जंगलमा उत्तिस र गुराँस सँगसँगै उम्रेछन् । उत्तिस चाँडो, सुरिलो र हलहली बढ्ने बिरुवा हो । सँगै उम्रेका उत्तिस र लालीगुराँसमा सो नियम लागू भयो । उत्तिस चाँडै रहरलाग्दो गरी बढेर अग्लो भयो । गुराँस उत्तिसजत्तिकै छिटो बढ्न सकिनन् ।
मंसिरको कुनै एक दिन हावा चल्दा गुराँसले यसो हेरेछन् । आफूसँग हुर्कंदै गरेको उत्तिस त कति राम्रो सलक्क परेको यसै–यसै लोभलाग्दो । उत्तिसको जवानी देखेर गुराँस भुतुक्कै भइन् । केही दिनको निरन्तर अध्ययन र आकर्षणले गर्दा गुराँसलाई साह्रै छटपटी भएछ । अन्ततः पारिलो घाम लागेको एक दिन उनले उत्तिसलाई प्रेम प्रस्ताव राखिन् ।
उता, उत्तिसले भने गुराँसको प्रेमप्रस्तावप्रति कुनै वास्ता गरेन । ऊ आफ्नै सुरमा बढिरहेकै थिए । हुर्कंदै थिए । तर, अचानक गुराँसको प्रेमप्रस्ताव आएपछि उसले पनि यसो निहुरिएर हेरे । नाथे गुराँस सानो न सानो, बुचे न बुचे, गाँठागुठी परेको शरीर, होचो न होचो । गुराँसको यस्तो रूप देखेर उत्तिसमा मोह पलाएन । उसले गुराँसको प्रस्ताव अस्वीकार गरे ।
सकारात्मक प्रतिउत्तर पाउने निकै ठूलो आशा राखेर आफूले राखेको प्रताव अस्वीकृत भएपछि गुराँसलाई पर्नु पीर पर्यो । तर, उनले गर्न सक्ने केही पनि थिएन । बिचरा त्यस दिनदेखि उनले आफ्नो मनको भाव लुकाएरै राखिन् । जति ठूलो हावा चले पनि उनले उत्तिसतिर फर्केर देख्नेगरी कहिल्यै मुन्टो फर्काइनन् ।
समय बित्दै गयो । चैत लाग्यो । यो यामसँगै गुराँसमा नयाँ उत्साह सुरु भयो । वितग भुलेर उनी खुसी हुन थालिन् । अर्थात् फुल्न थालिन् । चैत महिना छिप्पिँदै गयो । गुराँस त्यति ढकमक्कै भएर फुल्न थालिन् । आफ्नो जीवनमा हर्षको नयाँ आयाम थपिँदै गयो ।
एक दिन उसैगरी फेरि बेजोडले हावा चल्न थाल्यो । उत्तिसको हाँगा भाँचुलाझैंगरी हुरीबतास चल्यो । तल बुट्यानका रूपमा रहेको गुराँसलाई भने त्यसले कुनै असर गरेन । यही बेला अचानक उत्तिसको नजर गुराँसतिर पर्यो। अरे ! आफूले अस्वीकृत गरेको गुराँस यति राम्री ।
पूरापूर वैंस आइसकेकी तरुनीजस्ती उसैउसै राम्री । ढकमक्क भएर, गमक्क परेर गुराँस पूरापूरा निश्चल, बिल्कुल अटल भएर हुर्किरहेको देखे । उत्तिस अचम्ममा परे । उसले मनमनै सोचे– अहो यति राम्रीलाई मैले किन अस्वीकार गर्ने ? त्यसैले उसले फेरि पूर्ण विश्वाससाथ गुराँसलाई उनको प्रस्ताव स्वीकार गर्ने जानकारी गराए ।
तर, त्यसबेला समय घर्किसकेको थियो । गुराँसले उत्तिसको आग्रह पूरा अस्वीकार गरिन् । उत्तिसले पहिले आफूबाट गल्ती भएको, आफूले बडप्पन देखाएको भनेर अनेक माफी मागे तर अहँ गुराँसको मन फर्केन । अन्ततः उत्तिसले भनिन्, ‘के साँच्चि नै मेरो प्रस्ताव अस्वीकृत नै गर्ने हो त ?’
‘हो,’ गुराँसले जवाफ फर्काइन् ।
यस्तो जवाफ पाएपछि उत्तिस धरधरी रुन थाले । ऊ यति रोयो कि उसको आँसु वर्षाको पानीमा रूपान्तरित भएपछि उसको फेदैमा पहिरो गयो । त्यही पहिरोमा परेर उत्तिसले आत्महत्या गरे ।
हो, त्यसैले हिजोआज पहडातिर जहाँ–जहाँ पहिरो जान्छ, त्यहाँ उत्तिस उम्रिएको रे । यसबाट के शिक्षा लिने होला नि ? बाल्यकालमा मेरो कान्छा बाबै (काका)ले सुनाएको कथा यस्तो छ ।