका खोल, प्लास्टिक यत्रतत्र देखिन्थे ।
हलेसी बजार क्षेत्रमा साप्ताहिक रूपमा बिहीबार बिहान सातदेखि नौ बजेसम्म सबै–सबै सरोकारवालाको उपस्थितिमा सरसफाइ गरिने हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख बिमला राईले बताइन् ।
सातामा एक होइन, दुईदेखि तीनपटक सरसफाइ गर्नुपर्ने, सफा गर्दा निस्केको फोहोर नगरपालिकाले ट्रयाक्टरमार्फत निश्चित ठाउँमा जम्मा गर्दा बजार क्षेत्र सफा देखिने एक स्थानीयले सुझाए ।
‘नगरपालिकासँग एउटामात्रै ट्रयाक्टर छ । आपतविपतमा परेका नगरवासीकै सेवामा पठाउनुपर्छ,’ नगरप्रमुख राईले भनिन्, ‘तर, बजार क्षेत्रको सरसफाइ र फोहोर व्यवस्थापनका लागि विशेष प्राथमिकतामा राख्नेछु ।’