चारदलीय गठबन्धनलाई पन्छाउँदै मेयर राई र उपमेयर राउतले निकालेको त्यो जित



दुर्छिम (खोटाङ) । पूर्वउपमेयर बिमला राई लोकप्रिय मतसहित हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा निर्वाचित भएकी छन् । मेयर राईले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार खडेन्द्र राईलाई पराजित गरेकी हुन् ।

नवनिर्वाचित मेयर बिमला राईले ६ हजार ३१७ मत पाएकी थिइन् भने निकटतम प्रतिद्वन्द्वी खडेन्द्र राई ५ हजार ९६६ मै सीमित रहे । दोस्रोपटक समेत मेयरमा उम्मेदवारी दिएका राई ३५१ मतान्तरले पराजित भए ।

हलेसी तुवाचुङ नगरपालिकाको उपमेयरमा रमेशकुमार राउत निर्वाचित भएका छन् । नवनिर्वाचित उपमेयर राउतले निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार अमेम्बर राईलाई पराजित गरेका हुन् । हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका वडाध्यक्षसमेत रहेका राउतले ५ हजार ९३४ मत पाउँदा अमेम्बर राईले ५ हजार ६३१ मै चित्त बुझाउनुपर्यो ।

यसैगरी, मेयरका उम्मेदवारमध्ये जनता समाजवादी पार्टीका अन्जिलहाङ राई २७४, नेकपा माओवादी केन्द्रकी रुशिका राई १०२, मंगल नेसनल अर्गनाइजेसनका विनेश राई ३८, राप्रका छत्र पुरीले २८ मत पाएका थिए भने र खम्बुवान राष्टिय मुक्ति मोर्चाका तुलसी खम्बू राईले एक मत पनि नपाएको निर्वाचन अधिकृतको कार्यालय हलेसीले जनाएको छ ।

यसैगरी, हलेसी तुवाचुङ नगरपालिकाको एमालेतर्फ उपमेयरकी उम्मेदवार तुलसा बुढाथोकी ले ५७० मत पाएकी थिइन् ।

हलेसी तुवाचुङ नगरपालिकामा चार दलले गठबन्धन गरेर स्थानीय तह सदस्य निर्वाचनमा उत्रेका थिए । एमाले, माओवादी केन्द्र, जसपा र नेकपा एसले वडापिच्छे आवश्यकताअनुसार गठबन्धन गरेका थिए भने मेयर र उपमेयरमा एमाले र माओवादी केन्द्रले भद्र सहमतिमा गठबन्धन गरेको हो । गठबन्धनअनुसार माओवादी केन्द्र इमानदार देखिए पनि एमाले त्यस्तो नरहेको गुनासो सुनिन्छ ।

एमाले इमानदार भएको भए माओवादी केन्द्रतर्फ उपमेयरका उम्मेदवार अमेम्बर राई विजयी हुने माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्