हलेसी (खोटाङ) । काँग्रेस जिल्ला कार्यसमिति सदस्य समीर राईले खोटाङको पत्रकारिता धराशयी बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
तुवाचुङ साप्ताहिक दोस्रो वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै संगठन विभाग प्रमुखसमेत रहेका नेता राईले पत्रकारिता धराशयी बन्नुका कारण पत्रकारले खोजी गर्नुपर्ने बताए ।
जिल्लामा कार्यरत पत्रकार सदरमुकामकेन्द्रित भएको उनले आरोप लगाए । ‘समाचार गाउँमा पनि छन् । खोजिपस्नु त प¥यो,’ उनले औंल्याए, ‘पत्रकारिताको धर्म र मर्ममा अडिग रहनुपर्छ । दलीय पत्रकारिताभन्दा माथि उठ्नुपर्छ । विनासुझबुझ प्रकाशित समाचारले सम्बन्धित राजनीतिक नेताको राजनीतिक र सामाजिक जीवन ध्वस्त बनाउँछ ।’
‘केपिलासगढीका गतिविधि जिल्लाका सञ्चारमाध्यममा ठाउँ पाउँदैन । हाम्रा पालिकाका सूचना तथा विज्ञापन हिमाल एफएम (सोलुखुम्बु)मा प्रसारण भइरहेका हुन्छन्,’ उनले प्रस्ट्याए, ‘जिल्लाबाट प्रसारित रेडियो केपिलासगढीमा प्रस्ट सुनिदैन । हामीले बाध्य भएर हिमाल एफएम नै रोज्नुपर्छ । हाम्रोमा त्यही रेडियो सुनिन्छ ।’
हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम वडाध्यक्ष रमेश तिवारीले तुवाचुङ साप्ताहिकले लुकाइएका विषय खोतलखातल पारेकोमा खुसी व्यक्त गरे । वडाध्यक्ष तिवारीले तुवाचुङ साप्ताहिक नामै काफी रहेको बताए ।
यसैगरी, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान वडासदस्य डिल्ली चाम्लिङले सत्य तथ्य समाचार प्रकाशन तथा प्रसारण गर्नेमात्रै आफूलाई पत्रकार लाग्ने बताए । वडासदस्य चाम्लिङले लुकाउन खोजिएको विषय उजागर गर्न तुवाचुङ साप्ताहिकसम्बद्ध पत्रकार जाँगरिलो बन्न अनुरोध गर्दै भने, ‘विकृतिलाई जरासम्मै उखलेर फाल्ने र राम्रालाई उत्साहित गराउन सक्नुपर्छ ।’
जनता समाजवादी पार्टी हलेसी तुवाचुङ नगरपालिका नगर अध्यक्ष मविन्द्र राईले तुवाचुङ साप्ताहिकले गलत काम गर्नेलाई तर्साएको, झस्काएको सुनाए । अध्यक्ष राईले सामाजिक हितमा तुवाचुङले पत्रकारिताको धर्म निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए ।
युवा संघ नेपाल जिल्ला कार्यालय सदस्य सर्वधन बस्नेतले तुवाचुङ साप्ताहिकले पाठकको मन जित्दै गएको बताए । युवा नेता बस्नेतले सभ्य समाज निर्माणका लागि तुवाचुङको योगदान अमूल्य रहेको भन्दै गर्व गरे ।