गरिब बन्दै गाउँ


पहिले–पहिले प्रत्येक घरमा गोठ हुन्थे । गोठमा एक माउ गाई वा भैंसी हुन्थे । र, एक हल गोरु पनि । खेतिपाती त एकमात्र बाँच्ने आधार थियो ।

हिजोआज गाउँले जीवनशैली फेरिएको छ । प्रत्येक घरका कोही न कोही वैदेशिक रोजगारीमा विदेश पुगेका छन् । प्रत्येक घरमा गोठ नभए पनि मोटरसाइकल देखिन्छन् । गाउँका प्रत्येक टोलमा किराना पसल खुलेका छन् । मदिरा पसल छन् । गाउँघरमा खाजाका रूपमा पाक्ने मकैभटमास, चाम्रे, चिउरा, उसिनेको आलु, स्कुस, पिँडालु, तरुलका सट्टा थुक्पा, चाउमिन, मःमः, पास्ता पाक्न थालेका छन् ।

गाउँघरमा पाइने स्थानीय मदिरा रक्सी, निगार, भाती जाँड, हुरेजाँड, कन्दमुलका जाँड, छनुवा, सरुवा आदिका सट्टा बियर, रम, वाइन, ह्वीस्की पाउन र पिउन थालिएको छ । गाउँमा पाइने दही, मही, ओलन, जुस आदिका सट्टा फ्यान्टा, मिरिन्डा, कोकाकोला, ड्यु, स्प्राइट, रेडबुल आदि पेयपदार्थ पिउन थालिएका छन् ।

गाउँ–गाउँमा चटपटे पाइन्छ । ब्रोइलर कुखुरा पुगेका छन् । गाउँ–गाउँमा सहरका सामान पुगेका छन् । विदेशी सामान पुगेका छन् । समग्रमा भन्दा गाउँमा विश्वभरका उत्पादन र परिकार छ्यापछ्याप्ती छन् ।

भरिएका ट्रक गाउँ आउँछन् । तर, फर्कंदा रित्तै । गाउँघरका अधिकांश खेतबारी बाँझिएका छन् । गाउँ किन्नेमात्र भएका छन् । बेच्ने हुन सकेका छैनन् । संसारमा त्यही व्यक्ति वा समुदाय वा देश धनी हुन्छ, जसले किन्ने कम बेच्ने बढी गर्छ । गाउँ बेच्न होइन, किन्नमा रमाउन थालेका छन् ।

त्यसैले गाउँ दिनानुदिन गरिब बन्दै गएका छन् । त्यसो भए गाउँले के बेच्ने ? कहिलेदेखि बेच्ने ? कसरी बेच्ने त ? कहिलेदेखि, कसरी लाखको किन्ने र करोडको बेच्ने हुन्छौं त ? करोडको किन्ने र अरबको बेच्ने हुन्छौं त ? कहिलेदेखि र कसरी हाम्रा गाउँमा आएका ट्रक भरीभरी सामान बोकाएर सहर–बजार पठाउँछौं त ? अनुत्तरित प्रश्नको उत्तर खोज्न ढिला गर्न हुँदैन ।

प्रतिक्रिया दिनुहोस्