खोटाङबाट सालिन्दा ४ करोड बाहिरिने



हलेसी (खोटाङ) । किरात राई पत्रकार संघ केन्द्रीय समिति अध्यक्ष भीम राईले सूचना तथा विज्ञापन प्रकाशित गरेबापत खोटाङबाट सालिन्दा तीनदेखि चार करोड रुपैयाँ बाहिरिने दाबी गरेका छन् ।

तुवाचुङ साप्ताहिक दोस्रो वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै किरात राई पत्रकार संघ केन्द्रीय समिति अध्यक्ष राई यस्तो दाबी गरेका हुन् ।

‘हामीसँग खोटाङमा सञ्चारमाध्यम नै नभएका हुन् त ? हामीले जिल्लाका आमकुरा बाहिर लैजान नसकेकै हो ?,’ उनको ठम्याइ छ, ‘खोटाङे पत्रकारले समाचार नलेखैकै हुन् ? हामीले सोच्नैपर्ने भएको छ । खोटाङमा सञ्चारमाध्यम छन् । सञ्चारकर्मी पनि छन् । जिल्लाका बारेमा लेख्न खोटाङकै पत्रकार जानकार हुन सक्छन् ।’

राष्ट्रियस्तरका पत्रपत्रिकामा सूचना तथा विज्ञापन प्रकाशित गर्नुपरेमा जिल्लाका सञ्चारकर्मीले नपाउने उनले गुनासो गरे । ‘विज्ञापनमा कमिसन आउँछ । कमिसन अरूले नै खाइरहेका छन्,’ उनले अनुरोध गरे, ‘जिल्लाकै पत्रकारमार्फत सूचना तथा विज्ञापन प्रकाशित गर्ने हो भने राज्यले दिने सेवा–सुविधा जिल्लाकै पत्रकारले पाउँछन् । हामी यस्तो सोच्दैनौ किन ? यतातिर पनि ध्यान दिनुपर्छ ।’

पत्रकार पनि बाँच्नुपर्छ । ‘बाँचेपछि मात्रै समाचार लेखिन्छ । तर, सूचना र सञ्चारका लागि छुट्टिएका रकम जिल्लाका पत्रकारले प्रयोग गरेका छन् कि छैनन् ?,’ उनको सोधनी छ, ‘हामी जानकार छौं । ती सूचना तथा विज्ञापन जिल्लाकै स्थानीय पत्रपत्रिकामा प्रकाशित गर्न स्थानीय तह सरकारले चाँजोपाँजो मिलाउनैपर्छ । त्यसो गरे के बिग्रन्छ ?’

पत्रकारले विज्ञापन माग्छन् । यो अस्वाभाविक होइन । सञ्चारकर्म गर्दैगर्दा पत्रकारले सहयोग मागिरहेका हुन्छन् । ‘पैसा पो माग्नुभएन,’ उनले विशेष आग्रह गरे, ‘सूचना तथा विज्ञापन माग्दा अनुदार हुनुभएन ।’

पत्रिका प्रकाशनको सुरुवातदेखि हंगामा ल्याएको भन्दै उनले तुवाचुङ साप्ताहिकको प्रशंसा गरे । पत्रिकाले समाजलाई दिन खोजेको सन्देश सकारात्मक थियो । छँदै छ । यो क्रम जारी राख्न शुभकामनासमेत दिए । ‘तर, खोटाङमै बसेर पत्रकारिता गर्नेको अवस्थाचाहिँ के छ भनेर गम्भीर हुनुपर्छ,’ उनले चुनौती दिए, ‘हामीलाई पत्रकारिता गर्न आशिर्वादले मात्रै पुग्दैन ।’

पत्रकारिता कमजोर बन्दै गए त्यसको असर समग्र क्षेत्रमा पर्छ । तसर्थ, स्थानीय सकारले पत्रकारलाई हेर्ने चश्मा परिवर्तन गर्नुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्