त्यतिबेलाको हलेसी


हामी हिड्यौं । मलाई आफ्नै ज्यान र दुई दिनदेखि बोकेको झोला अचम्म भारीजस्तो लाग्यो । अघिसम्म यस्तो अनुभूति भएको थिएन । आमा अघि–अघि । म पछि–पछि । बाटाको खाल्डाखुल्डीलाई दायाँबायाँ गर्दै हिँडिरह्यौं । हामी हिजो र अघिजस्तो बोल्न सकिरहेका थिएनौं । बाटोमा मानिसको भीडभाड बढ्दै गयो ।

हलेसी पुग्यौं । अहिलेजस्तो विकसित थिएन । थानको ढिस्कोमा थोरै झाडी जंगलजस्तो । वरिपरि पाङ्खर बारी । बारीमा भर्खरै टिपेको कोदोको नलबारी । कतै–कतै नल पनि काटेको बारीमा बाँस तेस्र्याएर चित्रा र स्याउलाले छाएको गोठ बनाएर होटल थापेको थियो । बारीका डिलमा चितु चाङ्गे, कपास र सयपत्री फूलका बोट ।

एउटा चित्राको होटल अगाडि उभिएर होटलवालासँग आमाले कुरा गर्नुभयो । मैले झोला बिसाएँ । आजको बास छाप्रोमा रहेछ । पानी अभाव । मुस्किलले पिउन पाइने । अहिलेजस्तो पिउने पानी मिनरल वाटर किनेर प्यास मेटाउन पाइने चलन थिएन । साहुनीले भनिन्, ‘दूधकोसीबाट बोकेर ल्याएको पानी हो । धेरै फारो गरेर चलाउनुहोस् है ।’ कराहीमा तेलविना सुँगुरको मासु पर्रपर्र रिसाएजस्तो आवाज निक्लिरहेको थियो । यसो हेरें– मसला, बेसार नलगाएको खलपत्रे मासु मनै मरेर आयो । हुन त अहिले पो थाहा भो, अर्गानिक हल्दी पोर्क रहेछ त्यो ।

आमाको व्रत भएकाले खाना खानु भएन । मैले गहतको दालसँग मज्जाले भात दाबें । ऊबेला सस्तो मीठो खानेकुरा हुन्थ्यो होटलमा । ठग्नुहुँदैन पाप लाग्छ । बरु दान, धर्म गरेर पुण्य कमाउनुपर्छ भन्ने सामाजिक मान्यता हुन्थ्यो । आमा होटलकै बारीको डिलमा आराम गर्नुभयो । म बजार घुम्न निस्कें ।

बजारमा चहलपहल बढ्दै थियो । डुल्दै जाँदा, गाउँका केही साथीभाइ, आफन्तलाई पनि भेटाएँ । हलेसी थान, बसाहा थानतिर रमिता हेर्दै पुगें । अनकन्टार पहाडमा हलेसीको उत्पत्ति आश्चार्यजनकै थियो । मागेबमोजिमको शक्ति शिवजीले वरदान दिएपछि बृकासुर दैत्यले शिवजीमाथि नै जाइलागेछ । शिवजी भाग्ने र दैत्यले लखेट्ने गर्दा शिवजीलाई आपत परेपछि यहाँको जमिनमुनि पसेर फेरि अलि पर जमिन छेडेर निस्केर ज्यान जोगाएको भनिँदोरहेछ ।

गंगाराज मुकारुङ राई

जमिनको स्वरूप हेरेर बाठा मानिसले शिव र दैत्यका कथा जोडेकामात्रै होलान् । मलाईचाहिँ कुनै समय ज्वालामुखी विस्फोट भएर वा धेरै समय पहिला दूधकोसी वा कुनै पनि नदी यसमाथिबाट बग्दा यस्तो भूधरातल निर्माण भएको हुनुपर्छ जस्तो लाग्यो ।

बेलुका हुँदै गयो । शीतल हुन थाल्यो । सबै बासतिर केन्द्रित भए । पूर्वेली दोहोरी गीत, भजन, श्लोक सुनिन थाले । मादलको ताल सुनिन थाल्यो । नाच हुन थाल्यो । हाँसो, खुसी र उमंगले सर्लक्कै निल्यो हलेसीलाई । मन्दिरका शंख घन्टा पनि एकनास बज्न थाले ।

यतिमात्र कहाँ हो र ? समूह–समूहमा तास, कौडा, लंगुरबुर्जा, त्रिपासा बारीमै सुरु हुन थाले । मात्ने मात्दै गए । बिजुली बत्ती थिएन । हुनेखानेको होटलमा मैनटोल, नत्र जताततै लालटिन र कतै–कतै टकी हुन्थ्यो । अरू सबका हात हातमा टर्चलाइट ।

आकाशमा झलमल्ल तारा ! हलेसी थानको चहलपहल ! बैंसले धपक्कै फुलेका फूल नजिकैको खोल्साखोल्सी र झाडीतिर जूनकिरी बनेर, राँकेभुत बनेर टिलपिल गरिरहेका हुन्थे । कतिलाई पाङ्दुरे कोदोको नलले अल्झाएर उठ्नै नसक्ने गरेर लडाउँथ्यो । लडेकाहरू कतिबेला उठेर जान्थे कुन्नि ?

म भने रमिता हेरेर फर्किन्थें । बारीको कान्लामुनि आमाले लगाउनुभएको पराले बिछ्यौनामा आफ्नो ओढ्ने तन्ना निकालेर सप्तऋषि, तीनतारा, ध्रुवतारा आकाशमा खोज्दै पल्टिन्थें र कतिबेला निदाउँथे कोन्त ।

प्रतिक्रिया दिनुहोस्