भुक्तानीका लागि धाउँदा–धाउँदै हैरान



हलेसी (खोटाङ) ।  नेपाल पत्रकार महासंघ खोटाङ अध्यक्ष दमन राईले जिल्लाका सञ्चारमाध्यमले प्रकाशित गरेका सूचना तथा विज्ञापनको भुक्तानी सजिलै नपाएको गुनासो गरेका छन् ।

तुवाचुङ साप्ताहिक दोस्रो वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ खोटाङ अध्यक्ष राईले यस्तो गुनासो गरेका हुन् ।

‘विज्ञापन प्रकाशित गरेको पत्रिका र बिल बुझाएको ६ महिनासम्म रोइकराइ गर्दा पनि साथीहरूले भुक्तानी नपाएर हैरान,’ उनले सुझाए, ‘जिल्लामा १० स्थानीय तह सरकार छन् । उनीहरूले जिल्लाका मिडिया प्रवद्र्धनार्थ ध्यान दिनुपर्छ ।’

मिडिया प्रवद्र्धन गर्न स्थानीय सरकार सकारात्मक बन्नैपर्छ । ‘स्थानीय सरकारले सालिन्दा मिडिया प्रवद्र्धन गर्न बजेट विनियोजन गर्नुपर्छ,’ उनले जोड दिए, ‘हलेसी तुवाचुङ नगरपालिकाले मिडिया प्रवद्र्धनका लागि कार्यक्रम अघि सारे पनि कार्यान्वयनमा आएन । आगामी दिनमा त्यस्तो नहोस् ।’

जिल्लाबाट थुप्रै पत्रिका प्रकाशित छन् । तर, तुवाचुङ साप्ताहिकले अलग पहिचान बनाएकोमा उनले गर्व गरे । ‘तुवाचुङले पस्कने विषय प्रस्ट हुन्छन्,’ उनले प्रशंसा गरे, ‘गल्ती गर्नेलाई थला पार्नेगरी लेखेको हुन्छ । उसले लेखेका समाचार प्रमाणविहीन हुँदैनन् । तुवाचुङ जिल्लाकै अब्बल पत्रिका हो । आउँदो अंकमा के समाचार लेख्ला भनेर यसको पर्खाइमा बस्ने बढ्दै गएका छन् ।’

मिडिया चलाउन त्यति सजिलो छैन । तर, तुवाचुङले अघि सारेको अवधारणा लोभलाग्दो लाग्यो । उसले मिडिया र स्थानीयसँगको सम्बन्ध विस्तारमा ईष्र्यालाग्दो काम गरेको छ । ‘जिल्लाका अन्य मिडियाले गर्न नसकेको काम उसले थालेको छ,’ उनले थपे, ‘पुरस्कार स्थापनाकर्तासँग तुवाचुङको सम्बन्ध रहरलाग्दो देखिन्छ । उसले केपिलासगढीका नेता समीर राईलाई समेत पुरस्कार स्थापनाकर्ता बनाएको छ । कस्तो गज्जबको सहकार्य तुवाचुङ साप्ताहिकको ।’

तुवाचुङले समुदायसँग सम्बन्ध विस्तार कसरी गर्नुपर्छ भनेर सवक सिकाएको छ । यस्तो सम्बन्ध स्थापित गर्दा पत्रिकालाई जीवन दिन सजिलो हुन्छ । ‘तर पनि पत्रिका चलाउन सजिलो छैन,’ उनको अभिव्यक्ति छ, ‘हामी अभ्यस्त भइसके पनि स्थानीय सरकारले सोचिदिनुपर्छ ।’

त्यसो त हामी पत्रकार पनि थरीथरीका छौं । हामीले साँच्चिकै पत्रकारिता गरेका छौं कि छैनौं ? छातीमा हात राखेर भन्नुपर्छ । ‘हामीमध्ये ५० प्रतिशतले चाहिँ पत्रकारिता गरेका छौं कि जस्तो लाग्छ,’ उनको असहमति छ, ‘हामी पत्रकारको लोगो बोकेर दौडेका छौं । झन्डा बोकेर पनि कुदेका छौं । कलम बोक्नेले कलममात्रै बोक्नुपर्छ । झन्डा बोक्ने त हजारौं छन् । हामीले नै पत्रकारलाई गिजोलिरहेका छौं कि ? पत्रकार आफूले आफ्नो दायरा बुझ्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्