३ पसेरी नुन बोक्ने सर्तमा कटारी यात्रा


पुसको महिना । बालिनाली उकेरो लगाइएकाले जताततै खुला । बर्खाभरि बन्धनमा रहेका बस्तुभाउ छाडा छाडिएकाले खुसी देखिन्थे । बाख्राका पाठापाठी बुर्कुसी मार्दै तल–माथि गर्थे । आमा राति ३ बजे उठेर हाम्रा लागि आवश्यक सामग्री मिलाउँदै थिइन् । चिभे, रुपी, भँगेरा आफ्नै सुरमा बिहानको संकेत गर्दै थिए ।

हिउँद लागेकाले लावाचुङ फुङ उडेझैं देखिन्थ्यो । तुँवालोले आधा आकाश ढाकेको थियो । घामका किरण तुवाँलोभित्रै हराएको देखिन्थ्यो । स्याल्मे–ट्याम्केतिर हिउँ परेकाले लावाचुङबाट बग्ने सिरेटोले फुक्थ्यो । धितुङमा जाडो बढेमा गाउँका बूढापाकाले चाम्लिङ राई भाषामा भन्थे, ‘स्याल्मे–ट्याम्केदानी हिउँ ढा क्यारै । राक्का चिङामा डिइडो ।’

आपा र मलाई भने कटारीसम्म नुन लिन जाने ढाकर, टेकुवा, पाँच दिनका लागि पुग्ने सामलतुमल, ओढ्ने, ओछ्याउने तयार गर्ने हतारो थियो । आपाको नुन, तेल बोक्ने ढाकर, टोक्मा बुइगलमा तयारी अवस्थामा हुन्थे । मेरा लागि ढाकर र टोक्मा जोहो गर्नुपथ्र्यो । पानी भर्ने डोकोकै दुई काम्रो तानिदिँदा टोक्मा अड्याउन सकिन्थ्यो । त्यसैबाट काम चलाउने निधो गरियो । म भने पहिलोपटक कटारी जाने कुराले प्रफुल्लित थिएँ ।

धेरै दिनअघिदेखि स्कुल जाँदा, मेलापात गर्दा, बेंसी झर्दा, साथीभाइ भेट्दा कटारी जाँदै छु भनेर झ्याली पिट्थें । टाढाको यात्रा भनेको एक दिनसम्म हिँडेर उदयपुरको जाँते माउलो गएकोभन्दा अरू अनुभव थिएन ।

 

पहिलेको कटारी

आपा, म, तल्लो घरको तिप्पा, बाबै, दाजैलगायत कटारी लाग्यौं । पीपलडाँडा नपुग्दै तिप्पा, बाबै र दाजैलाई कटारी कस्तो छ भनेर सोध्न थालें । ‘सेलामा पुगेर हेर्लास् अनि थाहा पाउलास् नि भनेर ‘रेडिमेड’ उत्तर पाउँथें । तैपनि कटारीे नपुगी जान्ने, बुझ्ने इच्छा जागिरह्यो । बेलाबेला सुन्थें– लाओर्से ढाड, राजदह, तयम्बुपुल, सोरुङखोलाको बाइस जंघार, बाँजे, न्याउलीखोप, नर्सिङ्गे, बोबोला, भान्टाबारी, मरुवाखोला कटेपछि कटारी पुगिन्छ ।

राजहद पुगियो । यसो हेरेको फनक्कै घुमेको रहेछ । गड्तीरै–गड्तीतर हिँड्दा खुट्टा दुखिसकेको थियो । तयम्बुपुल पुगियो । जिन्दगीमा पहिलोपटक पुल तर्दै थिएँ । टाढैबाट देख्दा पुल कम्ती राम्रो देखिँदैनथ्यो । पुल तर्नुभन्दा उभिएर हेर्नु झन् मज्जा । आज बाँजे पुग्नुपर्छ भनेर आपाहरूले भन्थे । एकछिन ढिला गरियो भने छोडिने डर । त्यसैले पल्याकपुलुक नजर लगाएर बाटो लागें । पुलबाट धेरै मानिस आवतजावत गर्ने भएकाले बीचमा पुग्दा कोक्रो हल्लाएझैं अनुभूति हुन्थ्यो । हल्लिने पुलबाट बल्लतल्ल पारि पुगें । डरले पुल कस्तो देखिन्छ भनेर फर्केर हेर्ने आँट गरिनँ । रित्तो ढाकर हल्लाउँदै तिप्पा, आपा, बाबै, दाजैलाई पछ्याउँदै गएँ । घाम डाँडामाथि पुगिसकेको थियो । सोरुङखोला पुगियो । अब पाइन्ट सुर्का खोला तर्नुपर्छ भनेर आपाले सुझाए ।

३ पसेरी नुन बोक्ने सहमतिमा कटारी हेर्ने रहर पूरा गर्दै थिएँ । पाइन्ट सुर्काएँ । अनि आपालाई सोधें– खै त बाइस जंघार । आपाले भने, ‘अब सुरु हुन्छ ।’ दुई जंघार जति तरेपछि त खोला र आकाशमात्रै देखिए । माथि हेर्यो ठाडो भीर । बाँदर लडिमर्ने भीर हेर्दै डरलाग्दो । हिँड्दै गयो पछाडि पनि पहाडले ठ्याक्कै थुनेको । अगाडि पनि ठ्याक्कै अर्काे पहाडले छेकेको । जाने ठाउँ कता हो पत्तै नहुने । सासै थुनिएलाजस्तो । पहिलोपटक भएर होला अत्यास लाग्यो । खोलामा पानी बग्ने भए पनि खेती गर्ने ठाउँ नभएको । कस्तो अनकन्टार ठाउँ । जंघार तर्दातर्दा गोलीढुंगा पुगेपछि अलि–अलि खेत देखियो । मगर बस्ती रहेछ । ढुंगा पनि मट्याङ्ग्राजस्तै ।

पहिलेको कटारी

भीरमा पनि बाटोजस्तै देखिन्थ्यो । तिप्पाले भने, ‘देवताका पालामा भीमसेनलाई कसले खेदाएको रे । भीमसेर त्यहीं बाटो हुँदै भागेको रे । अनि खै कसलाई हान्न मट्याङग्रा बनाएर राखेको रे । त्यसैले यहाँका ढुंगा मट्याङग्राजस्तै छन् ।’ किंवदन्ती सुन्दा अलि–अलि मेल खाएझैं लाग्ने । धितुङमा बस्ने मान्छे सोरुङखोलाको बाइस जंघार तर्दातर्दा लखतरान परें । तैपनि अघि हिँड्नेलाई पछ्याउनु छँदै छ । ठाउँ–ठाउँमा बनिबनाउ चुला देखिन्थे । त्यसताका सोलुखुम्बु, ओखलढुंगा र खोटाङेलाई नुन, तेल लिन जाने पायकको ठाउँ कटारी थियो ।

बर्खामासमा सोरुङखोला उर्लिएको हुन्छ रे । तर्न गाह्रो हुन्छ रे । त्यसैले वैकल्पिक बाटो सोरुङ–छबीसेबाट रहेछ । तर, बाटो घुमाउरो भएकाले मानिस त्यति हिँड्दैथे । बाइसौं जंघार तर्दै गर्दा घाम डुबिसकेको थियो । बाटोमाथि तल भ्यागुता कराउन थाले । हामी उकालो लाग्यौं । जंगलतिर झिजाझिजी जोहो गरेर बाँजे पुग्दा झमक्क साँझ परिसकेको थियो । धारानजिक खाना पकाएर खायौं । बाटोछेउकै कटेरोमा ओछ्यान लगाएर सुत्यौं । सुत्नेबेलासम्म खुट्टा सुनिएर टेक्नै नहुने भइसकेको थियो । सोरुङखोलाको बाइस जंघार तरेकाले थकित थिएँ ।

मीठो निद्रा लाग्यो । पहिलोपटकको परदेश यात्रा । गाउँघरको याद आयो । भोलिपल्ट राति नै बाटो लाग्नुपर्ने रहेछ । जाडोमा उठेर बाटो लाग्नु कम्ती गाह्रो थिएन । जति चाँडो उठेर हिँड्यो उति बाटो छोटिने । सबेरै बाटो लागियो । खुट्टा दुखेर हिँड्न गाह्रो भयो । खुट्टा तातिँदै गएपछि दुख्न छाडेको अनुभूति भयो । जाडो पनि हुन छाड्यो । अँध्यारोमै बाटो लागेकाले लिम्पाटार कस्तो थियो देख्न पाइनँ । राउतखर्क पुग्दा पूरै उज्यालो भयो । कोही पानी थाप्दै थिए । कोही मुख धुँदै थिए । हामी सरासर बाटो लाग्यौं । न्याउलीखोपमा दाउरा खोजेर बोक्यौं । नर्सिङ्गे पुगियो । बाटो त लै–लै नर्सिङगाजस्तै फिनिकफिनिक घुमेको । कोही कटारी झर्दै गरेका, कोही फर्कंदै गरेका । घरी ओल्लो गैरा । घरी पल्लो गैरा । गर्दागर्दै नर्सिङ्गे नि छोडियो । अलिक तल झरेपछि बिहानको खाना खाने निधो भयो । त्यो ठाउँको नाम वरपानीजस्तो लाग्छ ।

जनक चाम्लिङ

आपा र तिप्पाचाहिँ तातो चुला खोजेको खोज्यै । किन रहेछ भनेर बुझ्दा तातो चुलामा खाना बसाइयो भने छिटो पाक्ने रहेछ । अरू बटुवाले खाना पकाएर छाडेको चुला तातिरहेको भए आगो फुकेर चुला तताउनै नपर्ने । थोरै दाउराले छिटो खाना र तरकारी पाक्ने । आपा र तिप्पा तातोचुला खोज्दै हिँडेको बिर्सेको छैन । खाना खाएर ओरालो झर्यौं । मरुवाखोला पुगियो । मरुवाखोला पुगेपछि घरका डिजाइन फरक–फरक देख्न थालें । हाम्रोमा खरले घर छाएको हुन्थ्यो भने सार्वजनिक भौतिक संरचना जस्तापाताले छाएको हुन्थ्यो । कटारी छेउछाउ आउन लागेको रहेछ । सिमेन्टको टायल र थाकलले छाएको घर देखिन थाले । त्योबेला कटारीदेखि ओखलढुंगासम्म जोड्नेगरी नेपाली सेनाले बाटो खन्दै थिए । मरुवाखोलाभन्दा अलिक माथि बाटो खनिसकेका थिए । ढुंगा बोक्ने ट्याक्टर र ट्रक ओहोरदोहोर गरिरहन्थे । मचाहिँ फर्की–फर्की हेर्थें । आपा गाली गर्थे, ‘छिटो आइजा ।’ म भने आँखाले भ्याइन्जेल हेर्थें ।

कटारी मेरो रहरको पहिलो सहर । एउटा, दुईटा घर देखिन थालियो । नभन्दै आम्मामा घर त कति हो कति । म तीनछक परें । त्यति अग्लो र बाक्लो घर देख्दा अनौठो लाग्यो । अर्खाैले र हलेसी बजारबाहेक नदेखेको म तीनछक पर्नु अस्वाभाविक थिएन । बजार टेकिएछ । मधेसीमूलका साहुजीहरूले तान्न थाले । भन्न थाले, ‘मेरोमा माल राम्रो छ हजुर । बिसाइहाल्नुस् हजुर ।’ मैले सोचें यति मरिहत्ते गरेपछि सित्तैमा पो दिन्छन् कि के हो । हामीले खोटाङेकोमा ढाकर बिसायौं । बूढाहरू बाठा थिए । कहिले चिनेझैं गरी चिप्लो घसेर बोल्ने । फुरुक्क पार्ने । तिप्पा र बाबैको त नामै कण्ठ रहेछ । फलानाम्पा, झिस्काम्पा भनेर भन्न थाले । म त छक्क परें । होइन ‘सो हौ खु’ (को हौ ऊ) भन्ने लाग्यो । आपालाई सोधें पनि । उनी घरमालिक रहेछन् । आपा र तिप्पाले वासिम खाने भनेर ‘अर्डर’ गरे । बूढाले त होउ बूढी फलानेम्पालाई वासुम (जाँड) बनाइदेउना भने । उता बजुले पनि सापाडुमा वासिम (खोटाङे कोक्पाको भाकामा वासुम) लिएर दिइन् ।

हामी किनमेल गर्न निस्क्यौं । बूढाले चिनेको मान्छेको पसलमा राम्रो पाउँछ । त्यहाँ जानु भन्दै भने । आपाहरू समान किन्न लागे । त्यसबेला लामो यात्राको बसपार्क ताउखोलानजिक मात्रै थियो । कटारीभन्दा माथि जाने ठाउँ नभएकाले बसपार्क पनि तलै थियो । खोटाङे बाजेकहाँ पुग्दा पनि मैले किताबमा पढ्दा देखेकोजस्तो लामो चारपाङ्ग्रे बस देखेकै थिइनँ । माथितिर ट्रक र ट्याक्टरमात्रै देखिन्थे । त्यसैले सबैको आँखा छलेर बाटो सोध्दै ताउखोलासम्म मान्छे चढ्ने बस हेर्न हिँडें । निकै तल पुगेपछि सायद काठमाडौं जाने बस वा अरू ठाउँ जाने हो लामो यात्राको बस देखियो । त्यति ठूलो बस देख्दा झन् तीनछक परें । बस पछ्याउँदै बसपार्कसम्म झरें । तल झर्दा त कति हो कति लामालामा बस । कुनै आउँदै गरेका । कुनै जाँदै गरेका । केही गुड्न लागेका । केही रोकिइरहेका । हर्न बज्दा एक/दुईपटक त मज्जाले तर्सिएँ । त्यतिबेला तर्सेर परपर भाग्थें ।

नर्सिङ्गेडाँडामा सुस्ताउँदै बटुवा । तस्बिर : जितेन्द्र ठकुरी

हामी ढाकर बोक्नेको गन्तव्य कटारीदेखि टुंगिन्थ्यो भने झोला बोक्नेको बल्ल सुखको यात्रा सुरु हुन्थ्यो । ताउखोलामा किताबमा पढेझैंको लामो बस चढेर स्वाट्टै जाने इच्छा कम्ती थिएन । तर, के गर्नु आफू त ढाक्रे परियो । बिस्मात् लाग्यो । बसहरू आफ्नै गतिमा गन्तव्य नाप्दै थिए । यात्रुहरू बसको झ्यालबाट टाउको निकालेर बाहिर हेरिरहेका हुन्थे ।

झोला बोकेर बस चढेर जान पाए कति रमाइलो हुन्थ्यो होला हगि भन्दै आफूले आफूलाई प्रश्न गर्दै खोटाङे बाजेको तिर फर्कें । बसहरू ठ्याक्कै किताबमा देखिएजस्तै हुँदोरहेछ । किताबको जस्तै बसको माथि समान राखिँदोरहेछ । केही यात्रु हुटमा पनि बस्दारहेछन् ।
बाँजेमा हामी सुतेको खटेरोनजिकै होटल एन्ड लज थियो । त्योचाहिँ झोला बोक्ने पैसावाला परदेशीका लागि खाने, बस्ने व्यवस्थासहितको सुविधा भएको । मान्छे एउटै हौं, उसले झोला बोकेको थियो । हामीले ढाकर । त्यसैले सम्बोधन पनि फरक थियो । हामीलाई ढाक्रेहरू कटेरोभरि सुतेका छन् भनेर अपमान गरिन्थ्यो । हामी पनि कटोरेमै सुत्न पनि एकजनाको ५ रुपियाँ तिरेका थियौं । तर, झोला बोक्नेले १०० देखि २०० सम्म खर्च गर्ने भएकाले होला परदेशीमात्रै होइन पाहुना आउनुभएको छ भनेर सम्मान गर्थे । त्यसबेला त्यति वास्ता गरिनँ । तर, तेस्रोपटकचाहिँ ढाकर फ्याँकेर झोला बोकेर होटल एन्ड लजवालाको परदेशी अथवा पाहुना बनेर सम्मान गरिमाग्न मन लाग्यो । अर्काे कुरा ढाकर बोक्दा कटारीसम्म मात्रै गन्तव्य हुन्थ्यो । झोला बोक्दा अन्य ठाउँसम्म जान सकिन्थ्यो । एकप्रकारको वितृष्णा जाग्यो । तर के गर्नु, ढाकर फ्याँकेर झोला बोकिहिँड्नु मेरो सामथ्र्यले दिँदैनथ्यो ।

अतीत सम्झँदै कोक्पाकोमा फर्कंदा ढाकर बिसाएको घर पत्ता लगाउनै सकिनँ । जुन घर हेर्छु, उस्तै देख्छु । घर खोज्दाखोज्दै आपालाई देखें । कहाँ गइस्, नभनी गइस् भनेर आपाले झपारे । साँझ पर्यो । खाना पकायौं । खाएर सुत्यौं । आपा र तिप्पाले भोलि राति नै हिँड्नुपर्छ, हिसाब अहिले नै मिलाउनुपर्छ भन्थे । हैन, यति धेरै गाउँकै बाजेजस्तो गरेर सित्तैमा खान पिउनु दिएका छौं, पैसा पनि तिर्नुपर्ने भनेर आश्चर्य लाग्यो । आपा र तिप्पाले हिसाब मिलाएपछि सुत्यौं । बिहान अँध्यारोमै उठेर बाटो लाग्यौं । तीन पसेरी नुन ढाकरको पिँधमा भएर होला साह्रै गह्रौं लाग्यो । ढाकरले पछाडि तानेझैं लाग्थ्यो । एक पाइला दुई पाइला गर्दै आपा र तिप्पा छोड्दै गए । मलाई टेकुवा लगाउन पनि आउँदैनथ्यो । घरी ढाकर बेस्सरी हल्लिन्छ । घरी सडकको हिलोमा टेकुवा गाडिन्छ । म एक टेकान हिँडेर टेकान लगाउन खोज्दा आपा र तिप्पा भेट्छु । टेकान लगाउन नपाउँदै हिडिहाल्छन् । फेरि टेकान नलगाई पछ्याउँछु । बिस्तारै छोडिहालिन्छु । गह्रौं भारी बोक्दा झन्डै एक किलोमिटर हिँडेपछि एकछिन टोक्माले ढाकरको पिँध्मा अडेस लगाएँ । त्यसलाई टेकान भनिँदोरहेछ । टोक्माले टेकान लगाउन जान्दै गएपछि नाम्लो घाँटीमा झारेर सुस्ताउँदा कम्ती आनन्द लाग्दैनथ्यो । टेकान लगाएर आँखाअघिको दृश्य अवलोकन गर्दा आफ्नै गाउँघरजस्तै देखिन्थ्यो । निकै हिँडेपछि बिसाएर पानी खाइन्थ्यो । सुर्ती खाइन्थ्यो । गह्रौं भारी बोकेर हिडेकाले खुट्टामा कैंडा लाग्न थालेको रहेछ । बानी नहुनेलाई कैंडा लाग्छ भनेर सुनेको थिएँ ।

पहिलेको कटारी

एक बिसाउनीदेखि चाहिँ पछाडि हिँडेर छोडिन्छु भन्ने डरले नाइके तिप्पा (टेकान लगाउने मान्छे) को पछाडि हिँड्न थालें । बाध्यताले बानी परेको तिप्पालाई भेट्न हम्मेहम्मे पथ्र्यो । बल्ल बिहानको खाना खाने ठाउँ आयो । आपा र तिप्पाले दाउरा खोज्न थाले । बाबै, दाजैहरूले चुला बनाए । सधैं तातो चुला कहाँ पाइन्थ्यो र ! आगो फुक्दाफुक्दै रिङ्गटा लागिसक्यो तर बल्दैन । तुसारो र शीतले भिजेको दाउरा बल्नै गाह्रो । फुक्दाफुक्दा बल्ल मज्जाले बल्न थाल्यो । खाना पाक्यो । तरकारी काउली र आलु थियो । आम्भौ टमाटर त कत्रो हौ ! हाम्रोतिर त सानो–सानो रामभिन्डा हुन्थ्यो । कटारीको टमाटर त कति ठूलो । तरकारी राम्रो नपाक्दै बूढाहरू हतारिए । माथितिर हेर्दै लौ हेर मान्छे बगेको बग्यै छन् । हामी पनि बाटो काट्नुपर्छ । फलानो ठाउँ पुग्नुपर्छ भन्दै छलफल पो गर्न थाले । म त फेरि छक्क परें । घरमा त खाना खाएर एक घन्टा बिसाइन्थ्यो । परदेशमा पनि त्यस्तै होला भनेको कहाँ हुनु । खाइनसकी जुठै भाँडा भारी लगाएर हिँड्नुपर्ने रहेछ । माथितिर सेतै, हरियै, पहेंलै भारी बोक्नेहरू उकालो लाग्दै थिए । त्यो बगेकोजस्तै देखिन्थ्यो ।

पसिनाले जिउ पूरै भिजेको थियो । भिजेको पसिनाबाट एकप्रकारको गन्ध आउँथ्यो । अब भने टेकान लगाउन अलिक जानिसकेको थिएँ । फेरि पनि तिप्पाकै पछाडि हिँड्ने निधो गरी सबैभन्दा अगाडि भारी बोकेर तिप्पाको पछि लागें । अरूले भन्दै थिए, ‘छोडिने डरले बाठो भइस् छ ।’

नर्सिङ्गे पुग्दा त कम्ती रिस उठेन । जति हिँडे पनि जहाँको तहीं । नर्सिङ्गे काट्ने बेला उता गैरापट्टि फर्केर हावा खाँदै बिसाउने बिसौनी रहेछ । बिसाएर यसो हेरेको नर्सिङ्गाजस्तै आकारमा घुमेको बाटो रहेछ । र पो, नामै नर्सिङ्गे रहन गएको रहेछ । गाउँघरतिर पनि गैरामा बसोवास गर्नेलाई त्यहीअनुसार पुकारिन्छ । डाँडामा बस्नेलाई सोहीअनुसार बोलाइन्छ । नर्सिङ्गेले पनि सुहाउँदो नाम पाएछ । बास बस्न त अस्तिकै छेउछाउ पुगिने भयो भनेर तिप्पा र आपा गफ गर्थे । आफूलाई केही थाहा हुँदैनथ्यो । बास बसियो । भोलिपल्ट बाइस जंघार कसरी तर्नु भनेर चिन्ता लागिरहेको थियो । दुःख–सुख तर्नै थियो । घर त पुग्नै थियो । जसोतसो तरियो ।

घरबाट हिँडेको छैटौं दिन घर पुगियो । गाउँ टेक्नसाथ गाउँको वातावरणले न्यानो स्पर्श गरेझैं लाग्थ्यो । पाँच दिन भनेर हिँडेको खै किन हो ६ दिन लाग्यो । घर पनि ६ दिनमै कस्तो नौलो लाग्यो ।

प्रतिक्रिया दिनुहोस्