६० वर्ष चरासँगै बिताएका विश्वचर्चित वैज्ञानिक



१० वर्षको उमेरमा एउटा बालक आकाशमा उड्दै गरेको गौँथलीलाई देख्छ, त्यसलाई गुलेलीले हानेर मार्छ । गौँथली जमिनमा खस्छ । त्यो बालक दौडेर त्यस चरालाई समात्छ । यस पक्षीलाई उसले गहिरो तथा अभिरुचिपूर्वक हेर्छ । गौँथलीको गर्दनमा पहेँला धब्बा थिए, जो उसले पहिले कहिल्यै देखेको थिएन ।

अनेक विचारमा डुबेको यो बालक, यस पक्षीलाई लिएर आफ्नो मामा अमरुद्दिनलाई देखाउँछ । उसले मामासँग सोध्छ– यो कुन जातिको चरा हो ? मामाले पनि भान्जाको जिज्ञासा शान्त गर्न सक्दैनन् । उनी भान्जालाई मुम्बईको नेचुरल हिस्ट्री सोसाइटी लैजान्छन् । बालकको परिचय यस संस्थाका सचिव डब्लु एस मिलार्डसँग गराउँछन् ।

मिलार्ड भारतीय बालकको पक्षीबारे यति गहिरो रुचि देखेर आश्चर्यमा पर्छन् । उनी बालकलाई एक कोठामा सुरक्षित ढंगले राखिएका थरीथरीका पक्षी देखाउँछन् । यसबाट बालकको पक्षीको विषयमा उत्सुकता र जिज्ञासा शान्त हुनुको सट्टा झन् बढ्ने गर्छ । अन्त्यमा मिलार्ड गुँडबाट एउटा गौँथली निकाल्छन्, जुन बालकले मारेको थियो ।

बालक आश्चर्य–चकित भएर भन्छन्, ‘अंकल मिलार्ड, मैले त सपनामा पनि सोचेको थिइनँ, पक्षी यति किसिमका हुने गर्छन् । म यस विषयमा केही सिक्न चाहन्छु ।’ मिलार्ड बालकको कुरा सुनेर मुस्कुराउँछन् । उनले वयस्क मानिसमा पनि पक्षीप्रति यति अभिरुचि देखेका थिएनन्, जति यस बालकमा थियो ।

यसपछि त्यो बालक सधैँजसो संग्रहालयमा आउने, जाने गर्न थाल्यो । चरालाई पहिचान गर्न थाल्यो । उनीहरूलाई सुरक्षित राख्ने विधि पनि सिक्न थाल्यो । तपाईंलाई थाहा छ, यो बालक को थियो ? यो बालक थियो, सलिम मोइजुद्दिन अब्दुल अली, जो त्यसपछि सलिम अलीको नामबाट चराविशेषज्ञका रूपमा संसारमा प्रसिद्ध भए । जीवनको अन्तिम घडीसम्म उनी किसिम–किसिमका चरामाथि अनुसन्धान गरिरहेका थिए ।

पक्षीविज्ञानमा जन्मजात रुचि राख्ने सलिम अलीको जन्म १२ नोभेम्बर १८९६ मा भारतको मुम्बईमा भएको थियो । यद्यपि, उनले कलेजमा शिक्षा प्राप्त गरे तर आश्चर्यको कुरा, उनीसँग विश्वविद्यालयको कुनै डिग्री थिएन । गणितमा रुचि नभएका कारण उनले अध्ययन जारी राख्न सकेनन् ।

ती दिनमा उनी आफ्नो भाइको वालफ्रेम माइनिङको व्यापारमा सहायता गर्न बर्मा गएका थिए । उनी बर्माको जंगलमा वालफ्रेम खोजी गर्नु सट्टा पक्षीहरू हेर्न थाले । सन् १९२० मा उनी फेरि फर्केर मुम्बई आए । मुम्बईबाट फर्केर उनले जन्तुविज्ञानमा एउटा कोर्स गरे, त्यसपछि मुम्बई नेचुरल हिस्ट्री सोसाइटी संग्रहालयमा उनी गाइडका रूपमा नियुक्त भए । ती दिनमा उनको उमेर करिब बीस वर्षको थियो । उनी मरेपछि सुरक्षित राखिएका पक्षी दर्शकलाई देखाउने गर्थे ।

यो कामको सिलसिलामा उनले पक्षीको विषयमा धेरै ज्ञान प्राप्त हुने देखेका थिए । यसै उद्देश्यपूर्तिका निम्ति उनी जर्मनी गए र विश्वविख्यात पक्षी वैज्ञानिक डाक्टर डर्विन स्ट्रासमैनको सम्पर्कमा आए । एक वर्षपछि उनी जर्मनीबाट भारतमा आए, उनले आफूलाई सडकमै पाए । उनको अनुपस्थितिमा संग्रहालयको गाइडको जागिर समाप्त भइसकेको थियो । यसको कारण के पनि थियो भने संग्रहालयमा पक्षीहरूको कमी भइसकेको थियो ।

सलिम अली एक विवाहित व्यक्ति थिए । उनलाई जागिरको आवश्यक थियो । उनलाई बढीभन्दा बढी एक खरदारको जागिर प्राप्त भयो । क्लर्कको जागिरबाट समय निकालेर पक्षीप्रति रुचि देखाउनका निम्ति समय प्राप्त हुनु असम्भव थियो । शौभाग्यवश किहिममा उनकी पत्नी तहमिनाको सानो घर थियो । उनी त्यसमै गएर बस्न थाले । उनले कमाएको थोरै पैसाबाट गुजारा चल्थ्यो ।  उनको घरनजिक एउटा रूख थियो, जसमा भँगेराले गुँड बनाएको थियो । उनी प्रायः त्यही गुँडमुनि बस्थे । भँगेराको क्रियाकलाप नोटबुकमा लेख्थे । भँगेराको क्रियाकलाप र व्यवहारको विषयमा उनले शोधनिबन्ध लेखे । उनको यो निबन्ध सन् १९३० मा प्रकाशित भयो । यो निबन्धले पक्षीविज्ञानमा उनको प्रसिद्धि चारैतर्फ फैलियो ।

यस अध्ययनबाट उनले के पनि सिके भने कुनै चराको विषयमा स्वयम्ले नै अनुसन्धान गर्नुपर्छ, कुनै अन्य व्यक्तिले दिएको जानकारीका आधारमा आफ्नो धारणा बनाउनु हुँदैन, चाहे कति नै प्रसिद्ध व्यक्ति किन नहोस् । यसपछि उनी ठाउँ–ठाउँमा गए र पक्षीको विषयमा जानकारी प्राप्त गरे ।  यी अध्ययनका आधारमा उनले ‘द बुक अफ इन्डियन बर्डस्’ लेखे, जुन सन् १९४१ मा प्रकाशित भयो । यो पुस्तकमा पक्षीको विषयमा अनेकौँ जानकारी थियो । यो पुस्तक अहिलेसम्म ६० हजारप्रतिभन्दा बढी बिक्री भइसकेको छ ।

सन् १९४८ मा उनले विश्वप्रसिद्ध पक्षीविशेषज्ञ डिलौन रिप्लेसँग एक योजनामा काम गरे, जसमा दस भागमा भारत र पाकिस्तानका पक्षीहरूको विषयमा लेख्नुपरेको थियो । पुस्तकको नाम ‘हेन्ड बुक अफ द बर्डस् अफ इन्डिया एन्ड पाकिस्तान’ थियो । यसमा उनका बीस वर्षका अध्ययनको निष्कर्ष समेटिएका छन् । पुस्तकमा पक्षीहरूको क्रियाकलाप, बानी, व्यहोरा आदिका विषयमा लेखिएका छन् । यसबाहेक पक्षीमाथि उनले अनेकौँ पुस्तक पनि लेखेका थिए । ‘द फाल अफ ए स्परो’मा उनले आफ्नो जीवनमा घटेका अनेकौँ घटनालाई पनि प्रस्तुत गरेका थिए ।

सलिम अलीले पक्षीहरूको सर्वेक्षणका निम्ति ६५ वर्षभन्दा बढी समय सम्पूर्ण भारतको भ्रमण गरेका थिए । उनले आफ्नो जीवनका ६० वर्ष भारतका पक्षीसँगै बिताए ।

चराहरूको विषयमा उनको ज्ञान कति धेरै थियो भने मानिस उनलाई चराको विश्वकोश नै भन्थे । उनले केवल पक्षीहरूको मात्र अध्ययन गरेनन् बरु प्रकृतिको संरक्षणको दिशामा पनि धेरै काम गरेका थिए । उनलाई पाँच लाख रुपैयाँको अन्तर्राष्ट्रिय पुरस्कार पनि प्राप्त भयो, जसलाई उनले मुम्बई नेचुरल हिस्ट्री सोसाइटीलाई समर्पित गरे । सन् १९८३ मा उनलाई भारत सरकारद्वारा ‘पदम विभूषण’ पदबाट पुरस्कृत गरिएको थियो ।

०९१ का यी पक्षी वैज्ञानिक २० जुन १९८७ मा अल्लाहको प्रिय बने । सलिम अलीको देहान्तपछि पक्षी टुहुरा भए ।

 

प्रतिक्रिया दिनुहोस्