बिहानभरि ओछ्यानमै ‘मर्निङवाक’



पत्रकार दमन राई कारोबार दैनिक, नागरिक दैनिक, हिमाल खबर पत्रिका (हाल : बन्द), ग्यालेक्सी फोर के (टीभी), रेडियो उज्यालोको ‘न्युज रुम’बारे जानकार छन् । हिजोआज पत्रकार राई उल्लिखित सञ्चारमाध्यममा छैनन् । तर, २० वर्षदेखि पत्रकारितामै रमाइरहेका उनले पछिल्लो समय सञ्चार उद्यमीको फराकिलो परिचय बनाएका छन् ।

अंग्रेजी शिक्षक उनी शिक्षण पेसामा रमाउन सकेनन् । छँदाखाँदाको जागिर छाडेर पत्रकारिता रोजे । दुई दर्जन बढी पुरस्कार र सम्मान पाएका उनी पत्रकार महासंघ खोटाङको पूर्वअध्यक्ष हुन् । एक कार्यकाल कार्यवाहक र दुई कार्यकाल निर्वाचित अध्यक्षको भूमिका निर्वाह गरिसकेका भ्युज अफ नेपालका प्रकाशक/सम्पादक दमन राईसँग तुवाचुङ डटकमका लागि दीपेन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश :

ढिँडो र सिस्नु प्राथमिकतामा

सुविधा पाउँदा ढिँडो र सिस्नु रोजाइमा पर्छ । अगाडि परेको सबै खानेकुरा स्वाद मानी–मानी खान्छु । खानकै लागि रेस्टुरेन्ट जान्न । कामविशेषले पुगिहाल्दा साँधेको बदाम माग्न बिर्सन्न । भान्छामा पस्ने पाककला छैन । तर, कहिलेकाहीं भान्छा सम्हाल्नुपर्छ । त्यतिबेला जानी नजानी पकाउँछु ।

पोसाकमा सालिन्दा १० हजार

प्रायः सर्ट, टी–सर्ट र पाइन्ट लगाउन मन पराउँछु । पोसाकमा सालिन्दा ८/१० हजार खर्च हुन्छ होला । नीलो रङको पोसाक रोजाइमा पर्छ । पछिल्लो समय रेडिमेड कपडा लगाउँछु । सिलाउनै परे खोटाङको दिक्तेल बजारमा रहेको टेलर्स पुग्छु । ब्रान्डभन्दा टिकाउ पोसाकको पक्षपाती हुँ । कहिलेकाहीं ढाकाटोपी पनि लगाउँछु ।

बिहानै उठ्न अल्छी

बिहानै उठ्न अल्छी लाग्छ । तसर्थ, फिटनेससम्बन्धी केही गर्दिनँ । डाइटिङ नगरी ज्यान ठीकठाक छ । रिल्सतिर देखेर कहिलेकाहीं एकछिन प्रयास गर्छु ।

नन फिक्सन पढ्ने रहर

पत्रकारिताको विद्यार्थी भएकाले पढ्नैपर्छ । तपाईंसँग कुराकानी गर्दै गर्दा हरि रोकाको ‘वैकल्पिक अर्थतन्त्र’ पढ्दै छु । पहिला पढ्दापढ्दै नबुझेर छाडेकाले पुनः पढ्न थालेको हुँ । नन फिक्सन किताब पढ्न जाँगर चल्छ । त्यसमा पनि इतिहास, राजनीति, समाज, जनजीवन रोजाइमा पर्छन् । डोरबहादुर विष्ट, भैरव अर्याल, चैतन्य मिश्र, हरि रोका, सुविन भट्टराई र अमर न्यौपानेलाई रुचिपूर्वक पढ्छु । पत्रकार भएकाले समाचार लेखिरहनैपर्यो । मेरो निजी पुस्तकालयमा दुई र्याक किताब छन् । पुस्तकमा नगन्य खर्च गर्छु ।

सूर्योदयको जिल्ला लोभलाग्दो

रुचि भए पनि घुम्ने फुर्सद मिल्दैन । घुम्न भनेरै हिँडेको पनि छैन । कामविशेषले पुगेको ठाउँमा थोरै समय निकालेर घुम्ने गर्छु । नेपालबाहिर भारतको सिक्किम र दार्जिलिङसम्म पुगेको छु । घुमेकामध्ये इलाम असाध्यै मन पर्यो । जीवनमा एकपटक मनाङ, मुस्ताङ र सोलुखुम्बु पुग्ने रहर छ ।

समय व्यवस्थापनमा कमजोर

कामैकामले फुर्सद कमै हुन्छ । हुन त फुर्सद भनेको निकाल्ने हो । तर, समय व्यवस्थापनमा कमजोर छु । अनलाइन म्यागेजिनका आलेख पढेर फुर्सदको समय सदुपयोग गर्छु । दिनुपर्ने जति समय दिन नसके परिवारसँगै बस्छु । तर पनि परिवारसहित घुम्न, रेस्टुरेन्टमा खान वा चलचित्र हेर्न जान पाएको छैन ।

वडास्तरीय भलिबल खेलाडी

मैले जानेको र खेलेको भलिबलमात्रै हो । सबै खेलप्रति उच्च सम्मान छ । त्यतिबेला वडास्तरीय भलिबल खेलाडी थिएँ । फुटबल नखेले पनि हेर्न आनन्द लाग्छ । म रियल म्याड्रिडको समर्थक हुँ ।

मोबाइलमै कलब्रेक

३४ हजार रुपैयाँमा किनेको सामसुङको मोबाइल सेट प्रयोग गर्दै आएको छु । नबिग्रेसम्म किन्ने कुरै छैन । मोबाइलका एप्लिकेसनमध्ये फेसबुक, ट्वीटरलगायत प्रयोग गर्छु । अडियो, भिडियो इडिट मोबाइलबाटै गर्छु । सम्बन्धित व्यक्तिलाई आवश्यकताअनुसार अध्ययन गर्न मोबाइल उपयोगी ठानेको छु । पहिले–पहिले मोबाइलमै कलब्रेक र क्यान्डिक्रस खेल्थें । हिजोआज खेल्दिनँ ।

प्राथमिकतामा नपरेको टीभी

२४ इन्चको सामसुङको टीभी भए पनि हेर्न छाडिसकें भन्दा हुन्छ । हेर्दा समाचार र टक शो प्राथमिकतामा पर्थे । टीभी हेर्ने साइत बेलुका जुथ्र्यो ।

‘बलिदान’, ‘झोला’, ‘जारी’ उत्कृष्ट

पछिल्लोपटक चलचित्र जारी हेरेको थिएँ । हलसम्म पुगेर चलचित्र नहेरे पनि टीभीमा यदाकदा हेर्ने गर्छु । हेरेकामध्ये बलिदान, झोला र जारी असाध्यै मन पर्यो ।

ज्यानलाई ठीकठाक

अहिलेसम्म ज्यानलाई ठीकठाक छ । दीर्घ रोगले समातेको छैन । कहिलेकाहीं होलबडी चेकअप गर्दै आएको छु ।

मुखमा हालेकै छैन

हल्काफुल्का मापसे गरे पनि दुई/अढाई वर्षयता मुखमा हालेकै छैन ।

म ‘बाथरुम सिंगर’

गीत–संगीत नसुन्ने को होलान् र । म पनि सुन्छु । कहिलेकाहीं गीत सुन्दै समाचार लेख्छु । नेपाली सबै गायकगायिकाको आवाज कर्णप्रिय लाग्छ । उदितनारायण झा, लता मंगेशकर, सोनु निगम (भारत) लाई बाक्लै सुन्छु । गीत सुने पनि गुनगुनाउन कला छैन । गुनगुनाउनै परे फेद न टुप्पाको हुन्छ । म बाथरुम सिंगरचाहिँ हुँ ।

साथीभाइसँग जिस्कँदा दनक

जान–अन्जानमा भूल गर्नु मानवीय स्वभाव हो । नजानेर वा भाँती नपुर्याएर भूल गरे पनि नियतवश गरेको छैन भन्नेमा ढुक्क छु । स्कुल पढ्दा साथीभाइसँग जिस्कँदा दनक भेटेको हिजैजस्तो लाग्छ ।

१५ वर्षदेखि भाडाको बसाइ

हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मिटार, दाल्फुमा रहेको घर बुवाले बनाउनुभएको हो । हामी सगोलमै छौं । म १५ वर्षदेखि दिक्तेलमा भाडाको कोठामा बस्दै आएको छु ।

दुई वर्षअघि घर चिन्ता

मेरा राशी मीन हो । अहिलेसम्म ग्रहदशा हेराएको छैन । ग्रहशान्तिसमेत गराउँदिनँ । दुई वर्षअघि घर चिन्ता राखेको थिएँ । ग्रह र नक्षत्रको फलप्रति विश्वास लाग्नु नलाग्नु आफ्नो ठाउँमा छ । विद्या भएकाले ज्योतिषीले अनुमानमात्रै नगर्लान् नि भन्ठान्छु ।

मेहेन्दीको सहारा

कपालमा तेल लगाउँछु । कपाल फुलेकाले कहिलेकाहीं कालो मेहेन्दी लगाउनुपर्ने बाध्यता छँदै छ । फेसियल गर्ने बानी छैन । अनुहारमा क्रिम लगाउँदिनँ । सेन्ट पनि प्रयोग गर्दिनँ । आजसम्म साउना बाथ, स्टीम, बडी मसाज गरेको/गराएको छैन ।

पत्रमित्रताबाट बिहे

हामीले प्रेमबिहे गरेका हौं । पत्रमित्रताबाट सुरु भएको प्रेम विवाहमै परिणत गर्न सफल भयौं ।

पाखामै अड्कँदा जोगियो ज्यान

मानिस जन्मेपछि मर्नैपर्छ । यो शाश्वत सत्य । मृत्यु भनेको सबथोकबाट विश्राम लिनु हो । मृत्युसँग डराउँदा आयु लम्ब्याउन सकिँदैन । मृत्युको नजिक पुगेको घटना थुप्रै छन् ।

वर्ष दिनअघि हामी चढेको जिप पल्ट्यो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले शैक्षिक अभियन्ता सूर्य राईको संयोजकत्वमा शैक्षिक सुधार कार्यदल गठन गरेको थियो । जिल्लाका विभिन्न स्कुल पुग्नेक्रममा हामी विजयखर्कमा थियौं । फर्कनेक्रममा सूर्य राईले चलाउनुभएको जिप बाटोमुनि खस्यो । धन्न जिप पाखामै अड्केकाले हामी बाँच्यौं । मृत्यु स्वाभाविक र प्राकृतिक होस् भन्ने आममानिसले चाहना राख्छन् । म पनि त्योभन्दा अछुतो छैन ।

प्रतिक्रिया दिनुहोस्