हलेसी (खोटाङ) । हिजोआज समाजसेवा गर्ने मनकारी मानिस भेट्न त्यति सजिलो छैन । त्यसमा पनि समाजसेवा गर्ने युवा चामलमा बियाँ भेटेसरह पनि भेटिँदैनन् । तर, त्यस्ता दुर्लभ समाजसेवी भेट्दै नभेटिने भने होइन । त्यसमध्येका एक हुन्– युवा पुस्ताका उदाहरणीय समाजसेवी ओमप्रकाश राई ।
हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थान तल्लो कात्तिकेनिवासी राई भक्तपुरलाई कर्मक्षेत्र बनाएर उज्यालो भविष्य खोज्दै छन् । निक भुजिकिक हाउजिङ प्रालि भक्तपुरमा लेखापालको जागिरे भए पनि आफ्नो सालनाल गाडिएको गाउँठाउँको सपना–जपनाबाट टाढिएका छैनन् ।
बीबीएसमा अध्ययनरत उनको जरा गाउँठाउँमै छ । घरपरिवारको आशाका केन्द्र उनी नै हुन् । विविध चुनौतीसँग सिंगौरी खेल्दै उनी पढ्दै अघि बढ्दै छन् । सकेको समाजसेवा गर्न पछि परेका छैनन् । उनले तल्लो कात्तिकेमा रहेको आफ्नो जग्गा मौखिक रूपमा खेलमैदानका दिइसकेका छन् । जहाँ संवत् २०७७ भदौदेखि स्थानीयले भलिबल खेलिरहेका छन् ।
‘खेलमैदानका लागि मैले दिएको जग्गा कानुनी रूपमा हस्तान्तरण गर्न बाँकी छ,’ समाजसेवी राईले प्रतिबद्धता जनाए, ‘घर–सल्लाह गर्दै छु । हुन त घर–सल्लाह गरे पनि मैले नै निर्णय गर्ने हो । चाँडै कानुनी प्रक्रिया पूरा गरेर खेलमैदानका लागि जग्गा उपलब्ध गराउनेछु ।’
खेलमैदानका लागि आफूले उपलब्ध गराएको जग्गामा सानो–सानो रंगशाला बनाउन सके हुन्थ्यो भन्ने उनले इन्द्रेणी सपना देखेका छन् । खेलमैदानका लागि उनले उपलब्ध गराउने जग्गामा हजुरबुवा, हजुरआमा र बुवाआमाको नामबाट रंगशालाको नामाकरण गर्न सके पितृको सम्मान हुनेछ भनेर उनी जानकार छन् ।
गाउँठाउँका युवाले खेलकुदलगायत चौतर्फी विकासमा हस्तक्षेपकारी भूमिका खेलेको सुखद खबर सुन्न उनी सधैं लालायित हुन्छन् । आफूले सकेको सक्दो सहयोग गर्न कन्जुस गर्दैनन् । अलिकति समाजसेवी, अलिकति जागिरे र अलिकति विद्यार्थी भएर बाँचिरहेका ओमप्रकाश राईले खेलमैदानका लागि जग्गा उपलब्ध गराए भनेर उनका गाउँले र शुभचिन्तक त्यत्तिकै खुसी छन् । खेलमैदानका लागि जग्गा उपलब्ध गराउन पाउँदा उनी झन् धेरै खुसी छन् । ‘यस्तो वातावरण मिलाइदिनेप्रति खुसी छु,’ उनले टेलिफोनमा भने, ‘मैले उपलब्ध गराएको जग्गामा निर्मित खेलमैदान सदुपयोग गर्दै गाउँठाउँका खेलप्रेमीको प्रगति चाँडै देख्न र सुन्न पाइयोस् ।’