दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका काँग्रेसतर्फ मेयरका उम्मेदवार बिमला राईको अग्रता कायमै रहेको छ । नगरका सातवटा वडाको अन्तिम मत परिणामअनुसार राईले ३४५ मतले अग्रता लिएकी हुन् ।
काँग्रेसतर्फ मेयरका उम्मेदवार बिमला राईलाई निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार खडेन्द्र राईले पछ्याइरहेका छन् ।
जनता समाजवादी पार्टीका अन्जिलहाङ राई र माओवादी केन्द्रतर्फ मेयरकी उम्मेदवार रुशिका राई क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् ।
यसैगरी, हलेसी तुवाचुङ नगरपालिका काँग्रेसतर्फ उपमेयरका उम्मेदवार रमेश राउतको अग्रता कायमै रहेको छ भने माओवादी केन्द्रका अमेम्बर राईले राउतलाई पछ्याइरहेका छन् । उता, एमालेतर्फ उपमेयरका उम्मेदवार तुलसा बुढाथोकीको समेत ४०० भन्दा बढी मत खसेको छ ।
हलेसी तुवाचुङ नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ९, १० र ११ को मत परिणाम सार्वजनिक भइसकेको छ । मत परिणामअनुसार वडा नम्बर १, २, ३ र ४ मा क्रमशः रुद्र राई, देवेन्द्र राई, भूपालसिं राई र किशोरकुमार बस्नेत विजयी भएका हुन् । निर्वाचित चारैजना नेपाली काँग्रेससम्बद्ध हुन् ।
वडा नम्बर १० र ११ मा अनिष कार्की र अर्जुन पुरी निर्वाचित भएका छन् । कार्की र पुरी एमालेसम्बद्ध हुन् ।
अहिले नगरका वडा नम्बर ५ र ८ को मत गणना जारी छ ।